–अभय श्रेष्ठ
हावाको विपरीत दिशातिर फ्याँकिएको कागज जस्तै मैले सिनेमा हेर्न थालेका ती दिन सम्झनाको रिलमा अहिले पनि घुमिरहन्छ । यो त्यस बेलाको कुरा हो, जब सिनेमा हेर्न हलमा नधाई सुख थिएन । अहिले जस्तो मोबाइलमा चाहेको सिनेमा हेर्ने कुरा सपनामा समेत चिताउन सकिन्नथ्यो । उपत्यकाका तीनै सहरका गल्लीमा अवैध रुपमा देखाइने भिडियो भने एक\दुई रुपियाँ तिरेर हेर्न सकिन्थ्यो ।
०३८ सालमा म भक्तपुरको नवदुर्गा हलमा शिव श्रेष्ठ–मीनाक्षी आनन्द अभिनीत सुपरहिट नेपाली फिल्म ‘जीवनरेखा’ हेर्न पुगेको थिएँ । भीड कति थियो भने, ब्ल्याकमा टिकट बेच्ने दलालहरु लाइनमा बसेका दर्शकलाई बीचबीचमा छिरेर पेटीले टाउकामा प्याट्ट–प्याट्ट हिर्काउँदै अगाडि बढ्थे । हलवालासँग सेटिङअनुसार टिकट लिएर बाहिर ब्ल्याकमा बेच्थे । पाखुरा ठूला भएका दलालहरुबीच बेला–बेला घुसामारी समेत हुन्थ्यो । सेकेन्ड वा थर्ड क्लासको टिकट नपाएर हामी केटाकेटीको टोली फिल्म नहेरी फर्कनुपरेको थियो । फस्र्ट क्लासदेखि माथिका टिकट ब्ल्याकमा किन्ने त चिताउनै सकिन्नथ्यो ।
नवदुर्गा हलमा स्पेसलदेखि प्रथम, द्वितीय र तृतीय श्रेणीका टिकटको मात्र व्यवस्था थियो । ‘जीवनरेखा’ चल्दा दलालहरुले त्यतिखेरै स्पेसल वा फस्र्ट क्लास टिकटको ५०\६० रुपियाँसम्म भन्थे, जब कि ०४३ सालसम्म खास मूल्य सेकेन्ड क्लासको तीन मोहोर र थर्ड क्लासको एक रुपियाँ मात्र थियो ।
त्यसको दुई वर्षपछि मात्र अर्थात ०४० साल, वर्षामासको कुनै दिन मैले पहिलो पल्ट जय नेपाल हलमा सिनेमा हेर्न पाएको थिएँ । त्यो थियो हिन्दी फिल्म ‘लभ स्टोरी ।’ त्यस बेला म पारीगाउँ दधिकोटस्थित अरनिको माविमा कक्षा छ पढ्थे । संयोगले त्यो दिन दिदी र उनका एक हुल साथीहरुसँग म पनि पशुपति गएको थिएँ । त्यसपछि फिल्म हेर्ने कुरा भयो । कहाँ जाने ? हल कसैले देखेको थिएन । कुन फिल्म हेर्ने ? त्यो पनि थाहा थिएन । ट्याक्सीवालाले ‘लभ स्टोरी’ हेर्नु भनेर नक्सालस्थित जय नेपाल हल लगिदियो । नजिकको हल पनि त्यही थियो । त्यहाँ पनि भीड त्यत्तिकै थियो । सिनेमाबाहेक मनोरञ्जनको कुनै साधन नभएको युगमा यस्तो सफल फिल्ममा भीड हुनु स्वभाविक थियो । टिकट ब्ल्याक गर्ने दलालको दादागिरी उस्तै थियो । हामीले ब्ल्याक टिकट किन्नुपरेको थियो ।
फिल्म हेरेपछि म त्यसका नायक कुमार गौरवको कति ठूलो प्रशंसक भएँ, उनी जति ठूला र हिट हिरो मलाई कोही छैन जस्तो लाग्थ्यो । अमिताभ बच्चन, मिथुन चक्रवर्ती जस्ता सबै हिरो उनकै प्रतिछाया जस्तो लाग्थे । पछि मात्र थाहा पाएँ, फिल्म व्यावसायिक रुपले सफल भएपनि उनी हिन्दी फिल्मका औसत नायक रहेछन् । उनलाई स्थापित गराउन त्यस बेलाका ठूला नायक उनका पिता राजेन्द्र कुमारले यो फिल्म बनाएका थिए ।
