–सम्पदा मल्ल
पढ्नका लागि बम्बै (मुम्बई) जानुअघि मैले नेपालमा त्यति धेरै काम गरेकी थिइनँ । यहाँ काम गरिराख्नुभएका कोको हुनुहुन्छ, कसरी काम भइरहेको छ भन्ने पनि खासै थाहा थिएन । तर उता गएपछि पहिलो काम नै मैले सबा मुमताजको सहयोगी (एसिस्टेन्ट) भएर काम गर्न पाएँ, जो त्यति बेलै मुम्बईको लिडिङ राइटर हुनुहुन्थ्यो । अहिले टेलिभिजन प्रोड्युसरका रुपमा समेत स्थापित भइसक्नुभएको छ ।
मुम्बईमा टेलिभिजनमा काम गर्ने क्रममा मैले के देखें भने, त्यहाँ पुरुषभन्दा महिला लेखक बढी थिए । टेलिभिजनभन्दा बाहिर ठूलाठूला प्रोजेक्टमा पुरुषको सङ्ख्या अलिकति बढी हुने त भइहाल्यो । तर महिला राइटर तथा प्रोड्युसरको सङ्ख्या पनि उल्लेख्य थियो । अहिले अझै बढेको छ । हाम्रोमा भने फिल्ममा पुरुष र महिलाको उपस्थिति ९ र १ को अनुपातमा छ । त्यसमा पनि लिडमा आएको राइटर, प्रोड्युसर हेर्ने हो भने त झनै निराशाजनक अवस्था छ ।
भारत लगायत विश्वका धेरै देशमा फिल्म उद्योग करिअर निर्माणको एउटा प्रमुख थलो बनिसकेको छ । हाम्रोमा यस्तो यो व्यावसायिकता देखिइसकेको छैन । त्यसैले हामीकहाँ यो क्षेत्रमा महिला होस् वा पुरुष दुवैलाई गाह्रो छ ।
यस क्षेत्रमा प्रवेश गर्न सबैभन्दा पहिला त घरका मान्छेलाई मनाउनुप¥यो, पहिलो लाडाइँ त्यहीँबाट सुरु हुन्छ । महिलाहरुले त झन् विवाह भएपछि श्रीमान्को घरमा पनि सङ्घर्ष गनुपर्ने हुन सक्छ । त्यसरी विवाहपछि पलायन भएका प्रतिभा धेरै छन्, जसले गर्दा तुलनात्मक रुपमा पुरुसलाई भन्दा महिलालाई अझ बढी गाह्रो छ ।
सबैतिर क्रान्ति गरेर, विद्रोह गरेर यो क्षेत्रमा आइसकेपछि पनि दुःख सकिँदैन । सबैतिर लडिन्छ काम गर्नका लागि । तर यो बैङ्क अथवा अन्य क्षेत्रमा काम गरे जस्तो पनि छैन । पाँच बजेपछि घर जान पाइने, शनिबार बिदा बस्न पाइने, महिनावारी तलब थाप्न पाइने भन्ने जस्ता केहि चिजको पनि कुनै कोणबाट निश्चितता यो क्षेत्रमा हुँदैन । कहिलेकाहीँ काम सकेर घर फर्किंदा रातको २ वा ३ बज्न सक्छ । यसलाई अस्वभाविक रुपमा स्विकार्न सकियो भने मात्रै यो क्षेत्रमा टिक्न सकिन्छ । जब कि सात बजेभित्र घर आइपुग्नुपर्छ भन्ने मान्यता हाम्रो समाजले आज पनि राख्छ ।
अनि तपाईंले गरेको कामको उचित पारिश्रमिक सही समयमा पाउनुहुन्छ भन्ने ग्यारेन्टी पनि यो क्षेत्रमा हुँदैन । हुन त यो क्षेत्रले तपाईंलाई नाम दिन्छ, दाम पनि दिन्छ । तर तब मात्रै दिन्छ, जब तपाईं त्यो पोजिसनमा पुग्नुहुन्छ । त्यहाँसम्म पुग्न समय लाग्छ । त्यो समय कसैका लागि दुईचार वर्ष त कसैका लागि आठश वर्ष पनि हुन सक्छ । थोरैमध्ये तपाईं पर्नुहुन्छ भन्ने के छ र ! त्यसैले यो क्षेत्रमा काम गर्न र टिकिराख्न धैर्य चाहिन्छ । यो गुण जो कोहीमा नहुन पनि सक्छ ।
