मानिस जन्मिएदेखि नै कुनै न कुनै भूमिकामा बाँचेको हुन्छ । कसैले सन्तानको भूमिका निभाइरहेको हुन्छ, कसैले अभिभावकको, कसैले साथीको, कसैले शिक्षकको त कसैले संघर्षशील नागरिकको । जीवनका यी अनेक आयामहरूलाई हेर्दा संसार आफैमा एउटा विशाल रंगमञ्च जस्तो प्रतीत हुन्छ, जहाँ हरेक मानिस आफ्नै पात्रमा उभिएको छ । यही कारणले “जीवन एउटा नाटक हो” भन्ने भनाई केवल साहित्यिक कल्पना मात्र होइन गहिरो यथार्थ पनि हो । रंगमञ्च र जीवनमञ्च बीच गहिरो सम्बन्ध छ, किनकि रंगमञ्चमा प्रस्तुत गरिने कथा अन्ततः समाज र मानिसकै जीवनबाट जन्मिएको हुन्छ । कलाकार त्यही पात्र हो, जसले जीवनका अनुभूति, पीडा, संघर्ष, प्रेम, आशा र सपनालाई आफ्नो कला मार्फत अभिव्यक्त गर्ने साहस गर्छ ।
रंगमञ्च केवल अभिनय गर्ने स्थान मात्र होइन त्यो चेतना, अनुभूति र परिवर्तनको पाठशाला हो । त्यहाँ कलाकारले आफूलाई विभिन्न पात्रमा रूपान्तरण गरेर समाजको यथार्थ प्रस्तुत गर्छ । एउटा नाटक भित्र कहिले काहीँ यति गहिरो सन्देश लुकेको हुन्छ कि त्यसले मानिसको सोच नै बदलिदिन सक्छ । रंगमञ्चमा बोलेका संवादहरू केवल शब्द हुँदैनन्, ती समाजका दबिएका आवाज पनि हुन सक्छन् । एउटा कलाकारले अभिनय गर्दा दर्शक केवल मनोरञ्जन लिइरहेका हुँदैनन्, उनीहरूले आफ्नो जीवन, आफ्ना पीडा, आफ्ना सपना र आफ्नै संघर्ष त्यसभित्र देखिरहेका हुन्छन् । यही कारणले कला मानिसको मन छुने सबैभन्दा शक्तिशाली माध्यम बनेको छ ।
इतिहासलाई हेर्ने हो भने कला र रंगमञ्चले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका धेरै उदाहरण भेटिन्छन् । विभिन्न कालखण्डमा कलाकारहरूले अन्याय, विभेद, अन्धविश्वास र सामाजिक कुरीतिविरुद्ध आफ्नो कला मार्फत आवाज उठाएका छन् । कुनै समय नाटकहरू जनचेतना फैलाउने प्रभावकारी माध्यम थिए । गाउँ घरमा मञ्चन गरिने नाटकहरूले शिक्षा, समानता, राष्ट्रियता र सामाजिक सद्भावको सन्देश फैलाएका हुन्थे । कलाकारहरूले समाजलाई ऐना जस्तै देखाएर मानिसलाई सोच्न बाध्य बनाएका हुन्थे । यस अर्थमा कलाकार केवल मनोरञ्जनकर्ता होइन, समाजको संवेदनशील दूत पनि हो । तर रंगमञ्चको यात्रा जति सुन्दर देखिन्छ, कलाकारको जीवन मञ्च त्यतिनै कठिन हुन्छ । रंगमञ्चमा कलाकारले अरूको कथा प्रस्तुत गर्छ तर वास्तविक जीवनमा उसले आफ्नै संघर्षको अभिनय गरिरहेको हुन्छ । बाहिरबाट चम्किलो देखिने कलाकारको जीवनभित्र थुप्रै अभाव, पीडा, असफलता र संघर्ष लुकेका हुन्छन् । धेरै कलाकारहरूले आफ्नो सपना जोगाउन परिवारको दबाब, आर्थिक कठिनाइ र समाजको उपेक्षा सहनु परेको हुन्छ । कतिपय कलाकारले वर्षौँ सम्म अवसरको खोजीमा संघर्ष गर्छन् । कहिले काहीँ उनीहरूको प्रतिभा भन्दा चिनजानलाई प्राथमिकता दिइन्छ । यति हुँदाहुँदै पनि उनीहरू कला छोड्दैनन् किनकि कला उनीहरूको आत्मासँग जोडिएको हुन्छ ।
