- हेम प्रभास
कलाका विविध रुपहरु मध्ये चलचित्र सबैभन्दा पहिल्लो र अत्याधुनिक बृहत् क्यानभासमा निर्मित रुप हो । सभ्य र सुसंस्कृत मानव जातिलाई आवश्यक पर्ने पिस एण्ड हार्मोनी आदिमकालमा जसरी प्रकृतिबाटै प्राप्त हुन्थ्यो, अहिले आएर त्यो सम्भव छैन । अव्यवस्थित सहरीकरण र यान्त्रिकता तर्फको झुकावले गर्दा प्राकृतिक र सास्वादनको कमी महसुस हुँदै गएपछि मनोरञ्जन वा आनन्दानुभूतिका लागि मानिसले कलाका विविध पाटाहरुको खोजी गर्न थाले । काष्ठकला, मूतिकला, धातुकला, वास्तुकला, नाटक, कविता, नृत्य, सङ्गीत र चलचित्र यसैका उपज हुन् । बृहत्तर ढङ्गबाट जीवन र जगत्को कुनै एक पक्षलाई सूक्ष्मतम रुपमा प्रस्तुत गरिने कला चलचित्र हो । समाजमाभए गरेका विषयहरु पुरानाबन्दै गएकोले विकसितमुलुकले त अचेल हुन सक्ने सम्भावनाहरुको खोजीलाई पनि चलचित्रको विषय बनाउन थालेका छन् । साइन्स फिक्सन यसैको प्रतिफल हो ।
नेपालको सन्दर्भमा हेर्दा चलचित्र निर्माणको इतिहास त्यति पुरानो छैन । वि.सं. २००८ मा भारतको कलकत्तामा निर्मित सत्य हरिश्चन्द्रलाई नेपाली भाषाको पहिलो चलचित्र भनी मान्ने गरेको भएपनि नेपालमै निर्मित आमा र माइती घर जस्ता चलचित्रहरुले खास नेपाली रङ र जीवन रङगपर्दा मार्फत् अभिव्यक्त गरेको हो । जनसङ्ख्याको कमी, शिक्षाको कमी, चेतनाको लहर अभिवृद्धिमा कमी भएकैले गर्दा २०२० को दशकमा आमा, माइती घर जस्ता श्यामश्वेत चलचित्रको निर्माण त भयो र विस्तृती करण भने हुन सकेन । २०३४ मा रङ्गीन नेपाली चलचित्र कुमारीको निर्माण भएसँगै हलहरुको वृद्धि र चलचित्र हेर्ने दर्शकको सङ्ख्यामा क्रमिक रुपले परिवर्तन देखिन थालेको बुझिन्छ । जीवन रेखा, जुनी र कुसुमे रुमाल पश्चात् नेपाली चलचित्रको फाँट अझै हरियो बन्न थालेको हो । चालीसको दशकमा किशोर रानाद्वारा निर्देशित राँको चलचित्रबाट नेपाली चलचित्रले प्रविधिमा पनि केही फड्को मार्न पुग्यो । यो पहिलो नेपाली सिनेमा स्कोप चलचित्र हो । चालीसको दशकको उत्तरार्धमा नेपाली चलचित्रमा जीवन्त अभिनय गर्ने मुख्य नायकहरुमा शिव श्रेष्ठ, भुवन के.सी., सरोज खनाल र राजेश हमालको नाम अग्रपंक्तिमा आउँछ । जसको पोष्टरमा अनुहार हेरेरै दर्शकहरु सिनेमाहल सम्म पुगे । चिनो चलचित्रको प्रदर्शन पछि शिव श्रेष्ठको बजार खस्कँदै गयो । पचासको दशकको पूर्वार्धदेखि भुवन के. सी. आफ्नो ब्यानरको मात्र चलचित्रमा केन्द्रित रहे र दुई तीन वर्षमा मुस्किलले एउटा चलचित्र गर्न थाले । सरोज खनाल विदेसिए । राजेश हमालले पचासको दशकको लगभग नेतृत्व गरे । वर्षमा दर्जनौँ चलचित्रमा काम गर्नेमा उनको नाम अगाडि आउँछ । पचासको दशकको उर्तरार्ध देखि साठीको दशकको मध्य सम्मलाई नेपाली चलचित्रको खस्कँदो समयका रुपमा चित्रण गर्ने गरिन्छ । देशको चलेको आन्तरिक द्वन्द्वका कारण जनता त्रासमा दिनहरु गुजार्ने क्रममा रहे । भौतिक संरचनाहरु ध्वस्त हुने सिलसिलामा चलचित्र भवनहरु पनि भत्कन बिग्रन थाले । चलचित्र निर्माणको क्रम पनि धीमा गतिमा अघि बढ्यो । जे जति बने चलचित्र साठीको दशकको पूर्वार्धमा, तिनमा पनि नेपाली मन र मुटुको अनि नेपाली माटोको गन्ध खासै पाइएन । विदेशी चलचित्रहरुको दृश्यको नेपालीकरण मात्र भएजस्तो देखियो, मौलिकताको रस कतै देखिएन ।
