नेपाली चलचित्र ‘हली’ले प्रदर्शनअघि नै सकारात्मक चर्चा बटुल्न थालेको छ । काठमाडौँको सिटी सेन्टरस्थित बिग मुभिजमा आयोजित विशेष प्रदर्शनीमा चलचित्रले दर्शक तथा चलचित्रकर्मीबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको हो ।
हल भरिभराउ उपस्थितिका बीच सम्पन्न विशेष शोपछि अधिकांश दर्शक र फिल्मकर्मीले छाउपडी प्रथाजस्तो संवेदनशील सामाजिक विषयलाई प्रभावकारी ढंगले पर्दामा उतारिएको भन्दै निर्माण टिमको खुलेर प्रशंसा गरेका छन् । प्राप्त सकारात्मक प्रतिक्रिया र दर्शकको मायाले निर्देशक ओम प्रतीक तथा निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठ उत्साहित बनेका छन् ।
छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपर्ने सामाजिक विभेद, पीडा र दुर्व्यवहारलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘हली’ले समाज परिवर्तनका लागि एक जना सचेत व्यक्तिको भूमिका पनि पर्याप्त हुन सक्छ भन्ने सन्देश दिन खोजेको छ । यसअघि सार्वजनिक ट्रेलर, पोस्टर र प्रमोशनल गीतले समेत चलचित्रप्रति दर्शकको चासो बढाएको थियो ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन् ।
पूजा गुरुङ र जश्मिन श्रेष्ठको निर्माण रहेको चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।
राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ । जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा बाबुल गिरी र शान्ति श्री परियारको स्वरमा रहेको गीत पनि चलचित्रमा समावेश छ । गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन् ।
चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यस चलचित्र आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारिमा रहेको छ ।