‘लभ स्टोरी’मा के थिएने ? जनसाधरणले फिल्ममा खोज्ने मनोरञ्जनका सबै सूत्र थिए । हिरो– हिरोइनको नोकझोक, द्वन्द्व, प्रेम, बिछोड, भावुकता, मिलन सबै–सबै । त्यपछि मैले यस फिल्मको गौरवगाथा सहपाठी, गाउँले साथी र दाजुका साथीहरुलाई खुब सुनाएँ । भिडियोमा फिल्म हेरेर र ‘मायापुरी’ पढेर मूलधारका हिन्दी सिनेमाबारे सम्पूर्ण जानकार दाजुका साथीहरु मेरा कुरा स्नेर मुसुमुसु हाँस्थे ।
फिल्मको लत
‘लभ स्टोरी’ले मलाई फिल्मको लती बनायो । त्यसपछि भक्तपुरका गल्लीहरुमा देखाइने भिडियोमा नियमित रुपमा हिन्दी फिल्म हेर्न थाले । पहिलो पल्ट कुन फिल्म हेरें, मिथुन चक्रवर्तीको ‘डिस्को डान्सर’ हो कि ! पछि त कति हेरें, गनिसाध्य भएन । एउटै फिल्म दिनभरी बसेर तीन पल्टसम्म पनि हेर्थें । सथीहरुबिच सबैभन्दा धेरै फिल्म हेरेर म कीर्तिमान कायम गर्न चाहन्थे । हलवालाले चिनियाँ कुङ्फु भनेर हामीलाई अश्लील फिल्मसमेत देखाइदिन्थे ।
त्यसअघि नै नेपालमा ‘सिन्दूर’, ‘जीवनरेखा’, ‘कान्छी’ जस्ता नेपाली फिल्मको कत्रो चर्चा थियो । कति हिट थिए । ‘वासुदेव’को कत्रो प्रशंसा भएको थियो ! लुभुवासी चन्द्र भिन्लाइ (भिँचा दाइ) मामाघर आउँदा ती फिल्मका एकएक कथा र दृश्य वर्णन गर्थे । ‘सिन्दूर’देखि ‘जीवनरेखा’ सम्मै उस्तै भूमिकामा खेलाइएका गोपालराज मैनाली–वसुन्धरा भुसालका हाँस्य दृश्यहरु उनी पार लाई–लाई बताउँथे । त्यो सुन्दा फिल्म हेर्न हामी कति लोभिन्थ्यौं । तर हामीसँग न पैसा हुन्थ्यो, न एक्लै हलमा गई टिकट काटेर फिल्म हेर्ने साहस ।
नेपालमा हिन्दी फिल्मको दबदबा ऊ बेलादेखि अहिलेसम्म उस्तै छ । अहिले जस्तो ऊ बेला हिन्दी फिल्म संसारभरि एकसाथ रिलिज हुँदैनथे । भारतमा धेरै हिट भएका फिल्महरु यहाँका हलहरुमा धेरैपछि मात्र आइपुग्थे । ती यहाँ पनि उसैगरी भीडका साथ चलिरहेका हुन्थे । यस्तो बेला कुनै नेपाली फिल्म लामो समय चल्नु यहाँ ठूलो खबर बन्थ्यो ।
बिएस थापाले निर्देशन गरेको ‘माइतीघर’ व्यावसायिक रुपले सफल पहिलो नेपाली फिल्म थियो । प्रेमबहादुर बस्नेतले ०३४ सालमा निर्देशन गरेको पहिलो रङ्गीन नेपाली फिल्म ‘कुमारी’ खासै सफल भएन । तर ०३७ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले बनाएको ‘सिन्दूर’ नेपालमा हिन्दी फिल्मलाई नै बिर्साउने गरी सफल भएको पहिलो फिल्म थियो । यो फिल्म ५२ साता लगातार चलेर गर्विलो इतिहास बनाएको थियो । बम्बईबाट फर्केका प्रकाश थापाले निर्देशन गरेको यो फिल्म नेपाली नारीको मार्मिक कथा, सुमधुर सङ्गीत र मनोरञ्जक हाँस्यका कारण अत्याधिक सफल भएको थियो । त्यसबाट हौसिएका