आयंका फिल्म्सको ब्यानरमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘मास्टर्नी’को टिजर सार्वजनिक गरिएको छ । केही दिनअघि सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तुबारे उत्सुकता जगाएको थियो भने नयाँ टिजरले त्यसलाई थप स्पष्ट बनाउँदै आमा–छोरीबीचको भावनात्मक सम्बन्ध र छोरीको सुरक्षाका लागि आमाले गर्न सक्ने संघर्षलाई केन्द्रमा राखेको संकेत दिएको छ ।
एक लासबाट सुरु हुने टिजरमा रहस्य र सस्पेन्सको माहोल सिर्जना गरिएको छ । ‘छोरीको सुरक्षा भन्दा ठूलो अरू केही छैन’ भन्ने संवादले कथाको मूल भाव उजागर गर्दै आफ्नी छोरीलाई जोगाउन एक आमाले कस्तो कठिन निर्णय लिन सक्छिन् भन्ने विषयलाई प्रस्तुत गरेको देखिन्छ ।
टिजरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायतका कलाकार देखिएका छन् । टिजरमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र मुकेश शाहको ध्वनि मिश्रण रहेको छ ।
सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्रका निर्माता प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की हुन् । सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माताका रूपमा आबद्ध छन् । भारतीय प्राविधिक टोलीको समेत सहभागिता रहेको चलचित्रको पोस्ट–प्रोडक्सनको काम नेपाल र भारत दुवै देशमा भइरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन् । संवाद लेखनमा प्रियंका र शानको संयुक्त सहकार्य रहेको छ । युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिदुको सम्पादन, रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको स्वर रहेको चलचित्रको पोस्टर डिजाइन र पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) हो ।
आरआर फिल्म्सले नेपालभर वितरण गर्ने ‘मास्टर्नी’ आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।