नेपाली सङ्गीत कला, संस्कृति र पहिचानको महत्वपूर्ण आधार हो । यसो त नेपाली संगीतमा लोकगीतदेखि आधुनिक, पप, रक, दोहोरी तथा शास्त्रीय सङ्गीतसम्म नेपाली सङ्गीतले समयसँगै निरन्तर विकास एवं प्रवर्धन गर्दै आएको छ । यस विकास प्रक्रियामा कलाकारको प्रतिभा, श्रोताको साथ र प्रविधिको योगदान जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण भूमिका विभिन्न रुपमा नेपालमा आयोजना हुने सङ्गीत क्षेत्रका अवार्डहरुले पनि भूमीका खेलेका छन्। अवार्ड÷पुरस्कार केवल सम्मानको माध्यम मात्र होइन, कलाकारलाई प्रेरणा दिने, नयाँ प्रतिभा पहिचान गर्ने तथा सङ्गीत उद्योगलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने माध्यम पनि हो । नेपाली सङ्गीत क्षेत्रमा प्रदान गरिने विभिन्न अवार्डहरूले समग्र सङ्गीतको क्षेत्रमा सकारात्मक तथा केही चुनौतीपूर्ण प्रभावहरू पारेका छन् । सबैभन्दा पहिले, पुरस्कारले कलाकारहरूलाई थप मेहनत र सिर्जनात्मक कार्य गर्न प्रेरित गरेको छ । प्रोत्साहन गरेको छ । कर्ममा सिर्जनशील बनाउन योगदान दिएको छ । कुनै पनि कलाकारले आफ्नो कामको मूल्याङ्न हुँदा र अवार्ड÷सम्मान पाउँदा अझ उत्कृष्ट सिर्जना गर्न उत्साहित हुन्छ । जब कुनै गीत, एल्बम वा कलाकारले प्रतिष्ठित पुरस्कार प्राप्त गर्छ, त्यसले अन्य कलाकारहरूलाई पनि गुणस्तरीय काम गर्न प्रेरित गर्छ । खासमा यसरी पुरस्कारले स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दछ । नेपाली सङ्गीत क्षेत्रमा विभिन्न संस्थाहरूले आयोजना गर्ने पुरस्कार समारोहहरूले कलाकारहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेका छन् भन्दा अत्यूक्ति हुँदैन । अवार्ड कार्यक्रमहरुले नयाँ प्रतिभाको खोजी गर्नुका साथै र प्रचार प्रसारमा, संरक्षणमा, सम्वर्धनमा, प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कतिपय अवस्थामा अवसर नपाएका धेरै भन्दा धेरै कलाकारहरू पुरस्कार कार्यक्रम मार्फत चर्चामा आएका छन् । कुनै नयाँ गायक, संगीतकार वा गीतकारले अवार्ड प्राप्त गरेपछि, जितेपछि उनीहरूको कामप्रति श्रोताको, सञ्चारमाध्यमको र संगीत उद्योगको ध्यान आकर्षित हुन्छ । यसले उनीहरूलाई थप अवसर प्राप्त गर्न सहयोग पु¥याउँछ । नेपाली सङ्गीत क्षेत्रमा आज स्थापित भएका धेरै कलाकारहरूले आफ्नो प्रारम्भिक यात्रामा अवार्ड÷पुरस्कार र सम्मानबाट महत्वपूर्ण हौसला प्राप्त गरेका उदाहरणहरू प्रसस्त पाइन्छन् ।
त्यसैगरी, अवार्डहरुले नेपाली सङ्गीतको गुणस्तर वृद्धि गर्न मद्दत गरेको छ अथवा भनौ भूमीका खेलेको छ । जब उत्कृष्ट गीत, संगीत वा गायनलाई सम्मान गरिन्छ अवार्ड दिइन्छ, त्यसले गुणस्तरीय सिर्जनाको महत्वलाई स्थापित गर्छ । कलाकारहरू आफ्नो प्रस्तुति, शब्द चयन, संगीत संयोजन तथा रेकर्डिङको स्तर सुधार गर्न प्रयासरत हुन्छन् । चाहे अवार्डकै लोभमा किन नहोस् केही न केही आफूलाई अझै सिर्जनशिल बनाउन प्रयासरत हुन्छन् । यसले समग्र सङ्गीत उद्योगको स्तर उकास्न भूमीका खेलेकै हुन्छ, सहयोग पु¥याएकै हुन्छ । विशेषगरी डिजिटल युगमा विश्वस्तरीय सामग्रीसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा अवार्ड पुरस्कारले गुणस्तरीय सिर्जनालाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेलेको छ ।
