–कमल एक्चै मगर (लेखक\निर्देशक)
नेपाली चलचित्र उद्योग यतिबेला गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ । केही वर्षअघिसम्म कुनै फिल्म सफल वा असफल हुनुको मुख्य आधार कथावस्तु, अभिनय, निर्देशन, गीतसंगीत र दर्शकको रुचि हुन्थ्यो । दर्शक हलसम्म पुगेर फिल्म हेर्थे त्यसपछि आफ्नो प्रतिक्रिया दिन्थे तर अहिले समय फेरिएको छ । डिजिटल युगको तीव्र विस्तारसँगै सामाजिक सञ्जालले मनोरञ्जन क्षेत्रको स्वरूप नै बदलिदिएको छ । आज फिल्मको भविष्य केवल पर्दामा होइन फेसबुक स्टाटस, टिकटक भिडियो, यू–ट्युब रिभ्यु, रिल्स र ट्रोल पेजहरूले निर्धारण गर्न थालेका छन् । यही परिवर्तनसँगै नेपाली चलचित्र क्षेत्रमा एउटा खतरनाक प्रवृत्ति तीव्र रूपमा फैलिँदै गएको छ “बहिष्कार संस्कृति” ।
आज कुनै नेपाली फिल्म प्रदर्शनमा आउनुअघि नै त्यसको पक्ष र विपक्षमा युद्ध सुरु हुन्छ । दर्शकले हलमा बसेर फिल्म हेर्ने अवसर पाउनुअघि नै सामाजिक सञ्जालमा फैसला सुनाइन्छ “यो फिल्म हेर्नु हुँदैन”, “यो कलाकार गलत हो”, “यो चलचित्र बहिष्कार गरौं ।” यस्तो वातावरणले केवल एउटा फिल्मलाई मात्र असर गर्दैन, यसले सिङ्गो सिर्जनात्मक क्षेत्रको मनोबल कमजोर बनाउँछ । अहिले नेपाली सिनेमा उद्योगले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती कमजोर कथा वा कम बजेट होइन, बरु डिजिटल भीड मानसिकता हो ।
पछिल्लो समय प्रदर्शनमा आएको ‘लालीबजार’ र ‘मालती मङ्गले’ चलचित्रले भोगिरहेको चुनौती यसको ताजा उदाहरण हो । यी चलचित्रले जस्तै अन्य केही चलचित्रहरूले यही प्रवृत्तिको प्रत्यक्ष असर भोगिसकेका छन् । कतिपय फिल्महरू प्रदर्शनअघि नै विवादमा तानिन्छन् । केहीलाई योजनाबद्ध रूपमा नकारात्मक प्रचार गरिन्छ । सामाजिक सञ्जालमा केही ट्रोल पेज र भाइरल पोस्टहरूले फिल्म विरुद्ध माहोल बनाउँ छन् । परिणाम स्वरूप दर्शक हलसम्म पुग्नै डराउँ छन् । कतिपय चलचित्रले राम्रो सामग्री हुँदाहुँदै पनि अपेक्षित व्यापार गर्न सक्दैनन् । यसले कलाकार मात्र होइन सम्पूर्ण उद्योगलाई आर्थिक रूपमा कमजोर बनाइ रहेको छ । सामाजिक सञ्जाल लोकतान्त्रिक अभिव्यक्तिको शक्तिशाली माध्यम हो । यसले सबैलाई आफ्नो विचार राख्ने अवसर दिएको छ तर जब यही प्लेटफर्म “डिजिटल भीड” मा बदलिन्छ तब यसले सिर्जनात्मक स्वतन्त्रता माथि आक्रमण गर्न थाल्छ । कुनै कलाकारले दिएको एउटा अभिव्यक्ति, कुनै कार्यक्रममा देखिएको उपस्थिति वा कुनै व्यक्तिको प्रशंसा गरेको भरमा उसमाथि संगठित आक्रमण सुरु हुन्छ । मानिसहरूले कलाकारलाई कलाकारको रूपमा होइन, आफ्नै विचारधारासँग मेल खाने वा नमेल खाने पात्रका रूपमा हेर्न थालेका छन् । यदि कलाकारले आफ्नो व्यक्तिगत धारणा सार्वजनिक ग¥यो र त्यो केही समूहलाई मन परेन भने तुरुन्त बहिष्कारको अभियान चलाइन्छ ।