थापाले लगत्तै शिव श्रेष्ठ र मीनाक्षी आनन्दलाई लिएर अर्को फिल्म ‘जीवनरेखा’ बनाए । केशवराज पिँडालीको उपन्यास ‘अन्त्यबाट सुरुमा’ आधारित यो फिल्म प्रेम र पारिवारिक मिलन–बिछोडको मार्मिक कथा, हास्य अनि अम्बर गुरुङको सुमधुर सङ्गीतले लगभग ‘सिन्दूर’ जत्तिकै सफल भएको थियो । यी दुई फिल्मको सफलता नेपाली सिनेमा निर्माणका लागि युगान्तकारी सावित भयो । यसले फिल्म निर्माणमा निजी क्षेत्रका कम्पनी आकर्षित भए ।
त्यसपछि पनि बिएस थापाको ‘कान्छी’, शम्भु प्रधानको ‘सम्झना’, तुलसी घिमिरेको ‘कुसुमे रुमाल’ लगायत फिल्म धेरै सफल भए । ‘कुसुमे रुमाल’ जय नेपाल हलमा लगातार छ महिनाभन्दा बढी चलेको थियो ।
त्यतिखेर पुराना भए पनि हित फिल्म बारम्बार दोहोरिएर चल्थे । ‘सिन्दूर’, ‘जीवनरेखा’, ‘कान्छी’, ‘कुसुमे रुमाल’, ‘सम्झना’ आफ्नो समयका सर्वाधिक सफल फिल्म थिए ती चारै फिल्म मैले पछि फेरि हलमा आएपछि मात्र हेरेको हुँ । नवदुर्गा हलमा ‘जीवनरेखा’, ‘कुसुमे रुमाल’, ‘सन्तान’, ‘दर्पणछायाँ’, ‘दुई थोपा आँसु’ जस्ता फिल्म स्वच्छ मनोरञ्जनका हिसाबले मलाई अहिले पनि स्मरणीय लाग्छन् ।
यस्ता फिल्म बनाउनेमा पहिले प्रकाश थापा थिए । पछि तुलसी घिमिरे थपिए । तुलसी मनोरञ्जनका साथै त्यसमा सिर्जनात्मकता थप्नमा माहिर थए । अभिनेताकै रुपमा पनि उनी निकै राम्रा थिए । ‘दक्षिण’ उनको अविस्मरणीय फिल्म थियो । यी दुई निर्देशकबीच अनौठो प्रतिस्पर्धा थियो । घिमिरे प्रतिस्पर्धा भावलाई फिल्मबाटै जवाफ दिन्थे । तर थापा उनका विरुद्ध मिडियाबाजीमै उत्रन्थे । यता नायकमा शिव श्रेष्ठ र भुवन केसीबीच उस्तै प्रतिस्पर्धा थियो । दुवैका उत्तिकै प्रशंसक थिए । खासगरी युवतीहरु भुवनका प्रशंसक थिए भने युवाहरु शिवका । दुवैमा केही समान र केही पृथक् विशेषता थिए ।
नेपाली फिल्मको लोकप्रियता
मधयवर्गीय सहरिया ठिटाठिटी हिन्दी, नेपाली जुनसुकै नयाँ फिल्म हेर्न हल पुग्थे । यीमध्ये कतिपय पुरुष यस्ता पनि थिए, जो काठमाडौं, पोखरा, हेटौंडादेखि नै नयाँ हिन्दी फिल्म हेर्न रक्सौलसम्म पुग्थे । सम्भ्रानतहरुको त घरघरमै डेक हुन्थयो । भक्तपुर बजारमा भने धेरैजसो व्यक्ति त्यस बेला किसान नै थिए । तर ती हिन्दी–नेपाली दुवै फिल्ममा राम्रै अभ्यस्त भइसकेका थिए ।
गाउँघरका धेरैजसो युवा, किशोर र केटाकेटीलाई समेत खेतीकिसानीबाट मुस्किलले मुक्ति मिल्थ्यो । नेपाली फिल्म आएपछि भने तिनीहरुबीच अनौठो खासखुस चल्थ्यो । शिव श्रेष्ठ–मिनाक्षी आनन्दको फिल्म आएको छ, हे¥यौ ? मीनाक्षीभन्दा पनि शर्मिला शाह राम्री ! फलानो फिल्ममा भुवन केसी–तृप्तिको जोडी कति सुहाएको, हे¥यौ ? यस्तो खासखसु खुब चल्थ्यो । बूढाबुढीको कुरा बेग्लै, ठिटाठिटी र केटाकेटी भने ठूलो समूह बनाएरै फिल्म हेर्न पुग्थे ।
