नयाँ नेपाली चलचित्र ‘द राइज अफ साम्राज्य’ औपचारिक रूपमा घोषणा गरिएको छ । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने यस चलचित्रको निर्माण टिमले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै शीर्षक घोषणा गरेको हो ।
सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । निर्माणमा प्रवेश चौधरी र निला देव रहेका छन् भने विश्वास बस्नेत (बेन) सह–निर्माता हुन् । शंकर पाण्डे कार्यकारी निर्माता रहेका छन् ।
सार्वजनिक गरिएको थिम पोस्टरले चलचित्रको कथावस्तुबारे उत्सुकता बढाएको छ । पोस्टरमा आगोको लप्का, घोडामा सवार पात्र, पुरातन राजसी परिवेश र रातो झण्डाजस्तो देखिने कपडाले विद्रोह, संघर्ष र क्रान्तिको संकेत गरेका छन् । पृष्ठभूमिमा देखिएको रामलीला नाटकले चलचित्र कुनै ऐतिहासिक कालखण्ड वा गहिरो कथामा आधारित हुन सक्ने अनुमान गर्न सकिन्छ, यद्यपि निर्माण पक्षले कथाबारे विस्तृत जानकारी भने खुलाएको छैन ।
निर्माण टिमका अनुसार चलचित्र एपिक एक्सन ड्रामा जनरामा निर्माण हुनेछ । पछिल्लो समय एक्सन प्रस्तुति र भिन्न शैलीको मेकिङका कारण प्रशंसा बटुलेका निर्देशक सौरभ चौधरी यसपटक अझ ठूलो स्केलको परियोजनासहित दर्शकमाझ आउन लागेका हुन् ।
कार्यकारी निर्माता शंकर पाण्डेले ‘द राइज अफ साम्राज्य’ नेपाली चलचित्र उद्योगकै अहिलेसम्मकै ठूलो स्केलको चलचित्र बन्ने दाबी गरेका छन् । उनका अनुसार कलाकारको लाइनअप केही दिनभित्र सार्वजनिक गरिनेछ ।
चलचित्रको छायांकन आगामी भदौको पहिलो सातादेखि सुरु हुनेछ । अधिकांश छायांकन पूर्वी नेपालमा हुने र करिब ७० दिनको सुटिङ तालिका तय गरिएको निर्माण पक्षले जनाएको छ ।
प्रदर्शन मितिबारे भने निर्माण टिमले अहिले नै निर्णय नगर्ने बताएको छ । निर्देशक सौरभ चौधरीका अनुसार छायांकन र पोस्ट–प्रोडक्सनको काम सम्पन्न भएपछि मात्र उपयुक्त प्रदर्शन मिति तय गरिनेछ ।
चलचित्रमा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक रहेका छन् । ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डीसीएन वितरण साझेदारका रूपमा आबद्ध छन् ।
‘द राइज अफ साम्राज्य’ले नेपाली इतिहासको कुनै विशेष कालखण्डलाई पर्दामा उतार्ने हो वा काल्पनिक साम्राज्यको कथा भन्ने विषय भने अहिले रहस्यमै राखिएको छ । तर सार्वजनिक भएको थिम पोस्टरले चलचित्रप्रति दर्शकको चासो उल्लेखनीय रूपमा बढाएको छ ।