अवार्डले नेपाली सङ्गीतको प्रचार–प्रसारमा, सम्वर्धनमा, प्रवर्धनमा, संरक्षणमा, बिकाशमा, पनि उल्लेखनीय योगदान दिएको हुन्छ । अवार्ड समारोहहरू टेलिभिजन, रेडियो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रचार–प्रसार गरिन्छन्। यसबाट अवार्ड विजेता गीत संगीत तथा कलाकारहरूबारे धेरै मानिसहरूले जानकारी पाउँछन् । कुनै गीतले अवार्ड जितेपछि त्यसको लोकप्रियता अझ बढ्ने गरेको देखिन्छन् । यसले नेपाली गीतहरूलाई देशभित्र मात्र नभई विदेशमा रहेका नेपाली समुदायसम्म पनि पु¥याउन सहयोग पु¥याएको छ ।
आर्थिक दृष्टिकोणबाट पनि अवार्डको प्रभाव महत्वपूर्ण रहेको छ । अवार्ड प्राप्त कलाकारहरूको बजार मूल्य बढ्ने, कार्यक्रमहरूमा माग बढ्ने तथा व्यावसायिक अवसरहरू विस्तार हुने सम्भावना हुन्छ र देखीन्छ पनि । यसबाट के थाहा हुन्छ भने कलाकारलाई सङ्गीतमा पेशागत रूपमा अगाडि बढाउन प्रोत्साहित गर्छ । साथै, प्रायोजक संस्था र व्यावसायिक क्षेत्रको लगानी पनि सङ्गीत उद्योगतर्फ आकर्षित हुन्छ । यसरी अवार्डले नेपाली सङ्गीत क्षेत्रलाई आर्थिक रूपमा समेत सबल बनाउन सहयोग पु¥याएको छ ।
अवार्डहरूले नेपाली भाषा, संस्कृति र मौलिकतालाई संरक्षण गर्न पनि योगदान दिएका छन् । लोकगीत, दोहोरी तथा परम्परागत सङ्गीतलाई विभिन्न विधामा सम्मान गरिनुले यस्ता सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गरेको छ । अवार्ड मार्फत मौलिक सिर्जनालाई प्राथमिकता दिँदा कलाकारहरू नेपाली समाज, संस्कृति र परम्परासँग जोडिएका विषयवस्तुमा आधारित गीत सिर्जना गर्न प्रेरित हुन्छन् । यसले सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन मद्दत गरेको छ ।
यद्यपि पछिको समयमा अवार्डका केही नकारात्मक पक्षहरू पनि देखिएका छन् । कतिपय अवस्थामा पुरस्कार वितरण प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठ्ने गरेका छन् । यदि मूल्याङ्न प्रक्रिया स्पष्ट र विश्वसनीय भएन भने कलाकार तथा श्रोतामाझ असन्तुष्टि उत्पन्न हुन सक्छ । संगीतकर्मीले यसखाले बिषय बेला बेलामा उठाएका पनि छन् । कहिलेकाहीँ लोकप्रियताको आधारमा मात्र पुरस्कार प्रदान गरिँदा गुणस्तरीय तर कम चर्चित सिर्जनाहरू ओझेलमा पर्ने सम्भावना पनि रहन्छ । यसले केही कलाकारहरूमा निराशा पैदा गर्न सक्छ अथवा गरेको छ । केही अवस्थामा भने बिरोधका लागी बिरोध गर्नेहरु पनि छन् अझ भनौ धेरै छन् ।