नेपाली चलचित्रको फाँट लगभग सुख्खा हुने क्रममा पुगेको बेला निश्चल बस्नेत निर्देशित लुट चलचित्रले नेपाली सिनेमाको बजारमा पुनर्जागरण ल्यायो । नेपाली रङ र माटो सुहाउँदो पट कथाले नेपाली चलचित्र प्रति दर्शकको झुकावलाई फेरि बढायो । यद्यपि त्यहाँ प्रस्तुत भएका कतिपय संवादहरुलाई समीक्षक एवम् विज्ञहरुले भद्दा मजाकको रुपमा पनि लिए । तर, जे होस् निदाउन लागेको नेपाली सिनेमालाई जगाउने काम लुट चलचित्रको प्रदर्शनपछि मात्र सम्भव भएको हो । तर, दुःखको कुरा लुटपछि लुटकै शैलीमा निर्माण भएका कुनै पनि चलचित्रले आशा लाग्दो व्यापार भने गर्न सकेन । वर्तमानको चस्माले नेपाली चलचित्रलाई हेर्नु पर्दा यहाँ हास्यव्यंग्य शैलीमा निर्माण भएका चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन् । अनेक झै झमेला र पीडाहरुबाट आक्रान्त भएका नेपालीहरु हलसम्म एकछिन भएपनि हाँस्न पाइन्छ भन्ने हेतुले पनि पुग्ने गरेको देखियो । छक्का पञ्जा सिरिजले राम्रो व्यापार गर्नुको कारण पनि यही हो । चलचित्रको पनि आफ्नै किसिमको व्याकरण हुन्छ । क्यामेराले कुनै पनि दृश्य खिच्दैमा र कलाकारले कुनै डायलग बोल्दैमा त्यो चलचित्र बन्ने होइन । संसारमा मुख्यतया आर्क, मिनी र एन्टी प्लट गरी तीन खालका सिनेमाहरु बन्ने गर्दछन् । व्यापारिक हिसाबले हेर्दा आर्क प्लटमा सिनेमा बन्ने संख्या विश्वमै सबभन्दा धेरै छ । कन्सिस्टेन्ट रियालिटी, सस्पेन्स एण्ड सरप्राइज आदिलाई सही ढंगले कथामा समावेश गर्न सक्दा रोचक हुने हो । प्यारामिटर अफ स्टोरी डिजाइनमा नेपाली निर्माताहरुले खासै ध्यानदिन सकेको पाइँदैन । चलचित्रको मेरुदण्ड भनेकै स्क्रिनप्ले हो । स्क्रिनप्ले उपयुक्त हुन नसक्दा वर्सेनि १०० भन्दा बढी निर्माण भएका चलचित्रहरु आए, गएको स्थितिमा छन् । उल्लेखनीय नामहरु मुस्किलले मात्रै भेटिन्छ । पहिलेका दर्शकहरु सिनेमाको कथामा केन्द्रित हुन्थे भने अहिलेका दर्शकहरुले प्रस्तुती करणमा चाख देखाएको बुझिन्छ । तसर्थ, के भन्यो भन्दा पनि कसरी भन्यो भन्ने कुरालाई मध्यनजर गर्ने हो भने नेपाली चलचित्रको बजार अझ विस्तार हुन सक्छ ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार चलचित्रमा मुख्यतया ३ प्लट र ८८ सिनहुने गर्दछन् । प्रत्येकसिनको आफ्नै महत्व हुन्छ । हरेक सिनमा पात्रको उद्देश्य, त्यहाँ उत्पन्न हुने द्वन्द्व, पात्रले गरेको कार्य र अन्तिम सेफ ल्यान्डिङ यी चारै कुरालाई समावेश गर्न सकियो भने कुनै पनि सिनमा दर्शकले आँखा झिमिक्क गर्न पाउँदैनन् । त्यसो त पात्र र विषयलाई छिटो भन्दा छिटो चिनाइसक्ने, महत्वपूर्ण एक घटना घटाउने, पात्र अघि बढ्ने, भ्यालु चेन्ज हुने, एक्टको अन्त्यमा कुनै मेजर रिभर्सल दिने, अब्लिगेटरी सिनर केटास्ट्राफीको तालमेल मिलाउने आदि पनि कथानक कै घटकहरु हुन् । यी सबैको सन्तुलन मिलाउन सकिएमा धेरै हद सम्म चलचित्रको विविध कोणको विस्तृती करण हुन सक्ने देखिन्छ । समग्रमा भन्नुपर्दा युद्ध र आतंक भोगेर आए पछिका हामीलाई अहिले मनोरञ्जन चाहिएको छ । मनोरञ्जनका लागि चलचित्र एक महत्वपूर्ण कला हो । यसले हाम्रो ज्ञान, विवेक र चेतनाको विस्तृती करणमा थप टेवा पु¥याउँछ । नेपाली चलचित्रको स्तरवृद्धि हुनु भनेको हाम्रै मानसिकताको पनि स्तरवृद्धि हुनु हो । यहाँका कतिपय लुकेर रहेका सांस्कृतिक पक्षहरुलाई चलचित्रका माध्यमबाट प्रस्तुत गर्न सक्यौँ भने हाम्रो पहिचान र अस्तित्वको खम्बा अझै मजबुत बन्न सक्दछ