घैर्यसाथ निरन्तर लाग्नेहरुले फल पनि अवश्य पाउँछन् । अहिले झरना थापा, दीपाश्री निरौला दिदीहरु हाम्रो उद्योगका ‘लिडिङ फिमेल फिगर’ हुनुहुन्छ । यो उहाँहरुले रातारात पाएकोे सफलता होइन । यो त वर्षैदेखिको विद्रोह र मिहिनेतको फल हो, जुन उहाँहरुले पाउनैपथ्र्यो ।
धेरै जनालो मलाई पारिवारिक वातावरणले गर्दा म यो क्षेत्रमा आएँ, मलाई सजिलो भयो भन्नुहुन्छ । हुन पनि बुबाआमा कला क्षेत्रकै हुँदा मलाई धेरै सजिलो भएकै हो । तर म पारिवारिक सुझाव वा दबाबले भन्दा पनि आफूमा रुचि भएका कारण यस क्षेत्रमा आएकी हुँ । मलाई कस्तो लाग्छ भने पारिवारिक वातावरण कला क्षेत्रसँग सम्बन्धित नभएको भए पनि म यो क्षेत्रमा प्रवेश गर्न आफै बाटो पहिल्याउँथे । म कला नबुझ्ने पारिवारिक पृष्ठभूमिबाट हुन्थें । मलाई कला क्षेत्रमा जानबाट रोकिन्थ्यो भने पनि म विद्रोह गरेर समेत यो क्षेत्रमा आउँथें ।
म ६\७ कक्षा पढ्दादेखि नै कथा लेख्थें । यहाँका चल्तीका पत्रिकामा मेरो कथा छापिएका हुन्थे । लेख्दै जाँदा फिल्ममा रुचि बढ्दै गयो, मलाई मेरो क्षेत्र यही हो भन्ने पक्का भयो । जति बेला मैले सिनेमा नै पढ्छु भनेर सोचें, त्यति बेला हाम्रो उद्योग यति फराकिलो थिएन । नेपाली फिल्म भनेको गाउँका लागि मात्र हो भन्ने मानसिकता थियो । अरुको के कुरा, हामीले नै नेपाली सिनेमा हेर्दैनथ्यौं । यो ‘लुट’भन्दा अगाडिको कुरा हो । ‘लुट’ पछि भने नेपाली सिनेमामा पनि अथाह सम्भावना रहेछ, नभए पनि सम्भावना आफैंले सिर्जना गर्नुपर्छ भन्ने मनभित्र जागरण पैदा भयो ।
जब मैले सिनेमा पढ्न जान्छु भनें, मेरा बुबाले त्यसलाई सजिलो गरी लिनुभएन । बरु नाटक पढ, यो सिनेमा नपढ भन्नुभयो । सिनेमालाई कलाको रुपमै लिइन्थेन । अनि बुबालाई भने, ‘मैले जतिसम्म सिनेमा बुझेकी छु, सिनेमा इज द मस्ट पावरफुल फर्म अफ आर्ट । तपाईंले नाटकमा आफ्नो जीवन बिताउनुभयो । तर मलाई नाटकको स्टेजले मात्र पुग्दैन ।’
मलाई मेरो कथा ठूलो अडियन्ससम्म पु¥याउनु थियो । त्यहाँसम्म पुग्ने बाटो सिनेमा नै थियो । कला क्षेत्रकै भए पनि बुबाले मेरो प्रस्ताव एकै झट्कामा स्वीकार गर्नुभएको होइन । अनेक सम्झाइ–बुझाइ गरेर मैले बुबालाई मनाएकी हुँ । तसर्थ मभित्रै त्यो रुचि, त्यो तदारुकता नभएको भए सम्पदा मल्ललाई आज सिनेमा क्षेत्रले चिन्ने थिएन ।
त्यसपछि पनि एक मात्र छोरी काठमाडौंमै पढिदिए हुन्थ्यो भन्ने उहाँहरुको सोच थियो । राम्रै मनसाय हुँदाहुँदै पनि सन्तानलाई टाढा पठाउने कुरामा बुबाआमालाई एक किसिमको डर हुँदोरहेछ । तर सिनेमा पढ्ने र बुझ्ने मेरो उत्कट इच्छाका अगाडि उहाँहरुको डरले हार खायो । आखिर मुम्बई जान पनि मनाउन सफल भएँ ।
म मुम्बई गएँ, पढें र केही वर्ष त्यहाँ काम गरेको अनुभवसमेत बोकेर नेपाल फर्किएँ । अहिले यतै काम गर्दै छु । कहिलेकाहीँ राति तीन बजे घर आइन्छ । सुरुसुरुमा घरबाट किन यति ढिला भनेर रिसाउनुहुन्थ्यो । ‘छोरी हो’ भनेर उहाँहरुलाई पनि त्यस्तो कुराले डर हुँदो रहेछ । त्यति बेला के हुन्छ ढिलो हुँदा भनेर प्रश्न गर्न मलाई मेरो विद्रोही स्वभावले सघायो । मलाई सोधिएका प्रश्नहरुको जवाफमा मैले पनि प्रश्न नै फर्काइरहें । बिस्तारै उहाँहरुलाई बानी पर्दै गयो ।
