नेपालका डिजिटल कन्टेन्ट सिर्जनाकर्ताको योगदानलाई सम्मान गर्दै उनीहरूको सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ । आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको अवार्ड कार्यक्रम हो ।
आयोजकका अनुसार अवार्डको ग्राण्ड फिनाले आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुनेछ। यसअघि जेठ महिनामा खुला गरिएको आवेदनमार्फत देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरले आफ्नो सिर्जना दर्ता गराइसकेका छन् ।
प्राप्त कन्टेन्टको मूल्यांकनपछि निर्णायक मण्डलले उत्कृष्ट १०० प्रतिस्पर्धीलाई अन्तिम चरणका लागि छनोट गर्नेछ । त्यसपछि आगामी साताभित्र मनोनयन सूची सार्वजनिक गरिने आयोजकले जनाएको छ । ग्राण्ड फिनालेमा १० विधामा अवार्ड प्रदान गरिनेछ । प्रत्येक विधामा १०–१० जना कन्टेन्ट क्रिएटर मनोनयनमा रहनेछन् ।
प्रतियोगिताको मूल्यांकनका लागि चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । निर्णायकमा कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई ग्रुपका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेक नारायण भट्टराई रहेका छन् ।
ग्राण्ड फिनालेको आयोजना हुने स्थल भने पछि सार्वजनिक गरिने जनाइएको छ । प्रतियोगिताको सम्पूर्ण समन्वय तथा व्यवस्थापन स्पर्श मिडिया इन्टरटेन्मेन्टले गरिरहेको छ ।
आयोजकका अनुसार यो अवार्डले नेपालका डिजिटल कन्टेन्ट क्रिएटरहरूको सिर्जनात्मक क्षमता, प्रभाव र योगदानलाई राष्ट्रिय स्तरमा सम्मानित गर्नुका साथै नयाँ प्रतिभालाई अगाडि बढ्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटरहरूको मेहनतलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले सुरु गरिएको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ नेपालकै पहिलो यस्तो अवार्ड कार्यक्रम भएको आयोजकको दाबी छ ।
कार्यक्रमका विभिन्न विधा, निर्णायकको विस्तृत परिचय तथा अन्य आवश्यक जानकारी आगामी दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।