जीवन मञ्च रंगमञ्च भन्दा धेरै कठिन छ । रंगमञ्चमा पटकथा हुन्छ, निर्देशक हुन्छ, अभ्यास गर्ने समय हुन्छ, गल्ती सच्याउने अवसर हुन्छ तर जीवन मञ्चमा कुनै निर्देशक हुँदैन, कुनै दोस्रो टेक हुँदैन । यहाँ मानिसले आफैं निर्णय लिनुपर्छ र आफ्नो कर्मको परिणाम पनि आफैं भोग्नुपर्छ । कलाकारले रंगमञ्चमा रोएको दृश्य देखाउँदा त्यो अभिनय हुन सक्छ तर जीवन मञ्चमा बगेको आँसु वास्तविक हुन्छ । यही वास्तविक पीडाले कलाकारलाई अझ गहिरो र संवेदनशील बनाउँछ । सायद यही कारणले महान कलाकारहरू आफ्ना जीवनका संघर्षलाई नै सिर्जनाको स्रोत बनाउँछन् ।
नेपाली कला क्षेत्रको अवस्था अझै पनि संघर्षपूर्ण छ । नेपालमा थुप्रै प्रतिभाशाली कलाकार भए पनि उनीहरूले आफ्नो प्रतिभा अनुसार अवसर र सम्मान पाउन सकेका छैनन् । रंगमञ्च, चलचित्र, संगीत र लोक कला क्षेत्रमा काम गर्ने धेरै कलाकार आर्थिक रूपमा असुरक्षित छन् । कलाकारिता अझै पनि धेरैको नजरमा स्थायी पेशा मानिँदैन । परिवार र समाजले पनि कहिले काहीँ कलाकारितालाई केवल मनोरञ्जनको साधन ठान्छन् तर वास्तविकता के हो भने कला समाजको आत्मा हो । कला नभएको समाज भावनाहीन हुन्छ । कलाकारहरूले नै समाजको संस्कृति, भाषा, इतिहास र मौलिकतालाई जोगाइरहेका हुन्छन् ।
नेपालको मौलिक कला र संस्कृतिलाई जोगाउन कलाकारहरूको भूमिका अत्यन्त ठूलो छ । गाउँका मेलापातमा गाइने लोकगीत, देउडा, रोइला, तामाङ सेलो, दोहोरी, मारुनी नाच देखि आधुनिक संगीत र चलचित्र सम्म नेपाली कला अनेक रूपहरूमा जीवित छ । कलाकारहरूले आफ्ना सिर्जना मार्फत नेपाली पहिचानलाई संसार सामु चिनाइरहेका छन् । नेपाली भाषा, भेषभूषा, संस्कार र परम्परालाई संरक्षण गर्न कलाकारहरूको योगदान अविस्मरणीय छ । यदि कला हरायो भने समाजको मौलिकता पनि हराउँछ । त्यसैले कला संरक्षण गर्नु भनेको राष्ट्रको आत्मा जोगाउनु हो ।
आजको डिजिटल युगले कलाकारलाई नयाँ सम्भावना दिएको छ । पहिले आफ्नो प्रतिभा देखाउन ठूलो मञ्चको आवश्यकता पथ्र्यो तर अहिले सामाजिक सञ्जाल र डिजिटल माध्यमहरूले संसारलाई नै एउटा खुला रंगमञ्च बनाइदिएको छ । एउटा सामान्य कलाकारले पनि आफ्नो सिर्जना फेसबुक, युट्युब, टिकटक वा अन्य डिजिटल प्लेटफर्म मार्फत लाखौँ मानिस सम्म पु¥याउन सक्छ । यसले नयाँ प्रतिभाहरूलाई अवसर दिएको छ । धेरै कलाकारहरू डिजिटल माध्यमकै कारण चर्चित भएका छन् । नेपाली कला पनि अहिले अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्न थालेको छ तर डिजिटल युगसँगै चुनौतीहरू पनि बढेका छन् । सामाजिक सञ्जालमा लोकप्रियता पाउन सजिलो देखिए पनि त्यसलाई टिकाइ राख्न कठिन छ । कतिपय कलाकारहरू सस्तो लोकप्रियताको पछि लाग्दा आफ्नो मौलिकता गुमाइ रहेका छन् । कला केवल भाइरल हुने माध्यम होइन त्यो समाजलाई सकारात्मक दिशा दिने शक्तिशाली साधन हो । यदि कलाकारले आफ्नो सिर्जनालाई केवल चर्चित बन्ने माध्यम मात्र बनायो भने कलाको गहिराइ हराउन सक्छ । त्यसैले आजको कलाकारले प्रविधिको सदुपयोग गर्दै आफ्नो संस्कार, सिर्जनात्मकता र सामाजिक जिम्मेवारीलाई सँगै अगाडि बढाउनुपर्छ ।