गाउँघरबाट फिल्म हेर्न जानेहरु पहिरनबाट अलग्गै चिनिन्थे । धेरैजसो महिला धोती र चोलोमै देखिन्थे । केहीले भने हाकु–पतासीमा सजिएका हुन्थे । विद्यार्थीहरु स्कुल छाडेर समेत आउँथे । गाढा नीलो प्यान्ट्स वा फ्रक र अकासे नीलो सर्टमा ती धेरैजसो नजरको तारो बन्थे ।
‘सिनदूर’ फिल्ममा नायक विश्व बस्नेतको नाम विकास र मीनाक्षी आनन्दको नाम उषा थियो । त्यसताका जन्मने कतिपय बालबालिकाको नामै विकास र उषा राखिएका थिए । पत्नीको नाम उषा छ भने पतिको नाम जे भए पनि ऊ विकास नामले चर्चित हुन्थ्यो । ठीक त्यसैगरी पतिको नाम विकास छ भने पत्नीले स्वतः उषा नाम पाउँथी । पछि ‘जीवनरेखा’ आएपछि शिव श्रेष्ठ र मीनाक्षी आनन्दको लोकप्रिय जोडीबाट प्रभावित भएर केटाकेटी र कतिपय जोडीको नाम अमित र उमा हुन्थे ।
‘कान्छी’ फिल्मबाट शर्मिला शाह कति लोकप्रिय भइन् भने उनी आफ्नो नामभन्दा कान्छी नामबाटै बढी चिनिइन् । निर्दोष अनुहारका सुन्दर युवतीलाई कान्छी भन्ने लहर नै चलेको थियो । यसबाट तत्कालीन नेपाली फिल्महरु जनस्तरमा कति प्रिय थिए भन्ने स्पष्ट हुन्छ ।
निश्चय पनि रामबाबु गुरुङ, निश्चल बस्नेत, खगेन्द्र लामिछानेहरुले बनाएका फिल्म अहिले लोकप्रिय छन् । तर मनोरञ्जनको विविध माध्यम भएको युगमा यी निर्देशकका पात्रहरु जनमानसमा त्यसरी स्थापित छैनन् ।
प्रिय नेपाली फिल्म
नेपालीमध्ये हरेक दृष्टिले उत्कृष्ट मान्न सकिने फिल्म भने ‘नुमाफुङ’ हो । तर मलाई अहिले पनि ‘वासुदेव’ सर्वाधिक प्रिय लाग्छ । त्यतिखेर कृष्ण मल्ले बोल्ने संवाद ‘मेरो नामै प्रेम, कामै प्रेम’ युवाबीच खुब लोकप्रिय थियो । हास्य पाटो राख्नैपर्ने, प्रेमको मसला घुसाउनैपर्ने सूत्रबाट यो फिल्म मुक्त पनि थिएन । तर यसले उत्तराद्र्ध पञ्चायतकालको मानसिकता, चित्र, चरित्र र मानवीय संवेदनाको हरिबिजोग जुन गहिराइसाथ देखाउँछ, त्यो कुनै पनि नेपाली फिल्ममा देख्न पाइन्न । मलाई अहिले पनि स्वाभिमानी, सत्य पक्षधर तर पराजित हरेक व्यक्ति वासुदेव र दुष्ट तर द्रूत प्रगति गर्ने हरेक व्यक्ति कुमार जस्तै लागछ । यी दुईको भूमिकामा क्रमशः हरिहर शर्मा र नीर शााहले जीवन्त अभिनय गरेका छन् ।
‘सिन्दूर’ फिल्मको कथा र परिवेश अहिले म उति राम्ररी सम्झिन्नँ । ‘जीवनरेखा’ र ‘कुसुमे रुमाल’ गम्भीर फिल्म होइनन् । तर तिनका एकएक दृश्य अहिले पनि सम्झन्छु । राणा खानदानको उच्च अहङ्कार पालेकी एक महिलाका कारण पारिवारीक विघटन अनि सुकुमार वयका एक जोडी (शिव श्रेष्ठ र मीनाक्षी आनन्द) को अनिन्द्य प्रेमकथा ‘जीवनरेखा’का खास आकर्षण थिए । केटाकेटीमा हामी बाको पछि लागेर भक्तपुरबाट ट्रली बस चढेर त्रिपुरेश्वरमा ओर्लिई सङ्कटाको दर्शन गरेर कमलादी, कमलपोखरी, ज्ञानेश्वर हुँदै गौशालास्थित कान्छी निनीकहाँ पुग्थ्यौं । ‘जीवनरेखा’मा शिव श्रेष्ठले फुटबल खेलेको साने गौचरण, कोदे घाँस उम्रिएको, बिनापिचको त्यो धूले बाटाकोे, पातलो बस्ती आदिको चित्रणले मेरो चिर बाल्यकालसँग साक्षातकार गराउँछन् । ‘कुसुमे रुमाल’मा भने एउटा निम्नवर्गको व्यक्तिको निर्दोष प्रेम र त्रासले मलाई भावुक बनाउँछ । तत्कालीन धनकुटाको परिवेश यसमा राम्ररी चित्रण भएको छ । केही वर्षअघि धनकुटाको कचिडेमा म साहित्यकार झमक घिमिरेलाई भेट्न गएको थिएँ । त्यस क्रममा ‘कुसुमे रुमाल’मा उदार सामन्तको भूमिकामा रहेका नीर शाहको भनी देखाइने घर पुग्दा त्यस फिल्मका दृश्य आँखा वरिपरि फनफनी घुमिरेका थिए ।
उपत्यकामा सिनेमा हल
त्यस बेला काठमाण्डौं उपत्यकामा जम्मा छ ओटा हल थिए । भक्तपुरमा नवदुर्गा, पाटनमा अशोक गरी एक एक ओटा अनि काठमाडौंमा रञ्जना, विश्वज्योति, कुमारी र जय नेपाल गरी चार ओटा । कुमारी र अशोक बाहेक सबै हल लगभग जीर्ण थिए । अहिलेका मल्टिप्लेक्स हलहरुमा अगाडि वा पछाडि जताको सिट भए पनि टिकट मूल्य फरक हुँदैन । उति बेला छ थरी टिकट हुन्थे–ड्रेस सर्कल, बाल्कोनी, स्पेसल, फस्र्ट, सेकेन्ड र थर्ड क्लास । रेडियो नेपालले कुन हलमा के चलिरहेछ भनेर बारम्बार विज्ञापन फुक्थ्यो । रेडियो नेपाल अत्याधिक लोकप्रिय रहेको समय थियो त्यो ।
हाम्रो गाउँ गुन्डुबाट भक्तपुर बजार पुग्न छिटो हिँड्दा आधा घण्टा लाग्थ्यो । बजार जाँदा म अनिवार्य रुपले नवदुर्गा हल पुग्थें । काठमाडौं गएका बेला हिँडेर चारै ओटा हल पुग्थें । फिल्म हेर्न होइन, चलिरहेको फिल्म र आउनेवाला फिल्मको पोस्टर हेर्न । फिल्म हेर्न त हामी गाउँले बालबालिकासँग बिरलै पैसा हुन्थ्यो । त्यसमाथि गाउँघरतिर फिल्म हेर्नुलाई उत्ताउलो काम मानिन्थ्यो । फिल्म हेरेर केटाकेटी, ठिटाठिटी बिग्रन्छन् ठानिन्थ्यो । तथापि नयाँ नेपाली फिल्म आउँदा ठिटाठिटी समूह बनाएर बाबुआमाको आँखा छल्दै फिल्म हेर्न हल धाउन थालेका थिए ।
गाउँको स्कुलबाट ०४२ सालमा म भक्तपुरको विद्यार्थी निकेतन सरेपछिको कुरा । तत्कालीन नवदुर्गा हलको कुरा गरौं । भक्तपुरको इताछँस्थित न: पुखुको पूर्वतिर विशाल पर्खालभित्र दुई भागमा हल बाँडिएको थियो । न: पुखु त्यतिखेर सारै फोहोर थियो, अहिले जस्तो आकर्षक थिएन । हलको बाहिरपट्टि विशाल प्राङ्गण थियो, जहाँ टिकट काट्ने ठाउँ र खुद्रा पसल थिए । हलमा हाफ टाइम हुँदा फलामको ठूलो गेटबाहिरबाट पसलेहरु चिच्याउँदै दर्शकलाई खानेकुरा बेचिरहेका हुन्थे । टिकट देखाएर फलामको ठूलो ढोका नाघेर भित्र छिर्ने ठाउँ थियो । भित्र पनि हलको चारैतिर विभिन्न संरचना थिए । फिल्म हेर्ने पैसा नहुँदा हामी ढोकामा कान थापेर भित्र चलेको फिल्मको संवाद सुन्थ्यौं ।