एउटा राजनीतिक व्यक्तित्वसँगको सामान्य सम्बन्धकै आधारमा उसको सम्पूर्ण करियरमाथि हमला हुनु खतरनाक संकेत हो । यसको सबैभन्दा चर्चित उदाहरण गायक तथा अभिनेता प्रकाश सपुत बने । उनको फिल्म ‘वसन्त’ रिलिजको समयमा एउटा सार्वजनिक कार्यक्रममा उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा वलीलाई “अध्ययनशील र राम्रो व्यक्ति” भनेपछि सामाजिक सञ्जालमा ठूलो विवाद सिर्जना भयो । त्यो अभिव्यक्तिलाई लिएर धेरैले उनलाई राजनीतिक रूपमा रंग्याए । फिल्म हेर्न नजाने अभियान चलाइयो, ट्रोल बनाइयो, व्यक्तिगत आक्रमण गरियो । प्रश्न उठ्छ – एउटा कलाकारले कसैको प्रशंसा गर्नु वा व्यक्तिगत धारणा राख्नु यति ठूलो अपराध हो ?
यस्तो अवस्था नेपाली चलचित्र क्षेत्रका धेरै कलाकारले भोगिसकेका छन् । सामाजिक सञ्जालमा अहिले कुनै कलाकारको फिल्मभन्दा उसको व्यक्तिगत विचार बढी चर्चाको विषय बन्न थालेको छ । मानिसहरूले फिल्मको कथा, अभिनय वा कलात्मक पक्षभन्दा पहिले कलाकारको राजनीतिक झुकाव, व्यक्तिगत सम्बन्ध वा सामाजिक अभिव्यक्तिलाई आधार बनाएर निर्णय गर्न थालेका छन् । यसले कला र कलाकार दुवैलाई असुरक्षित बनाइरहेको छ । कलाकार पनि आखिर समाजकै सदस्य हुन् । उनीहरूका पनि आफ्नै विचार, भावना, सम्बन्ध र दृष्टिकोण हुन्छन् । उनीहरू कुनै रोबर्ट होइनन्, जसले दर्शकलाई खुसी पार्न मात्र सोचुन् । एउटा कलाकारले कसैको प्रशंसा गर्नु, कुनै सामाजिक विषयमा धारणा राख्नु वा आफ्नो व्यक्तिगत अनुभव बाँड्नु स्वाभाविक कुरा हो तर अहिलेको सामाजिक सञ्जाल संस्कृति यति असहिष्णु बन्दै गएको छ कि कलाकारलाई आफ्नै विचार राख्न डर लाग्न थालेको छ । एउटा सामान्य अभिव्यक्तिले पनि करियर संकटमा पर्न सक्ने अवस्था सिर्जना भएको छ । यही कारणले अहिले नेपाली चलचित्र क्षेत्रमा आत्म सेन्सरशिप बढ्दै गएको छ । कलाकारहरूले खुलेर बोल्न छाड्दैछन् । धेरैले विवादको डरले सामाजिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्न चाहँदैनन् । केही कलाकारले अन्तर्वार्ता दिनै कम गरेका छन् । किनकि उनीहरूलाई थाहा छ एउटा वाक्य गलत रूपमा व्याख्या भयो भने त्यसले वर्षौंको मेहनत समाप्त गर्न सक्छ । यस्तो वातावरणमा स्वतन्त्र सिर्जना सम्भव हुँदैन । कलाकारले यदि भीडको डरले आफ्ना विचार लुकाउन थाल्यो भने कला कृत्रिम बन्छ । आज सामाजिक सञ्जालमा “भाइरल संस्कृति” यति शक्तिशाली भइसकेको छ कि एउटा ट्रोल पोस्टले पनि ठूलो असर पार्न सक्छ । कुनै फिल्मको राम्रो पक्षभन्दा बढी चर्चा विवादले पाउँछ । एउटा विवादित क्लिप, एउटा कट गरिएको भिडियो वा एउटा गलत व्याख्या केही घण्टामै लाखौँ मानिससम्म पुग्छ । मानिसहरूले वास्तविकता बुझ्नुभन्दा पहिले प्रतिक्रिया दिन थाल्छन् । यही हतारोले बहिष्कार संस्कृतिलाई अझ बलियो बनाएको छ ।
