--माधब राज खरेल
नेपालको चलचित्र क्षेत्रलाई एउटा सामान्य क्षेत्रको रुपमा भन्दा पनि बृहत्तर उद्योगको रुपमा बुझिनु पर्दछ । यो उद्योगबाट बन्ने चलचित्रहरुले केवल पर्दामा देखाइने कथा मात्र भन्दैनन्, यसले त नेपाली समाजको जीवन, दर्शन, भावना, सभ्यता, संस्कृति, इतिहास, संघर्ष र सपनाको जीवन्त अभिव्यक्ति लाई उजागर समेत गर्दछ । एउटा चलचित्रले समाजलाई हँसाउन, रुवाउन, सोच्न र परिवर्तनतर्फ प्रेरित गर्न सक्छ र करोडको मासलाई एकै पटक दिशा सिनर्देश गर्ने ल्याकत चलचित्रले राख्दछ । त्यसैले चलचित्रलाई केवल मनोरञ्जनको साधनका रूपमा हेर्नु पर्याप्त हुँदैन । यो त राष्ट्रको सांस्कृतिक पहिचान, सिर्जनात्मक अर्थतन्त्र र अन्तर्राष्ट्रिय छविसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो र यसलाई हामीले राष्ट्रिय प्रचार प्रसाको गतिलो माध्यामको रुपमा लिनु पर्दछ ।

आज नेपाली चलचित्र उद्योग एकातिर नयाँ सम्भावनाको मोडमा उभिएको छ भने अर्कोतिर अनेक चुनौतीसँग संघर्ष गरिरहेको छ । प्रविधिको विकास, नयाँ पुस्ताको आगमन र अन्तर्राष्ट्रिय पहुँचको सम्भावनाले चलचित्र क्षेत्रलाई नयाँ दिशा दिइरहेको छ, अझ भन्नु पर्दा यसले संभावना ढोकाहरु सवैले सुन्ने गरि ढक्डकाएको छ । चाहे त्यो बर्लिन फिल्म फेष्टिवल होस् वा कान्स, संघाई, टोरेन्टो जस्ता ठुला ठुला फिल्म फेष्टिवलहरु हुन् सबैको नजरमा पर्न नेपाली फिल्म मेकरहरुले आफ्नो बल बुँताले भ्याउ सम्म गरेकै छन् । तर, अनावश्यक राजनितिक प्रोपोगाण्डा, मिडिया अल्गोरिदम, नीतिको अभाव, कमजोर बजार तथा बजार ब्यवस्थापन, विदेशी चलचित्रको दबाब, सीमित पूर्वाधार र कलाकार–प्राविधिकहरूको असुरक्षित अवस्थाले उद्योगलाई अपेक्षित उचाइमा पुग्न कठिन बनाइरहेको छ । यस्तो अवस्थामा नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र संरक्षणबारे गम्भीर बहस र प्रभावकारी पहल अपरिहार्य बनेको छ ।
नेपाली चलचित्र उद्योगले लामो संघर्षको यात्रा तय गरेको छ । सीमित स्रोत–साधन, कमजोर प्रविधि र सानो बजारका बीच पनि नेपाली चलचित्रकर्मीहरूले आफ्नो सिर्जनशीलतालाई जीवित राखेका छन् तथा सकसपुर्ण तवरले भएपनि निरन्तरता दिँदै आएका छन् । विगतमा चलचित्र निर्माण केवल सीमित व्यक्तिहरूको पहुँचमा थियो । तर अहिले डिजिटल प्रविधिको विस्तारसँगै नयाँ पुस्ताले फरक सोच, शैली र कथावस्तु लिएर चलचित्र क्षेत्रमा प्रवेश गरिरहेका छन् । पछिल्ला केही वर्षमा नेपाली चलचित्रले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा उपस्थिति जनाउन थालेका छन् । केही चलचित्रले विदेशी दर्शकको ध्यान आकर्षित गरेका छन् । यसले नेपाली