निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्र ‘महाराजधिराज’को छायांकन सुरु भएको छ । गत मंगलबार शुभमुहूर्त गरिएको चलचित्रको छायांकन सुनसरीबाट आरम्भ गरिएको निर्माण टिमले जनाएको छ ।
चलचित्रको पहिलो चरणको छायांकन सुनसरीस्थित श्रीलंका टापुमा भइरहेको छ । उक्त स्थानमा एक सातासम्म छायांकन गरिनेछ भने त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा आकर्षक स्थानमा बाँकी दृश्य खिचिनेछन् । निर्माण टिमका अनुसार चलचित्रको सम्पूर्ण छायांकन ७० दिनसम्म चल्नेछ ।
‘महाराजधिराज’ सामाजिक तथा पिरियड ड्रामामा आधारित चलचित्र रहेको निर्देशक सेनले बताएका छन् । चलचित्रको छायांकन नबराज थापा ले गरिरहेका छन् ।
चलचित्रमा कलाकार आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डीसी र सुशील सिटौला लगायतको अभिनय रहनेछ ।
यस्तै, चलचित्रमा नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, कविता पुरी, सृष्टि खड्का, कमल देवकोटा लगायत गरी करिब ८० जना कलाकारको अभिनय रहने जनाइएको छ ।
विराज विष्ट प्रस्तुतकर्ता रहेको चलचित्र छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । चलचित्रको कथा तथा लेखन निर्देशक सेन स्वयंले गरेका हुन् भने निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन् ।
निर्माण टिमले ‘महाराजधिराज’लाई आगामी फूलपातीको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ ।