अभिनेता जितु नेपाल को निर्माणमा तयार भएको चलचित्र आइ एम जीत बहादुर को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको शीर्ष गीत ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा चर्चित भारतीय गायक कैलाश खेर को स्वर सुन्न सकिन्छ । बलिउडका धेरै चर्चित चलचित्रमा स्वर दिँदै लोकप्रिय बनेका खेरको आवाजले नेपाली चलचित्रमा पनि दर्शक तथा श्रोताको मन जित्ने निर्माण टिमको विश्वास रहेको छ । गीतमा राज सिंह सिधु र जितु नेपालको शब्द तथा बव एसएनको संगीत रहेको छ ।
भारतीय निर्देशक सुभेन्दु घोष को निर्देशनमा बनेको यस चलचित्रले गाउँबाट शहर पुगेर कलाकार बन्न संघर्ष गर्ने एक युवाको जीवनकथा प्रस्तुत गर्नेछ । चलचित्रमा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत देखिएकी छन्। यसअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।
फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा तथा बाल कलाकार साहरा शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् ।
भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको चलचित्रको पोस्ट–प्रोडक्सन कार्य भारतमा सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ । निर्देशक सुभेन्दु घोषकै कथा तथा निर्देशनमा बनेको आइ एम जीत बहादुर को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ ।
तीन दशकभन्दा लामो कलाकारिता यात्रामा सक्रिय अभिनेता जितु नेपालले नेपाली चलचित्र तथा टेलिचलचित्र क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएका छन् ।