पहिले दर्शक हलमा पुगेर फिल्म हेर्थे, त्यसपछि आफ्नो समीक्षा गर्थे । अहिले भने धेरैले फिल्म नहेरी नै निर्णय गर्छन् । “यो कलाकार यस्तो रहेछ”, “यो पार्टीको मान्छे हो”, “यो देशविरोधी हो”, “यो फिल्म हेर्नु हुँदैन” यस्ता ट्यागहरूले सिर्जनालाई मारिरहेका छन् । कला कुनै राजनीतिक पार्टीको घोषणापत्र होइन । कला त समाजको विविधता, भावना र अनुभवको अभिव्यक्ति हो तर अहिले कलाकारलाई विचारधाराको चश्माले हेर्ने प्रवृत्ति बढ्दै गएको छ ।
विडम्बना के छ भने, हिजो प्रकाश सपुतमाथि भइरहेको आक्रमणमा रमाउनेहरू आज आफू नजिकका कलाकारमाथि त्यही अवस्था आउँदा चिच्याइरहेका छन् । अहिले चर्चामा रहेको अर्को उदाहरण हो दिपकराज गिरी र उनीहरुको टिमले निर्माण गर्दै गरेको लोकप्रिय सिरिज ‘छ माया छपक्कै २’ । नयाँ सिक्वेन्सको सुटिङ सुरु हुदै गर्दा फिल्मलाई बहिष्कार गर्ने पोस्टहरू आउन थालेका छन् । कसैले कलाकारको पुरानो अभिव्यक्ति निकालेर आलोचना गरिरहेका छन्, कसैले राजनीतिक झुकावको आरोप लगाइरहेका छन् । फिल्म अझै बनिसकेको छैन तर फैसला भने सुनाइ सकिएको छ ।
यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पनि देखिन थालेको छ । एउटा चलचित्र केवल अभिनेता अभिनेत्रीको सपना मात्र होइन । त्यसमा सयौं मानिसको जीवन जोडिएको हुन्छ । लेखक, निर्देशक, छायाकार, सम्पादक, मेकअप आर्टिस्ट, संगीतकार, प्राविधिक, हल व्यवसायी, वितरक । सबैको श्रम र भविष्य एउटा फिल्मसँग गाँसिएको हुन्छ । कुनै फिल्म असफल हुँदा केवल निर्माता मात्र घाटामा पर्दैन धेरै परिवारको आयस्रोत प्रभावित हुन्छ । नेपालजस्तो सानो बजार भएको देशमा लगातार बहिष्कारको संस्कृति बढ्दै जाँदा लगानीकर्ता पनि डराउन थालेका छन् । जब लगानीकर्ता डराउँछन् तब नयाँ कथा बन्द हुन्छ, नयाँ प्रतिभाले अवसर पाउँदैनन् र उद्योग विस्तार हुन सक्दैन ।
नेपाली चलचित्र उद्योगले पहिले नै धेरै चुनौती सामना गरिरहेको छ । विदेशी फिल्महरूको दबाब, ओटीटी प्लेटफर्मको विस्तार, हलहरूको घट्दो संख्या, दर्शकको बदलिँदो बानी । यी सबै समस्याबीच नेपाली फिल्मलाई टिकाउन अझ बढी समर्थन र सकारात्मक वातावरण आवश्यक छ तर विडम्बना के छ भने अहिले हामी आफैंले आफ्नै उद्योगमाथि डिजिटल ढुंगा हानिरहेका छौँ । सामाजिक सञ्जालमा केही दिन ट्रेन्ड गराउन सजिलो छ तर त्यसले दीर्घकालमा उद्योगलाई कति ठूलो क्षति पु¥याउँछ भन्ने धेरैले सोचेका छैनन् ।