चलचित्रको सम्भावना केवल देशभित्र सीमित नरहेको स्पष्ट देखाउँछ । नेपाली समाजका यथार्थ, ग्रामीण जीवन, संस्कृति, राजनीतिक परिवर्तन, वैदेशिक रोजगारी, पारिवारिक सम्बन्ध र सामाजिक द्वन्द्वजस्ता विषयले विश्व दर्शकसमेत प्रभावित पार्न थालेका छन् । तर विडम्बना के छ भने, यति ठूलो सम्भावना हुँदाहुँदै पनि नेपाली चलचित्र उद्योग अझै पनि व्यवस्थित हुन सकेको छैन ।
हामीले नियालेका नेपाली चलचित्र क्षेत्रका मुख्य चुनौतीहरू:
कमजोर नीति र राज्यको उदासीनता
नेपालमा चलचित्र उद्योगलाई अझै पनि पूर्ण रूपमा “उद्योग” को मान्यता दिने व्यवहारिक वातावरण निर्माण हुन सकेको छैन । चलचित्र क्षेत्रलाई आवश्यक दीर्घकालीन नीति, कर सहुलियत, लगानी सुरक्षा तथा पूर्वाधार विकासमा राज्यको ध्यान पर्याप्त देखिँदैन । सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्तिले पनि चलचित्र क्षेत्र अस्थिर बन्न पुगेको छ । हुनत पछिल्लो समय चलचित्र विकास बोर्डले अध्यष दिनेश डि.सी. को नेतृत्वमा निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्र र यससँग जोडिएका चलचित्रकर्मीहरुको हक हितको लागी प्रसस्तै कामहरु गर्दै आएको छ । चलचित्रकर्मीहरुको क्षमता अभिबृद्धिका कार्यहरु, निति नियम तथा कानुनको संसोधन लगाएतका विविध विषयहरु सरोकारवालाहरुसँगको छलफल र राज्यका कानुन बनाउने निकायहरुहरुलाई झक्झकाउने कार्यहरु पनि भैरहेका छन् । फलस्वरुप राष्ट्रिय सभाबाट कानुन संसोधन गर्ने कार्य भैसकेको छ । प्रतिनिधि सभामा दफावार छलफल भैरहेको छ भने निकट भविश्यमै कानुन संसोधन भएर नेपाली चलचित्र क्षेत्रले आफ्नो मुर्त कानुन पाउनेछ भन्नेमा चलचित्रकर्मीहरु आशावादी रहेका छन् ।
विदेशी चलचित्रसँग असमान प्रतिस्पर्धा
विगत देखी नै नेपाली चलचित्रहरुले हलमा आफ्नो स्थान सुरक्षित गर्न कठिन अवस्थाबाट गुज्रनु परेको तीतो यथार्थ सवै निर्माताहरु सामु सपष्ट नै छ, कति निर्माता यस विषयमा खुलेर बोल्छन भने कतिले त कोहि रिसाउँछ कि भनेर मौनता साँधेर बस्ने गरेका छन् । ठूलो बजेट, शक्तिशाली प्रविधि र आक्रामक प्रचारसहित आउने विदेशी चलचित्रहरूसँग नेपाली चलचित्र प्रतिस्पर्धा गर्न बाध्य छ । परिणामस्वरूप धेरै नेपाली चलचित्रले प्रदर्शनको पर्याप्त अवसर नै पाउँदैनन् । हुन त विश्वब्यापी ब्यवसायिक स्वतन्त्रता सवैको अधिककार हो तर नेपाली चलचित्रको हकमा यसलाई अलि फरक ढंगले सोच्नु पर्दछ, यदि यस क्षेत्रलाई साँच्चिकै उद्योग बनाउने हो भने र विदेशी चलचित्रको प्रभावलाई कम गर्ने हो भने आयातित चलचित्रहरुलाई कोटा प्रणालि मार्फत प्रदर्शन गरिनु पर्दछ । “के राज्य यसको लागी तैयार छ त ?”