मेरो जत्तिको सपोर्टिभ परिवार हुँदाहुँदै त मैले यत्तिको विद्रोह वा भनौं अटेरी गर्नुप¥यो भने कलाबारे जानकार नभएको परिवारबाट यो क्षेत्रमा आउन कति गाह्रो छ, त्यो म कल्पना गर्न सक्छु ।
यसरी कला क्षेत्रकै भएर पनि घरभित्रै केही सङ्घर्ष गर्नुपर्यो । तर कुरा बुझाउन सकें । एक पटक आफ्ना आशङ्का र डरलाई जितिसकेपछि उहाँहरुले मेरो लक्ष्यमा सधै नै साथ दिँदै आउनुभएको छ ।
काम गर्न सुरु गरेपछि पनि कति महिना यत्तिकै बस्नुपथ्र्यो, पैसा आइराखेको हुँदैनथ्यो । त्यस्तो बेलामा मैले परिवारको साथ पाएँ । मलाई कहिल्यै पनि तिमीले पैसा कमाइनौ भन्नुभएन । कतिले ‘प्रिभिलेज्ड’ भन्न रुचाउनुहुन्छ, जेहोस् मेरा अभिभावकले बुझिदिनुभयो, त्यो हिसाबले म भाग्यमानी पनि हुँ । खैर, उहाँहरुलाई बुझाउन धैर्य भनौं अथवा क्षमता मैले यथाशक्य आफ्ना लागि दृढ भएर अडान लिएँ । जस्तो पृष्ठभूमिबाट आए पनि फिल्म क्षेत्रमा लाग्नेले यो गर्नैपर्ने हुन्छ ।
मैले काम गर्ने वातावरण पनि राम्रो पाएँ । सहयोगी साथीहरु पाएँ । अब म सिनेमा निर्देशन गर्ने योजनामा छु । फिल्म निर्देशन गर्ने अवसर पाउनु भनेको कसैले तपाईंमाथि विश्वास गर्नु हो । तपाईंमाथि कसैले करोडौं रुपैयाँ लगानी गर्नु भनेको विश्वास नै त हो । मलाई लाग्छ, मैले साथीहरुबाट त्यो विश्वास कमाएकी छु । यो काममा मलाई तिमी गर्न सक्छौ भनेर हौसला दिने साथी धेरै हुनुहुन्छ । तीमध्ये पनि पुरुष साथीहरुको संख्या राम्रो छ । तर सबैको यस्तो नहुन सक्छ ।
मैले विभेद भोग्नुपरेन कसैले भोगेको छैन भन्न मिल्दैन । धेरै महिला फिल्म क्षेत्रमा ‘डिस्क्रिमिनेसन छ’ भन्नुहुन्छ । उहाँहरुलाई परेर नै भन्नुभएको होला । त्यो हामीमा पनि भर पर्ने कुरा रहेछ । हामी कस्तो मान्छेसँग काम गर्दै छौं भन्ने कुराले हाम्रो यात्रा, अनुभव कस्तो हुन्छ भनेर निर्धारण गर्ने रहेछ ।
कस्ता मान्छेसँग काम गर्ने कस्तासँग नगर्ने भनेर छुुट्याउनु मुख्य चुनौतीको विषय हो । त्यसका लागि विद्रोही एटिट्युड चाहिँ हुनैपर्छ । सीप र शिक्षाले तपाईंलाई त्यो आत्माविश्वास दिन्छ । आफ्नो दृष्टिकोण, प्रतिभालाई सहयोग गर्ने साथीहरुसँग मात्रै काम गर्नुभयो भने आफूलाई निखार्दै लैजान सकिन्छ । तपाईं एउटा पोजिसनमा पुगेपछि, आफ्नो कामले प्रमाणित गरिसकेपछि कसैले पनि पुरुष या महिला भनेर हेर्दैनन् । तपाईंसँग क्षमता छ कि छैन भनेर हेर्छन् । त्यो पोजिसनसम्म पुग्न तपाईंले हिम्मत नहारेर, आफ्नो अडान लिएर काम गर्दै जानुप¥यो ।