बहिष्कार संस्कृतिको अर्को खतरनाक पक्ष के हो भने यसको कुनै स्थायी सीमा हुँदैन । आज तपाईले मन नपर्ने कलाकार बहिष्कारको सिकार बन्न सक्छ, भोलि तपाईको प्रिय कलाकार पनि त्यही भीडको निशाना बन्न सक्छ । डिजिटल भीडको कुनै स्थायी मित्र हुँदैन । भीड भावनामा चल्छ, तथ्यमा होइन । त्यसैले आज अरूमाथि हाँस्नेहरू भोलि आफैं पीडित बन्न सक्छन् । यसको अर्थ आलोचना गर्न पाइँदैन भन्ने होइन । कुनै फिल्म कमजोर छ भने त्यसको आलोचना हुनुपर्छ । कथावस्तु नराम्रो छ भने दर्शकले अस्वीकार गर्न सक्छन् । कलाकारको व्यवहार गलत छ भने त्यसबारे प्रश्न उठाउन सकिन्छ । स्वस्थ आलोचना लोकतान्त्रिक समाजको आवश्यक पक्ष हो तर आलोचना र संगठित विनाश अभियानबीच ठूलो अन्तर हुन्छ । अहिले समस्या आलोचना होइन, समस्या बिना तथ्य निर्णय गर्ने भीड मानसिकताको हो ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने चलचित्र केवल मनोरञ्जन मात्र होइन यो समाजको सांस्कृतिक ऐना पनि हो । नेपाली फिल्म कमजोर हुँदा त्यसको असर भाषा, संस्कृति, संगीत र पहिचानमाथि पनि पर्छ । यदि नेपाली चलचित्र उद्योग कमजोर भयो भने भविष्यमा विदेशी सामग्रीले हाम्रो सांस्कृतिक स्थान झन् बढी ओगट्नेछ । त्यसैले आफ्नै उद्योगलाई जोगाउनु केवल कलाकारको जिम्मेवारी होइन, यो दर्शक र समाजको पनि दायित्व हो ।
आज आवश्यक कुरा बहिष्कार होइन, विवेकपूर्ण मूल्यांकन हो । फिल्म राम्रो छ कि छैन भन्ने निर्णय सामाजिक सञ्जालको ट्रेन्डले होइन, दर्शकको अनुभवले गर्नुपर्छ । कलाकारको व्यक्तिगत विचारसँग असहमति हुन सक्छ तर त्यसकै आधारमा उसको सम्पूर्ण सिर्जनालाई नष्ट गर्न खोज्नु सांस्कृतिक असहिष्णुता हो । हामीले सिर्जनालाई सिर्जनाकै रूपमा हेर्न सिक्नुपर्छ । नेपाली चलचित्र उद्योग अहिले एउटा संवेदनशील मोडमा उभिएको छ । एकातिर डिजिटल प्लेटफर्मले नयाँ अवसर ल्याएको छ अर्कोतिर सामाजिक सञ्जालकै विषाक्त संस्कृतिले उद्योगलाई कमजोर बनाइरहेको छ । यदि यही प्रवृत्ति बढिरह्यो भने भविष्यमा लगानी घट्नेछ, कलाकारहरू डराउने छन्, नयाँ प्रतिभा हराउने छन् र दर्शकले गुणस्तरीय नेपाली सिनेमा गुमाउने छन् ।
प्रश्न एउटै हो – हामी कला बचाउन चाहन्छौँ कि आफ्नै अहंकारको युद्धमा त्यसलाई समाप्त गर्न ? यदि हामीले समयमै सोचेनौँ भने “बहिष्कार” को यो आगोले एक दिन सिङ्गो नेपाली चलचित्र उद्योगलाई खरानी बनाउन सक्छ ।
१७ औं डी सिने अवार्ड स्मारिकाबाट साभार