कलाकार समाजको ऐना हो । समाजमा जे भइरहेको हुन्छ, कलाकारले त्यसलाई आफ्नो कला मार्फत प्रस्तुत गर्ने प्रयास गर्छ । एउटा राम्रो कलाकारले मानिसलाई हँसाउन सक्छ, रुवाउन सक्छ, प्रेरित गर्न सक्छ, सोच्न बाध्य बनाउन सक्छ । कला मानिसको भावनासँग प्रत्यक्ष जोडिएको हुन्छ । एउटा गीतले निराश मानिसलाई आशा दिन सक्छ, एउटा चलचित्रले समाजलाई चेतना दिन सक्छ, एउटा नाटकले मानिसलाई अन्याय विरुद्ध बोल्न प्रेरित गर्न सक्छ । यही कारणले कलाकारको जिम्मेवारी अत्यन्त ठूलो हुन्छ । कलाकारले समाजलाई केवल मनोरञ्जन मात्र होइन, सकारात्मक सोच पनि दिनुपर्छ ।
समाजले कलाकारलाई सम्मान गर्न सिक्नुपर्छ । हामी प्रायः कलाकारको सफलताको चमक मात्र देख्छौं तर त्यस पछाडिको संघर्ष देख्दैनौं । एउटा कलाकारले सफल हुन कति पीडा सहनु परेको हुन्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । कला क्षेत्रमा टिकिरहन धैर्य, समर्पण र अथक मेहनत आवश्यक हुन्छ । कलाकारहरूले आफ्नो जीवनका दुःखलाई पनि सिर्जनामा बदल्न सिकेका हुन्छन् । उनीहरू हरेक चोटबाट नयाँ शक्ति लिएर उठ्छन् । यही संघर्षले कलाकारलाई असाधारण बनाउँछ ।
रंग मञ्च देखि जीवन मञ्च सम्मको यात्रा वास्तवमै सजिलो छैन । यो यात्रा पसिना, आँसु, निराशा, संघर्ष र समर्पणले बनेको हुन्छ तर यही यात्राले कलाकारलाई जीवन बुझ्न सिकाउँछ । कलाकारले समाजका हरेक वर्गका मानिसका भावना महसुस गर्न सिकेको हुन्छ । ऊ केवल अभिनय गर्दैन उसले जीवनलाई अनुभूत गर्छ । यही अनुभूतिले कलाकारको सिर्जनालाई शक्तिशाली बनाउँछ ।
कला मानिसलाई मानवता सिकाउने माध्यम पनि हो । जहाँ कला हुन्छ त्यहाँ संवेदना हुन्छ । जहाँ संवेदना हुन्छ त्यहाँ प्रेम र सहअस्तित्व हुन्छ । कला मानिसको मनलाई जोड्ने पुल हो । भाषाको सीमा पार गरेर पनि कला मानिसको ह्रदयसम्म पुग्न सक्छ । एउटा सुमधुर संगीत, एउटा मार्मिक कविता वा एउटा सशक्त अभिनयले संसारका जुनसुकै मानिसको मन छुने क्षमता राख्छ । त्यसैले कला केवल एउटा पेशा होइन त्यो मानव सभ्यताको आधार पनि हो ।
अन्ततः रंगमञ्च र जीवनमञ्च फरक देखिए पनि दुबै एकअर्काका प्रतिबिम्ब हुन् । रंगमञ्चमा प्रस्तुत गरिने कथा जीवनकै कथा हो । कलाकारले आफ्नो सिर्जना मार्फत समाजलाई दिशा दिने प्रयास गरिरहेको हुन्छ । जबसम्म मानिस भित्र भावना, सपना, प्रेम र मानवता जीवित रहन्छ तबसम्म कला पनि जीवित रहनेछ । कलाकारहरूको योगदानलाई सम्मान गर्दै कला र संस्कृतिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । कला जोगियो भने समाजको आत्मा जोगिन्छ, संस्कृति जोगिन्छ र मानवताको उज्यालो कहिल्यै निभ्दैन ।