नेपाली चलचित्र ‘गौंथली’ले घरेलु बक्स अफिसमा लगातार प्रभावशाली व्यापार गर्दै नयाँ कीर्तिमानतर्फ अग्रसर भएको छ । प्रदर्शनको १० दिनमै ७ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्दै चलचित्रले यस वर्षकै सर्वाधिक सफल नेपाली फिल्म बन्ने संकेत दिएको हो ।
चलचित्र विकास बोर्डअन्तर्गतको आधिकारिक ‘सिनेपास बक्स अफिस’ प्रणालीले सार्वजनिक गरेको विवरणअनुसार साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौंथली’ले पहिलो १० दिनमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस व्यापार गरेको छ । यही अवधिमा देशभरका चलचित्र हलबाट २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएका छन्, जसले फिल्मप्रतिको दर्शक आकर्षण स्पष्ट पारेको छ ।
दोस्रो सातामा प्रवेश गरेसँगै चलचित्रको व्यापार अझ सशक्त बनेको छ । दोस्रो शनिबार मात्रै ‘गौंथली’ले १ करोड ६५ लाख रुपैयाँभन्दा बढी ग्रस कमाउँदै यस वर्ष कुनै पनि नेपाली चलचित्रले एकै दिन गरेको सबैभन्दा धेरै कमाइको रेकर्ड कायम गरेको थियो । त्यसको भोलिपल्ट आइतबार पनि फिल्मले करिब डेढ करोड रुपैयाँ बराबरको व्यापार गर्दै आफ्नो लयलाई निरन्तरता दिएको छ ।
हालसम्मको आम्दानीका आधारमा ‘गौंथली’ यस वर्षको दोस्रो सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको छ भने पहिलो स्थानमा रहेको ‘लालीबजार’ सँगको दूरी तीव्र रूपमा घटाइरहेको छ । वर्तमान व्यापारिक गति कायम रहेमा यही साताभित्र चलचित्रले १० करोड रुपैयाँको आँकडा पार गर्दै वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बन्ने अपेक्षा गरिएको छ ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’ले निर्देशक रिजाललाई सफल नयाँ निर्देशकका रूपमा स्थापित गरेको छ । चलचित्रको कथा, भावनात्मक प्रस्तुति र कलाकारहरूको अभिनयले दर्शकको मन जितेकै कारण बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्न सकेको विश्लेषण गरिएको छ ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् भने सरला रिजाल कार्यकारी निर्माता हुन् ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
उल्लेखनीय रूपमा, ‘गौँथली’ शीर्षकमै डा. भोला रिजालले करिब दुई दशकअघि निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो गीति (म्युजिकल) फिल्म मानिन्छ । त्यही नामलाई निरन्तरता दिँदै अहिले उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका दर्शकमाझ ‘गौंथली’ प्रस्तुत गरेका हुन् । यस चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरिरहेका छन् ।