पछिल्ला केही वर्षमा नेपालमा धेरै फिल्म स्कुल खुले । त्यहाँबाट पनि धेरै महिला यो क्षेत्रमा आइराख्नुभएको छ । बिस्तारै एउटा धार ‘वास आउट’ हुँदै छ, पढेलेखेको जमात आइराखेको छ । जसले महिला–पुरुषभन्दा पनि काममा विश्वास गर्छन् । गाह्रो छ, म गर्न सक्दिनँ भनेर बस्यो भने जुन क्षेत्रमा पनि, जसलाई पनि उस्तै हो । तर मैले चाहेको कुरा यही हो, जसरी पनि गर्छु भन्ने अठोट लियो भने अबको दिनमा काम गर्न सबैलाई सजिलो हुँदै जानेछ ।
१०÷१२ वर्ष अगाडिको र आजको नेपाली सिनेमाको स्थिति हेर्ने हो भने बक्स अफिसमा राम्रो गर्न थालेको छ, नेपाली अडियन्स बढ्दै छन्, सिनेमाको स्तर पनि बढ्दै छ । प्रतिष्ठित इन्टरनेसनल फेस्टिभलहरुमा समेत नेपाली फिल्महरुको पहुँच पुग्दै छ । यस यात्रामा कति महिला नै महत्वपूर्ण भूमिकामा देखिनुभएको छ । लाइमलाइटमा आउन बाँकी महिला पनि धेरै हुनुहुन्छ, जो छिट्टै आउनुहोला । यो केही समयको अन्तरालमै आएको ‘ह्युज चेन्ज’ हो । यसरी हेर्दा महिला सहभागिता र हाम्रो फिल्म उद्योग दुवैको भविष्य उज्ज्वल देखिन्छ ।
तर त्यसो भनेर जुन गतिमा परिवर्तन भइरहेको छ, त्यसलाई त्यत्तिकै छाड्न पनि हुँदैन । निरन्तर प्रयास आवश्यक छ ।
एउटा ‘वुमन इन एनिमेसन’ भन्ने समूह छ, जसले विश्वभरका महिलालाई एनिमेसनमा आकर्षित गर्ने काम गर्छ । यसको नेपाल चयाप्टर सुरु भएको छ, जसको प्रेसिडेन्ट म छु । त्यहाँबाट हामीले महिला मेकरलाई फन्डिङ दिने, एड्भोकेसी गराउने, प्रोत्साहन गर्ने काम गर्दै छौं । नेपालका लागि यो नौलो अभ्यास हो । फिल्मसँग सम्बन्धित संस्थाहरुबाट यस्ता कार्यक्रम भइरहन जरुरी छ । कतिपय अवस्थामा पुरुषको सङ्घर्षबाट पनि महिलाले सिक्न सक्छन्, प्रेरणा लिन सक्छन् । दीपकराज गिरी, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, प्रदीप भट्टराई सबै प्रेरणादायी कथाका उदाहरण हुन् । जो धेरै सङ्घर्ष गरेर अहिलेको अवस्थामा पुग्नुभएको हो । ती पुरुष भएर सके, म महिला हुँ, सक्दिनँ भन्दा पनि ‘उनीहरुले सके भने मैले किन सक्दिनँ ? म केमा कम छु भन्ने खालको सोच लिएर आत्माविश्वासका साथ आउनुपर्छ । मैले नै आफूमा विश्वास गरिनँ भने अरुबाट विश्वासको अपेक्षा मैले कसरी गर्न सक्छु ?
एउटा निर्माताका रुपमा मेरो दिमाग महिला या पुरुष भनेर चल्दैन । चाहे प्रोडक्सन डिजाइनर होस्, चाहे राइटर होस्, या अरु कुनै, मलाई चाहिएको काम जसले राम्रोसँग गर्न सक्छ म उसैलाई काम दिन्छु र त्यो सबै कुरा शिक्षाबाट आउँछ ।
तपाईं योग्य हुनुहुन्छ भने कसैले यो महिला हो लिनुपर्छ भनेर काममा लिँदैन, त्यहाँ तपाईंको आफ्नो छुट्टै ठाउँ बन्छ । महिला भएकै कारण अवसर नपाउनु जति दुःखको कुरा हो, महिला भएकै कारण मात्र अवसर पाउनु पनि त्यति नै सुखको कुरा होइन । महिला वा पुरुष जे भए पनि लैङ्गिक विशेषताले होइन, आफ्नो योग्यता र क्षमताले अवसर सिर्जना गर्न सक्नुपर्छ ।
नेपाल चलचित्र निर्माता संघको सिनेमा विशेषाङ्कबाट साभार