पूर्वी भागमा अत्यन्त फोहोर शौचालय थियो । बाँकी भागमा प्रतीक्षालय थियो । हाफ टाइमपछि हलमा टिकट जाँच हुँदैनथ्यो । हामी त्यसको फाइदा उठाउँथ्यौं । हाफ टाइम हुनु आधा घण्टा जति अघि स्कुलबाट भागेर प्रतीक्षालयमा बस्थ्यौं । पाँच मिनेट बाँकी छँदा पालेले प्रतीक्षालयमा बसेका सबैलाई फलामे ढोकाबाहिर निकाल्थ्यो । ठीक त्यसै बेला हामी शौचालय पस्थ्यौं । अत्यन्त गन्हाउने हुनाले त्यहाँभित्र जाँच गर्न पाले बिरलै छिथ्र्यो । हामी झन्डै १० मिनेट लगभग सास रोकेर, नाक थुनेर टाउको फुट्ला झै चर्को युरिया गन्ध सहेर बसिरहन्थयौं । त्यस बेलाको मनोदशा वर्णन गरि नसक्नुको हुन्थ्यो । शौचालयभित्र पाले छिर्ला र हामीलाई कठालो समाउँदै घोक्रायाएर फलामको गेटबाहिर निकाल्ला भन्ने त्राहित्राहि हुन्थ्यो ।
हाफ टाइममा दर्शक बाहिर निस्केपछि भने उनीहरुसँगै हामी बाहिर निस्केर चिसो हावामा सास फेथ्यौं र भित्र पसेर सेकेन्ड हाफ फिल्म हेथ्यौं । खासगरी नयाँ फिल्म लागेको दिन वा त्यसको भोलिपल्ट हामी यसरी अनिवार्य रुपले पछिल्ला आधा फिल्म हेथ्यौं । क्लाइमेक्स सबै सेकेन्ड हाफमै हुने हुँदा फिल्म कस्तो छ भन्ने लगभग थाहा हुन्यो । राम्रो छ भने पूरै फिल्म हेर्न कसैगरी पैसा जुटाइन्थ्यो । शिव श्रेष्ठ र राजश्री क्षत्री अभिनीत ‘विश्वास’, मौसमी मल्ल–रवीन्द्र खड्का अभिनीत ‘मायाप्रिति’, पुरानो हिन्दी फिल्म ‘भाभी’, ‘आरजू’, ‘गँवार’ लगाय थुप्रै फिल्म मैले सेकेन्ड हाफ हेरेर मात्र पछि पूरै हेरेको थिएँ ।
हलभित्र काठको साह्रो न साह्रो सिट हुन्थ्यो । मल्टिप्लेक्सको आरामदायी गद्दामा बसेर फिल्म हेर्ने बानी परेका अहिलेका युवायुवतीले त्यस्तो सिटको कल्पना समेत गर्न सक्दैनन् । उत्ताउला ठिटाहरुले हिप अड्याउने वा अडेस लाग्ने ठाउँमा चपाएर गुलियो सकिएको चुइँगम टाँसेर हिँडेको हुन्थे । सिटमा बस्नुअघि त्यसको अनिवार्य जाँच गर्नुपथ्र्यो । नत्र पाइन्ट वा सर्टमा टाँसिएको चुइँगम निकाल्न मुस्किल पथ्र्यो । फिल्म चल्दाचल्दै झ्यारझ्यार आउने, धवनि नआउने, दृश्य गायब हुने, बत्ती जाने त सामान्य भइहाले । तैपनि फिल्म हेर्नुको मजासामु यी साना समस्या केही थिएनन् ।
हिरोइनलाई खलनायकले सताइरहेका बेला हिरो आउँदा, हिरोले डाँकुलाई भकुर्दा वा पीडित कुनै पात्रलाई उद्धार गर्ने अर्को पात्र आउँदा ताली र सिटी कति बज्थे भने त्यसपछिका संवाद नै सुन्न पाइन्थ्यो । तैपनि हामी स्वयम् न्वारनदेखिको बल निकालेर ताली ठोक्थ्यौं । उपत्यकाका सबैजसो हलको माहोल लगभग यस्तै हुन्थ्यो ।
