छायाँछवि क्रिएसनको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको छायाँछवि तीज म्युजिक अवार्डको १३औँ संस्करण यस वर्ष तत्काल आयोजना नहुने भएको छ ।
नेपाली चलचित्र, गीत–संगीत तथा मनोरञ्जनका विभिन्न विधामा सक्रिय रहँदै आएको छायाँछविले मूलतः नेपाली चलचित्र तथा संगीत क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर काम गर्दै आएको छ । तर, यतिबेला मुलुक विपत्तिको अवस्थामा रहेको भन्दै छायाँछवि तीज म्युजिक अवार्ड तत्काल आयोजना नगर्ने निर्णय गरिएको हो । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाप्रलयकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि समग्र नेपाली समाज नै शोक र संवेदनामा रहेको अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने आयोजकले जनाएको छ ।
अकस्मात् आएको भीषण बाढीका कारण धेरै नेपालीले ज्यान गुमाउनुका साथै ठूलो क्षति व्यहोर्नुपरेको छ । विपत्तिले दिएको पीडा र घाउ अझै ताजा रहेको अवस्थामा मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै यस वर्षको अवार्ड कार्यक्रम तत्काल आयोजना गर्न नसकिएको छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले जानकारी दिएका छन् ।
यस दुःखद् घडीमा छायाँछवि क्रिएसनले बाढी तथा विपत्तिका कारण अकालमा ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।
छायाँछवि तीज म्युजिक अवार्ड हरेक वर्ष आयोजना हुँदै आएको नियमित कार्यक्रम भएकाले परिस्थितिले तत्काल कार्यक्रम आयोजना गर्न अनुकूल नदेखिए पनि अवार्डको प्रक्रिया भने निरन्तर अघि बढाइने आयोजकले जनाएको छ । अवार्डको नतिजा यसै हप्ता सार्वजनिक गरिनेछ ।
सार्वजनिक नतिजाअनुसार पुरस्कृत हुने सर्जक तथा सिर्जनाहरूलाई केही समयको अन्तरालमा छुट्टै कार्यक्रम आयोजना गरी अवार्ड तथा सम्मान प्रदान गरिने पनि छायाँछवि क्रिएसनले जनाएको छ ।
यसैबीच, यस वर्ष सिर्जना गरिएको तीज गीत हालसम्म अवार्डका लागि दर्ता नगराइएको भए यथाशीघ्र दर्ता गराउन आयोजकले सम्बन्धित सर्जक तथा सिर्जनाकर्मीहरूलाई अनुरोध गरेको छ ।