क्लिप्स पाइरेसी र डिजिटल चुनौती
चलचित्र रिलिज भएको केही समयमै अवैध रूपमा चलचित्रका क्लिप्सहरु इन्टरनेटमा फैलिने पाइरेसी नेपाली चलचित्र उद्योगको ठूलो समस्या बनेको छ । यसले निर्माताको लगानी जोखिममा पारिरहेको छ । डिजिटल प्लेटफर्मको सही व्यवस्थापन र कानुनी नियन्त्रण अझै प्रभावकारी बन्न सकेको छैन । यसलाई राज्यले सिघ्रादि सिघ्र रुपमा कडा कानुन बनाई निर्माताहरुको लगानीलनई सुरक्षित बनाउनु पर्दछ ।
कलाकार र प्राविधिकहरूको असुरक्षित भविष्य
चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका धेरै कलाकार तथा प्राविधिकहरूको आर्थिक र सामाजिक अवस्था अझै कमजोर छ । चलचित्रका काम गरेको पारिश्रमिक नपाएको गुनासो सामाजिक सञ्जाल र मिडया मार्फत सुनिँदे आउका छन् । यसलाई व्यवस्थित गर्नको लागी राज्यको निकाय अर्थात चलचित्र विकास वोर्डले एउटा कार्यविधि बनाएर नियमित रुपमा पारिश्रमिक, बीमा, स्वास्थ्य सुरक्षा तथा सम्मानजनक श्रम वातावरणको भए नभएको निगरानी गर्ने र नगरेको भए गराउने सम्मको कार्य गर्नु पर्ने आवश्यकता रहेको देखिन्छ । जसले गर्दा प्रतिभाशाली चलचित्रकर्मीहरु यस क्षेत्रबाट पलाएन हुन रोक्न सकियोस् ।
चलचित्र क्षेत्रको विकासको लागी गुणस्तरीयता र मौलिकता कथा
चलचित्रको आत्मा यसको कथा हो । नेपाली चलचित्रले विदेशी शैलीको नक्कलभन्दा पनि आफ्नै समाज, संस्कृति र जीवनभोगाइलाई केन्द्रमा राख्नुपर्छ । मौलिक कथाले मात्र नेपाली चलचित्रलाई विश्व बजारमा फरक पहिचान दिलाउन सक्छ । नेपालको गाउँ, हिमाल, भाषा, लोकसंस्कृति, मिथक, इतिहास र सामाजिक यथार्थ विश्वका लागि नयाँ र आकर्षक विषय बन्न सक्छन् । त्यसैले नेपाली चलचित्रले आफ्नै मौलिकताको शक्ति बुझ्न आवश्यक छ ।
क्षमता अभिबृद्धि, प्राविधिक दक्षता र आधुनिक प्रविधि
विश्वस्तरको चलचित्र निर्माणका लागि आधुनिक छायांकन, ध्वनि, सम्पादन, भिजुअल इफेक्ट्स र स्क्रिनप्ले लेखनमा दक्षता आवश्यक छ । त्यसका लागि फिल्म स्कुल, प्रशिक्षण केन्द्र र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्छ । र चलत्रिकर्मीहरु वा यससँग सरोकार राख्ने संघ संस्थाहरुले पनि चलचित्र विकास बोर्डसँग सहकार्य गरि आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धिको लागी काम गर्नु पर्ने देखिन्छ । चलचित्र विकास बोर्डको एकल प्रयासले मात्र सवैकुरा संभब पनि हुन्न, हुन त यो कुरा सवै संघ संस्थाका मुखियाहरुले बुझेकै छन् तथापी कामको श्रेय कसले लिने र कुन पार्टीको मान्छेले काम गर्यो भन्ने भद्दा राजनितिकले हरेक चलचित्रकर्मीहरुलाई कुहिरो भित्रको काग बनाएर ती समुहले आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको तितो यथार्त पनि हो ।
राष्ट्रिय रुपमा चलचित्रमैत्री वातावरणको श्रृजना
नेपालका विभिन्न स्थानहरू चलचित्र छायांकनका लागि अत्यन्त आकर्षक छन् । यदि सरकारले सहजीकरण गर्ने हो भने नेपाल अन्तर्राष्ट्रिय चलचित्र छायांकनको प्रमुख गन्तव्य बन्न सक्छ । यसले पर्यटन र अर्थतन्त्रलाई समेत ठूलो लाभ पु¥याउन सक्छ । हुन त पछिल्लो समय विभिन्न स्थानिय निकायहरुले छायांकन स्थल उपलब्ध गराउने, निर्माणका लागी सहजिकरण गर्ने तथा चलचित्रकर्मीहरुलाई आफ्नो ठाउँमा स्वागत गर्ने कार्य पनि गर्दै आएका छन् । यो सकारात्मक पक्ष पनि हो । अव स्थानिय निकायहरुले चलचित्र भवनहरु निर्माण गर्ने वा निर्माणका लागी प्रोत्साहन गरि नेपाली चलचित्रलाई आम दर्शकहरु सामु पुर्याउन राष्ट्रिय चलचित्रमैत्री वातावरणाको श्रृजना गर्नुपर्दछ । यसको लागी राज्यले पनि स्थानिय निकायहरुलाई प्रोत्साहन गर्नुपर्दछ ।
