नृत्य प्रतिभालाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्यका साथ ‘कागेश्वरी नाच आइडल सिजन–३’ साउन ९ गतेदेखि आयोजना हुने भएको छ ।
प्रतियोगिता सनराइज डान्स स्टुडियो (थली), अरुण डान्स एकेडेमी (गौथटार) र एम.आर. डान्स स्टुडियो (जडीबुटी) को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो । आयोजक संस्थाका प्रमुखमा क्रमशः तारजन राई, आशिष राई तथा रोहित बस्नेत रहेका छन् ।
आयोजक रोहित बस्नेतका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न महानगरपालिका, नगरपालिका तथा जिल्लाका प्रतिभाशाली नृत्यकर्मीलाई एउटै मञ्चमा ल्याई उनीहरूको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो । प्रतियोगिताको अडिसन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सञ्चालन गरिनेछ भने अडिसन सम्पन्न भएपछि आगामी चरणहरूको मिति सार्वजनिक गरिने उनले जानकारी दिए ।
प्रतियोगितामा ‘स्टुडेन्ट डिभिजन’ अन्तर्गत ७ देखि १४ वर्ष उमेर समूहका विद्यार्थी तथा ‘मम्स डिभिजन’ मा आमाहरूले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताको ग्राण्ड फाइनल आगामी असोज ४ गते राष्ट्रिय नाचघरमा आयोजना गरिनेछ । सेमिफाइनल र फाइनल चरण टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल, प्रमाणपत्र तथा विशेष उपहार प्रदान गरिनेछ। स्टुडेन्ट डिभिजनका विजेताले १ लाख रुपैयाँ नगदसँगै म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् । प्रथम उपविजेताले ३० हजार रुपैयाँ र द्वितीय उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । टप–१० प्रतियोगीलाई पनि विशेष पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, मम्स डिभिजनका विजेताले ५० हजार रुपैयाँ नगदसहित म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाउनेछन् । प्रथम र द्वितीय उपविजेताले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने टप–१० प्रतियोगीलाई विशेष पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
आयोजकका अनुसार ‘कागेश्वरी नाच आइडल–३’ मार्फत नयाँ नृत्य प्रतिभाको खोजी, प्रोत्साहन तथा राष्ट्रिय स्तरमा परिचित गराउने लक्ष्य राखिएको छ ।