नेपाली चलचित्र ‘राजकुमारी’को औपचारिक निर्माण घोषणा भएको छ । रेडलाइन्स फिल्म प्रा.लि.को ब्यानरमा बन्ने यो चलचित्रले प्रेम, संघर्ष र साहसको अनुपम कथा पस्कने निर्माण टिमले जनाएको छ । टाइटल सार्वजनिक गर्दै टिमले दर्शकलाई नयाँ स्वादको कथावस्तु दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
चलचित्रको लेखन र निर्देशन रिम विश्वकर्माले गर्दैछन् । यो प्रोजेक्टलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ ठान्ने विश्वकर्माले भने, “यसअघिका चलचित्र बनाए पनि ‘राजकुमारी’ मेरो लागि पहिलो निर्देशनजस्तै हो। यसको विशेष कारण पछि खुलाउँछु ।” निर्माता पी.बी. थापाले एकल लगानीमा बन्ने यो चलचित्रको कथाले आफूलाई गहिरो प्रभाव पारेको बताए । “दर्शकले फरक र गहकिलो प्रेमकथा अनुभव गर्नेछन्,” थापाले भने, “विस्तृत जानकारी शुभमुहूर्तमा खुलाउनेछौं ।”‘
राजकुमारी’को मुख्य भूमिकाका लागि अभिनेत्री छनोट प्रक्रिया जारी छ। चर्चित अभिनेत्रीहरूसँग कुराकानी भए पनि फाइनल निर्णय हुन बाँकी रहेको निर्देशक विश्वकर्माले बताए । अन्य कलाकार र प्राविधिक टोलीको चयन भने अन्तिम चरणमा पुगेको छ । चलचित्र आगामी भदौमा फ्लोरमा जाने तयारीमा छ, तर प्रदर्शन मिति तय भएको छैन ।
टाइटलले राजपरिवारसँग जोडिएको कथा संकेत गरे पनि निर्माण टिमले कथावस्तु गोप्य राख्दै दर्शकमा कौतूहलता जगाएको छ। छायांकन मुख्य रूपमा काठमाडौंमा हुनेछ भने मुस्ताङ र पोखराका रमणीय स्थलहरूमा पनि केही दृश्य खिचिने बताइएको छ ।
निर्देशक विश्वकर्माको अर्को चलचित्र ‘हेल्लो काँशीराम’ जेठ २ गते रिलिज हुँदैछ । पछिल्लो समय निर्देशनमा सक्रिय उनले ‘राजकुमारी’मार्फत आफूलाई सशक्त निर्देशकका रूपमा स्थापित गर्ने दाबी गरेका छन् । नेपाली चलचित्र उद्योगमा मौलिक कथाको खोजी भइरहेका बेला ‘राजकुमारी’ले नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।