–शिव मुखिया
एन्ट मिल । फौजी कमिलाहरुको यस्तो अवस्थिति जनाउने शब्दावली हो, जो एउटै चक्रमा फनफनी घुमिरहन्छ ।
यी कमिलाहरु आफ्नो दृष्टिले बाटो पहिल्याउँदैनन् । बरु, अगाडि हिँड्ने साथीको गन्ध (फेरोमोन नामक रसायन) पछ्याउँदै ताँती लाग्छ । त्यही ताँतीको अगुवाइ गरिरहेका कमिलाले बेलाबखत बाटो बिराउँछन् र एउटै चक्रमा घुम्न थाल्छन् । एकले अर्कालाई पछ्याउने उपक्रम जारी रहँदा उनीहरु यो भुमरीबाट बाहिर निस्कने मेलो पाउँदैनन् । यसरी उही घेरामा फन्को लगाउँदा–लगाउँदै भोक र थकानले हत्तु–हैरान भएर मर्छन । अर्थात यिनीहरुको यात्रा निरर्थक हुन्छ, घातक पनि ।
‘सर्कल अफ डेथ’को यही नियतिमा पो फसिरहेको छ कि नेपाली सिनेमा ? बितेको ६ दशकभन्दा लामो यात्रालाई फर्केर हेर्दा प्रश्न उठ्न सक्छ । ०१८ सालबाट पाइला चालेको हाम्रो सिनेमाले आफूलाई कहाँ पु¥यायो ? सिंहावलोकन गर्दा त्यति सन्तोषजनक गर्विलो जवाफ पाइनेछैन ।
फ्ल्यासब्यक
राजा महेन्द्रको निम्तोमा बम्बै(मुम्बई) बाट नेपाल आएका हिरासिंह खत्रीले सरकारी लगानीमा ‘आमा’ बनाए । त्यसपछि निजी लगानीमा बिएस थापाले निर्देशन गरेको ‘माइतीघर’ले नयाँ आयाम थप्यो ।
नेपाली सिनेमाका निम्ति ‘प्रसवकाल’ थियो त्यो । घरेलु भाषामा, घरेलु भूगोलमा, घरेलु परिवेशमा सिनेमा बन्नु नै आफैंमा एउटा महान उपलब्धि थियो ।
सहज अनुमान गर्न सकिन्छ, त्यस बेला पुग्दो स्रोत साधन थिएन । उपकरण ‘बम्बै’बाट झिबाउनुपथ्र्यो । जनशक्ति मुम्बईबाट मगाउनुपथ्र्यो । प्रविधि र प्राविधिक मात्र होइन, कति कलाकार पनि उतैबाट बोलाइन्थे । डबिङ, मिक्सिङ, सम्पादन उतै हुन्थे ।
यो सिलसिला त्यस बेलासम्म निरन्तर थियो, जति बेला तेलसी घिमिरेहरुको युग सुरु भइसकेको थियो । एक भेटमा निर्देशक घिमिरेले सुनाएका थिए, ‘क्यामेरा बोक्ने, लाइट मिलाउने, मेकअप गर्नेदेखि भात पकाउने पनि बम्बैबाट ल्याइएका हुन्थे । सेटमा कसैले नेपाली बुझ्दैनथे, हिन्दीमा बातचित गर्नुपर्ने हुन्थ्यो ।’
‘बम्बै’को घर्षणले नेपाली सिनेमालाई कसो–कसो उतैको जस्तो बनाइदियो । घनिष्ट सङ्गतका कारण स्वाद, सुगन्ध र शैलीमा ‘बम्बै’को धङधङी भेटिनु त्यति अस्वाभाविक पनि थिएन ।
तर अस्वाभाविक त्यस बेला भइदियो, जब घरेलु उपकरण र जनशक्ति पर्याप्त हुँदाहुँदै पनि नेपाली सिनेमा बलिउडको ह्याङओभरबाट मुक्त हुन सकेन । चार ओटा गीत, पाँच ओटा फाइट मात्र होइन, उस्तै कथा, उस्तै संवाद, उस्तै पाश्र्व धुन, उस्तै संगीत र दुरुस्त उस्तै शैलीलाई पछिल्ला निर्देशकहरुले पनि पछ्याइरहे । यही गोलचक्करमा नेपाली सिनेमा फनफनी घुमिरह्यो ।
पदार्पण
एउटा यस्तो समय पनि आइलाग्यो, नेपाली सिनेमा बनाउनेलाई भन्दा हेर्नेलाई लाज लाग्ने । एकै व्यहोराका सनेमा, त्यो पनि नाटक नै ज्यादा ! शोभित बस्नेत, उज्ज्वल घिमिरे, उदय सुब्बाहरु सिनेमा बनाउन तम्सनु र पुरातन ढर्राको सिनेमाबानट दर्शकहरु तर्सनु एकसाथ भइदियो । एकै व्यहोराको सिनेमा हेरेर वाक्कदिक्क भइसकेका पछिल्लो पुस्ता नाक खुम्च्याउन थालिसकेका थिए, ‘कसले हेर्छ यार नाथे नेपाली सिनेमा ?’
