साइन गरेको चलचित्र छाड्ने मामलामा सबैभन्दा अगाडि देखिएका अनमोल केसीले गत बैशाखमा चलचित्र ‘हनी बनी’ छाडेपछि नयाँ चलचित्र साइन गरेका थिएनन् । छोरा खाली भएपछि भुवन केसी चलचित्र ‘पारस’ बनाउन कस्सिए । तर, अनमोलले फेरि एकपटक घरको चलचित्रलाई थाती राख्दै बाहिरी ब्यानरको एक नयाँ चलचित्र साइन गरेका छन् । उनले चलचित्र ‘छड्के २’ साइन गरेका हुन् ।
अनमोलले दुई हप्ता अगाडि नै चलचित्र साइन गरेको निर्देशक निगम श्रेष्ठले मिडियाहरुलाई जानकारी दिएका छन् । ९ वर्ष अगाडि प्रदर्शनमा आएको ‘छड्के’लाई पनि निगमले नै निर्देशन गरेका थिए । तर, त्यसबेला यो चलचित्र बक्सअफिसमा फ्लप भएको थियो । अनमोलले पहिलो पटक फ्लप चलचित्र को सिरिजमा हात हालेका हुन् ।
निर्देशक श्रेष्ठले ‘छड्के २’, ‘छड्के’को सिक्वेल नभएको प्रस्ट्याएका छन् । चलचित्र लाई सिरिजको रुपमा बनाउन लागेको उनको भनाई छ । चलचित्र मा अघिल्लो श्रृंखलाका कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की र नम्रता श्रेष्ठमध्ये कोही दोहोरिने छैनन् । निर्माण टिमले विपिनलाई दोहोर्याउन खोजे पनि उनले अनमोल बराबर पारिश्रमिक माग गरेपछि सहमति जुट्न सकेन ।
‘छड्के २’को सन् २०२० को दशैंलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, प्रि-प्रोडक्सनको काम चलिरहेको समयमा कोरोना महामारी फैलिएपछि फिल्मको काम रोकिएको थियो । अहिले निर्माण टिम साउन अन्तिमदेखि छायांकनमा निस्कने गरी कलाकार छनोट प्रक्रियामा जुटेको छ । ग्याङस्टार र कमेडी कथामा निर्माण हुन लागेको चलचित्रको चितवन र मनाङमा छायांकन हुनेछ ।