अवार्डका चुनौतिहरु प्रसस्त छन् । आयोजकका चुनौति आफ्नै छन् भने प्रतिस्पर्धिका चुनौति आफ्नै छन् । चुनौती भनेको सजैकका बिचमा अत्यधिक प्रतिस्पर्धाको भावना पनि हो । स्वस्थ प्रतिस्पर्धाले गुणस्तर बढाए पनि कहिलेकाहीँ आफ्रले पुरस्कार प्राप्त गर्ने उद्देश्य नै मुख्य बन्ने जोखिम रहन्छ । यस अवस्थामा कलाकारहरूले सिर्जनात्मक स्वतन्त्रताभन्दा बजारमुखी प्रवृत्तिलाई प्राथमिकता दिन सक्छन् । परिणामस्वरूप मौलिकता र प्रयोगशीलता प्रभावित हुन सक्छ । त्यसैले पुरस्कारको उद्देश्य केवल प्रतिस्पर्धा होइन, कला र सिर्जनाको सम्मान हुनुपर्छ र यसमा आयोजक सधै सजग रहनुपर्छ ।
डिजिटल युगमा सामाजिक सञ्जालको प्रभाव बढेसँगै अवार्डहरूको स्वरूप पनि परिवर्तन भएको छ । अहिले अनलाइन मतदान, डिजिटल स्ट्रिमिङ र दर्शकको सहभागितालाई आधार बनाएर अवार्ड प्रदान गर्ने पनि गरिन्छ। यसले श्रोताको सहभागिता बढाए पनि कहिलेकाहीँ वास्तविक कलात्मक मूल्याङ्नभन्दा लोकप्रियता निर्णायक बन्ने समस्या देखिन्छ । कतिपय अवस्थामा भने अवार्डको स्वरुपले पनि निर्णायक भूमीका खेल्छ । अवार्ड पब्लिक च्वाइसका आधारमा होकी निर्णायकका आधारमा हो भन्ने कुरा अवार्डको प्रकृति हेरेर हुन्छ । त्यसैले जुरी मूल्याङ्न र जनमतबीच सन्तुलन कायम गर्न आवश्यक हुन्छ ।
समग्रमा हेर्दा, अवार्डहरूले नेपाली सङ्गीत क्षेत्रमा अत्यन्त सकारात्मक प्रभाव पारेका छन् भन्ने कुरालाई भुल्नु हुँदैन । कलाकारलाई प्रेरणा दिने, नयाँ प्रतिभा उजागर गर्ने, गुणस्तर अभिवृद्धि गर्ने, सांस्कृतिक संरक्षणमा सहयोग गर्ने तथा सङ्गीत उद्योगलाई व्यावसायिक बनाउन योगदान पु¥याउने कार्य अवार्डमार्फत सम्भव भएको छ । केही चुनौतीहरू भए पनि पारदर्शी, निष्पक्ष र विश्वसनीय प्रणालीमार्फत अवार्ड प्रदान गरिएमा यसको प्रभाव अझ सकारात्मक बन्न सक्छ । नेपाली सङ्गीतको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानका लागि अवार्डहरूको भूमिका भविष्यमा पनि महत्वपूर्ण रहनेछ । त्यसैले अवार्डलाई केवल सम्मानको प्रतीक मात्र नभई नेपाली सङ्गीतको उन्नति र समृद्धिको महत्वपूर्ण साधनका रूपमा लिन सकिन्छ । अवार्ड केवल विरोधका लागी विरोध नबनाऊ ! अवार्डले केही बिगारेको छैन बरु केही दीएकै छ । नाम र दामका लागी, प्रेरणा र उत्साहका लागी, ब्यबसायीक अवसर प्राप्त गर्नका लागी, आर्थीक उन्नती को अवसर खोज्न÷प्राप्त गर्नका लागी, संगीत उद्योगको विकासका लागी, दर्शक श्रोतको आकर्षण उत्पन्न गर्नका लागी, सांस्कृतिक प्रवर्धनका लागी सवैमा अवार्डको भूमीका रहने गर्छ । कलाकारहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुन सक्छ, अवार्ड नपाउँदा कलाकार हतोत्साहित हुन सक्छन्, छनोट प्रक्रियामा निष्पक्षता नभएको अनुभूति हुन सक्छ, सिर्जनात्मकता वा कलात्मक गुणभन्दा लोकप्रियतालाई बढी महत्व हुन सक्छ, स्थापित कलाकारहरूले बढी अवसर पाउन सक्छन्, कला र सन्देश भन्दा पुरस्कार जित्नेतर्फ ध्यान केन्द्रित हुन सक्छ भन्ने जस्ता कुरामा अवार्ड आयोजक र प्रतिस्पर्धि सचेत हुनै पर्छ ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३ ११:१०