चलचित्रको क्षेत्रगत विस्तार: अब विश्व बजारतर्फ
आजको युग डिजिटल प्लेटफर्मको युग हो । अब चलचित्र केवल हलसम्म सीमित छैन । चलचित्रको क्षेत्रगत विस्तारका लागी अब ओटीटी प्लेटफर्म, युट्युब, अन्तर्राष्ट्रिय वितरण प्रणाली र डिजिटल मार्केटिङमार्फत नेपाली चलचित्रलाई विश्वभर फैलाउन सकिन्छ । विशेषगरी विदेशमा रहेका नेपाली समुदाय नेपाली चलचित्रका महत्वपूर्ण दर्शक हुन् । यदि व्यवस्थित अन्तर्राष्ट्रिय वितरण रणनीति बनाइयो भने नेपाली चलचित्र उद्योग आर्थिक रूपमा धेरै बलियो बन्न सक्छ । त्यसैगरी, क्षेत्रीय भाषा र विविध समुदायका कथालाई चलचित्रमा स्थान दिनु पनि आवश्यक छ । नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले चलचित्र क्षेत्र पनि समावेशी हुनुपर्छ । यसले राष्ट्रिय एकता र सांस्कृतिक सम्मानलाई पनि थप बलियो बनाउँछ ।
पुराना तथा नयाँ चलचित्रहरुको संरक्षण र दस्तावेजीकरण
चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डिसीको नेतृत्व पश्चात पछिल्लो झण्डै २ वर्षको अवधिलाई हेर्ने हो भने पुराना चलचित्रहरुको संरक्षण र दस्तावेजीकरणका लागी उल्लेखनिय कार्य गरेको छ । बोर्डले चलचित्र केवल आजको मनोरञ्जन होइन, यो भोलिका लागि इतिहास पनि हो भन्ने मान्यता अनुरुप पुराना चलचित्र, गीत, पोस्टर, स्क्रिप्ट र दस्तावेजहरू राष्ट्रका सांस्कृतिक सम्पत्ति हुन् भनेर तिनिहरुको संरक्षण गर्ने निति अनुरुप एनालग प्रविधिमा बनेका चलचित्रहरुलाई डिजिटल प्रविधिमा सेभ गर्ने, पोष्टरहरुको संग्रह गर्ने, स्टोरी बैंकको स्थापना गरी स्क्रिप्टहरुको संकलन गर्ने जस्ता दीर्घकालसम्मका लागी उपयोगी हुने कार्यहरु गर्दै आएको छ र भविश्यमा पनि यस्ता कार्यहरुले निरन्तरता पाउँछ भन्नेमा बोर्डले चलचित्रकर्मीहरुलाई आश्वस्त पार्न सक्नु पर्दछ । साथै चलचित्र क्षेत्रसँग सम्बन्धित स्रष्टाहरूको सम्मान, दस्तावेजीकरण र इतिहास लेखनमा पनि ध्यान दिनुपर्छ ।
र अन्त्यमा ...
नेपाली चलचित्र क्षेत्र अहिले एउटा निर्णायक मोडमा उभिएको छ । यदि समयमै सही नीति, लगानी, प्रविधि, प्रशिक्षण र संरक्षणमा ध्यान दिन सकिएन भने यो क्षेत्र अझ संकटतर्फ जान सक्छ । तर यदि राज्य, निजी क्षेत्र, चलचित्रकर्मी र दर्शक सबैले साझा जिम्मेवारीका साथ अघि बढ्ने हो भने नेपाली चलचित्र उद्योग प्रभावशाली उद्योग बन्न सक्ने क्षमता राख्दछ ।
चलचित्र केवल पर्दामा देखिने दृश्य होइन, यो देशको आत्मा बोल्ने भाषा हो । त्यसैले नेपाली चलचित्रको विकास गर्नु भनेको नेपाली कला, संस्कृति, पहिचान र भविष्यको संरक्षण गर्नु पनि हो । र अब हामी चलचित्रकर्मीहरुले पनि केवल चलचित्र मात्र बनाउने होइन, नेपाली चलचित्र उद्योगलाई सम्मानित, व्यवस्थित र विश्वस्तरीय बनाउने सामूहिक प्रण दिनु पनि आवश्कता रहेको छ ।
१७ औं डी सिने अवार्ड स्मारिकाबाट साभार