यही पुस्ताका एक प्रतिनिधि थिए, निश्चल बस्नेत । बानेश्वरमा ‘भिडियो गेम जोन’ चलाएर बसेका निश्चललाई नेपाली सिनेमा हेर्दा औडाहा हुन्थ्यो । नेपाली सिनेमा बनाउन नजानेका कि, हामीले हेर्न नजानेका ? उनी अलमलमा थिए । आखिर ‘गेम डेभलोपर’ बन्न अस्टे«लिया उडेका उनलाई झोक चल्यो– फरक तरिकाले सिनेमा बनाउँदा हेर्न हुने बन्छ कि ?
त्यही झोकको नतिजा थियो ‘लुट’ । जसै लुट प्रदर्शनमा आयो, टिकटकको लाम बढ्दै गयो । र, त्यो पङक्तिमा उनीहरु नै उभिएका थिए, जो नेपाली सिनेमाको नाम सुन्नासाथ ‘छ्या’ भन्थे । विदेशी सिनेमामा बानी परेका र नेपाली सिनेमाबाट विमुख भएका दर्शकलाई एकत्रित ग¥यो ‘लुट’ले ।
त्यही बेला मुस्ताङ उक्लिएर रामबाबु गुरुङले ‘कबड्डी’ बनाए । ‘लुट’ले हलमा जुन तरङ्ग पैदा गरेको थियो, ‘कबड्डी’ले त्यसलाई मत्थर हुन दिएन । दुई वर्षको अन्तरालमा प्रदर्शन भएका यी चलचित्रले एउटा कुरा स्थापित गरिदिए– इमानपूर्वक बनाउने हो भने नेपाली सिनेमा चल्दा रहेछन् ।
यी सिनेमा राम्रो हुनुमा कथामा नयाँपन मात्र थिएन, रैथाने भाषाशैली र जन–जीविका मुख्य थियो । आम मान्छे झै पात्रहरु, आम मान्छेका झै भोगाइहरु, आम मान्छेका झै दिनचर्याहरु, आम मान्छेका झै बोलीचालीहरु । दर्शकले पर्दामा आफ्नै कथा भनिरहेको महसुस गरे र सिनेमाभित्रको दृश्य, कथा र पात्रहरुसँग एकाकार भए ।
तर यही मोडमा पुगेपछि धेरैलाई के लाग्यो भने, ‘कबड्डी’ र ‘लुट’ जस्तै सिनेमा बनाइयो भने ‘बबाल’ हुने रहेछ । हलमा दर्शक ओइरो लाग्ने रहेछ । सर्वत्र चर्चा चल्ने रहेछ । गजब हुने रहेछ ।
अन्ततः नयाँ–नयाँ फिल्ममेकर आए, ‘कबड्डी’ र ‘लुट’का प्रतिलिपि बनाउन । कुनै सिनेमा ‘लुट’ जस्तै बन्न थाले, फाइट नै फाइट भएका । कुनै ‘कबड्डी’ जस्तै बन्न थाले मुस्ताङमा छायांकन भएका । कथा र कथा भन्ने शैली उस्तै । परिवेश उस्तै । उस्तै–उस्तै दयाहाङ राई र सौगाल मल्ल पनि । हुँदाहुँदा सहायक पात्रहरुमा पनि उही दोहोरिइरहने अनुहार ।
ठीक यही मोडमा दीपकराज गिरी र दीपाश्री निरौला टेलिशृङ्खला ‘तीतो सत्य’ छाडेर सिनेमातर्फ मोडिए । हास्य कलाकारिता गरिरहेकाका साथी बटुलेर उनीहरुले ‘६ एकान ६’ बनाए । यो सिनेमाले उनीहरुलाई पछाडि फर्कन होइन, अगाडि दौडन हौस्यायो । अन्ततः ‘वडा नम्बर–६’ उनीहरु ‘ छक्का पञ्जा’को शृङ्खलामा अविच्छिन्न लागिपरे ।
अब हाम्रा फिल्ममेकरहरु ‘छक्का पञ्जा’को यो सफलतालाई पछ्याउन थाले । कमेडी ड्रामा खुब जम्ने रहेछ भन्ने मनोविज्ञानसँगै अनगन्ती फिल्ममेकर ‘छक्का पञ्जा’ जस्तै सिनेमा बनाउन लागे । यसरी फेरि नेपाली सिनेमा अर्को गोलचक्करमा फनफनी घुम्न थाल्यो ।
मध्यान्तर
त्यसताका सातामा दुई÷तीन ओटा नेपाली सिनेमा प्रदर्शनमा आउँथे । तर वार्षिक अङ्कगणितले देखाइदिन्थ्यो, १२ महिनामा हलमा आएकामध्ये तीन–चार सिनेमाले मात्र मुनाफा कमाए । बाँकी थोरैले लगानी सुरक्षित गरे भने अरु सबै गोलखाडी गए । यसले अरुलाई त डुबायो नै, दयाहाङ राई र सौगात मल्ललाई पनि कसो–कसो लाखापाखा लगाइदिएन । किनभने त्यसताका फिल्ममेकरमा के भ्रम रह्यो भने, सौगात–दयाहाङलाई लिएपछि सिनेमा ‘लुट’ वा ‘कबड्डी’ जस्तै बन्छ ।
एक भेटमा दयाहाङ राईले सुनाएका थिए, ‘खै म हाम्रा फिल्ममेकरहरुको केही बुझ्दिन हाउ... एउटा स्क्रिप्ट लिएर आउँछन् र फिल्म खेलिदिनुप¥यो भन्छन् । सबै स्क्रिप्ट पढ्ने फुर्सद पनि हुँदैन । खेल्दिनँ भन्न सकिँदैन । अलि पछि विचार गरौला भनेर टार्ने गरेको छु । तर उनीहरु मलाई पर्खेर बस्छन् ।’ कुनै सिनेमाले तारिफ र पैसा दुवै कमाएपछि त्यसैको सफलतालाई पछ्याउने प्रवृत्तिले सबैभन्दा बढी ‘डिमाण्ड’ बढाइदियो ‘लुट’ र ‘कबड्डी’कै कलाकारहरुको । सौगात मल्लदेखि बुद्धि तामाङसम्म फिल्ममेकरको तानातानमा थिए ।
कतिसम्म भने, एकै शुक्रबार सार्वजनिक भएका तीन सिनेमा उएटै अभिनेता हुन्थे, बुद्धि तामाङ । लाजलाग्दो कुरा ! अधिकांशमा बुद्धिलाई उही थेगो बोल्न लगाइन्थ्यो , जुन उनले ‘कबड्डी’मा बोलेको थिए– हैट !
क्लाइमेक्स
रामबाबु गुरुङ, निश्चल बस्नेतहरु स्वयम्ले त्यस्तो सिनेमा बनाए, जो उनीहरु हेर्न चाहन्थे । त्यो पुरातन ढर्राबाट मुक्त थियो र बलिउडको त्यहाँ गन्ध थिएन । आफ्नोपनले शोभायमान थियो ।
उनीहरुको आगमन नेपाली सिनेमाका लागि एउटा सुनौलो सम्भावनाको सूचक थियो । तर यो उल्लासलाई उनीहरुले धेरै समय टिक्न दिएनन् । निश्चल, रामबाबुहरु फेरि नयाँपन खोज्नतर्फभन्दा पनि आफ्नै सफलतालाई पछ्याउनतर्फ लागे । र, उस्तै चक्रमा फन्को लगाउन थाले ।
एक अन्तर्वातामा निर्देशक नवीन सुब्बाले यो सत्य उजागर गरेका छन् । उनी भन्छन्, ‘विडम्बना ! यो शम्भावनाशील पुस्ता शैली र विषयमा नयाँ खोज एवम् सिङ्गो सिनेम्याटोग्राफीमा निजत्व निर्माण गर्नतिर भने लागेन । उनीहरु फिल्मको रुपान्तरणभन्दा आफ्नै सफलता दोहो¥याउनतिर लागेका छन् ।’
आज पनि नेपाली सिनेमाको दशा उस्तै छ, जुन वर्षौअघि थियो । उसैगरी सातैपिच्छे फिल्म सार्वजनिक हुन्छ । हलमा दर्शक आइदिँदैनन् । हल सञ्चालकले सो कटौती गर्छन् । केही दिनमै सिनेमा हलबाट बाहिरिन्छ । एकाधलाई छाडेर हेर्ने हो भने नेपाली सिनेमाको यसरी नै वियोगान्त पटाक्षेप भइरहेको छ ।
अक्सर नवीन सुब्बा टिप्पणी गरिरहेका हुन्छन्, ‘असफल हुने भयले हाम्रा फिल्ममेकर्स सफलता पछ्याइरहेका छन् ।’ तर यसरी पछाडि दौडिएर कहाँ पुगिएला ?
नेपाल चलचित्र निर्माता संघको सिनेमा विशेषाङ्कबाट साभार