प्रजातन्त्र पुनःस्थापनाको पौने दशक नपुग्दै नेपालमा सिनेमा हलहरु निकै खुले । देशकै सबैभन्दा सानो जिल्ला भत्तपुरमा मात्रै झन्डै पौने दर्जन हल भए । काठमाडौं र ललितपुरमा लगभग एक वर्गकिमीमा एउटा हल खुले । जसरी खुले उसैगरी चाँडै नै बन्द पनि भए । भक्तपुरमा अहिले परम्परागत उएटै मात्र हल सञ्चालनमा छ, कमलविनायक हल । नवदुर्गा, भीमसेन, लक्ष्मी, अमर, सूर्यविनायक ऊ बेलै बन्द भएका । तीमध्ये धेरैमा अहिले पार्टी प्यालेस छन् । बाराही मुभिज पनि हालसालै बन्द भएको छ । अर्को सक्रिय हल भनेको राधेराधेस्थित भाटभटेनीभित्रको मलिटप्लेक्स हल छ । पाटनढोकास्थित अशोक हल पनि ऊ बेलै बन्द भएको हो । विश्वज्योति र रञ्जनामा सपिङ कमप्लेक्स बने । दुवैमा अहिले मल्टिप्लेक्स हल मात्र छन् । नेपालको पहिलो सिनेमा हल जय नेपाल हो । त्यसको नवीकरणसँग मल्टिप्लेक्सको दौर सुरु भयो ।
फिल्म क्रेज
साठीको दशकसम्म नेपालमा अन्तर्राष्ट्रिय स्तरका सिनेमा हेर्न बिरलै पाइन्थ्यो । हलमा नियमित चल्ने धेरैजसो हिन्दी, यदाकदा नेपाली र कहिलेकाहीँ ‘किङ्कङ’ वा सिल्भरस्टार स्टोलनका ‘रकी’ मार्का हलिउड फिल्म । फिल्म पढेर आउने लक्ष्मीनाथ शर्मा जस्ता केहीले मात्र अन्तर्राष्ट्रिय स्तरका फिल्म हेर्न पाएका थिए । शर्माको किताब ‘चलचित्रकला’ पढेपछि ममा विश्वका यस्ता महान् फिल्म हेर्ने ठूलो तिर्सना थियो । तर कहीँ पाइन्नथ्यो ।
नेपालमा सन् १९९४ मा पहिलो पल्ट र सन् १९९५ दोस्रो पल्ट अन्तर्राष्ट्रिय फिल्म उत्सव आयोजना भयो । यी दुई उत्सवमा मैले तिर्सनाको सानो भाग मेट्ने अवसर पाएँ । सत्यजित रेको ‘पाथेर पाञ्चाली’, एलेन रेनको ‘हिरोसिमा मोन अमोर’ चार्ली चयाप्लिनको ‘सिटी लाइट्स’, लुकिनो बिस्कोनतीको ‘रोको एन्ड हिज ब्रदर्स’, फेडेरिको फेलिनीको ‘ला डोल्चे भिता’ जस्ता युगान्ताकारी फिल्म मैले यिनै उत्सवमा पहिलो पल्ट हेर्न पाएँ । तत्कालीन रुसी सांस्कृतिक केन्द्रमा ‘पाथेर पाञ्चाली’ हेर्ने मुस्किलले हामी १५ जना थियौं, जब कि त्यही बेला कुमारी हलमा एउटा सस्तो हिन्दी फिल्म असम्भार भीडका साथ चलिरहेको थियो ।
रिचर्ड एटेनबरोको ओस्कार विजेता फिल्म ‘गान्धी’ हेर्नेको संख्या भने ठूलो थियो । लगभग चार घण्टाको यो फिल्म सकिँदा रातको १० बजेको थियो । कमलपोखरीदेखि भक्तपुरको गुन्डुसम्म हिँड्दै घर पुग्दा मध्यरातको साढे १२ बजिसकेको थियो । फिल्मप्रतिको यो आसक्ति सम्झँदा आज पनि रोमाञ्चित हुन्छु । त्यस बेलाका सीमा अनेक थिए । तर त्यसको मज्जा बेग्लै थियो ।
नेपाल चलचित्र निर्माता संघको सिनेमा विशेषाङ्कबाट साभार