नयाँ नेपाली चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त सम्पन्न भएको छ । निर्माण टिमले आज स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक शुभारम्भ गरेको हो ।
ललितपुरस्थित बंगलामुखी मन्दिरमा निर्देशक तथा प्रमुख कलाकारहरूको उपस्थितिमा शुभमुहूर्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कलाकार हरिवंश आचार्यले चलचित्रको पहिलो सट दिएका थिए । उक्त दृश्यमार्फत चलचित्रको शीर्षकको अर्थ र सन्दर्भ स्पष्ट पारिएको निर्माण टिमले जनाएको छ । शुभमुहूर्त कार्यक्रममा हरिवंश आचार्यसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकारहरूको उपस्थिति रहेको थियो ।
गत वर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले यस चलचित्र निर्देशन गर्न लागेका हुन् । ‘परान’ नेपाली चलचित्र क्षेत्रमा उच्च व्यापार गर्ने चलचित्रमध्ये एक बनेको थियो ।
‘चिरञ्जीवी भव’मा निर्देशक आचार्यसँगै कुमार कट्टेल ‘जिग्री ब्रो’को पनि सहकार्य रहेको छ । कुमार कट्टेलको कथामा निर्माण हुन लागेको चलचित्रको पटकथा सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।
चलचित्रमा हरिवंश आचार्य, प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, प्रशंसा रायमाझी, हरिस निरौला ९कक्रोज०, सुमन कार्की तथा सुस्मिता कुँवरलगायत कलाकार मुख्य भूमिकामा देखिनेछन् ।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुति रहने यो चलचित्र आगामी जेठ १५ गतेदेखि फ्लोरमा जानेछ । निर्माण टिमका अनुसार चलचित्रको छायांकन ४५ दिनसम्म चल्नेछ । धनकुटा, सुनसरी र काठमाडौंमा चलचित्रका विभिन्न दृश्य खिचिनेछन् । चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
सामाजिक कथावस्तुमा आधारित ‘चिरञ्जीवी भव’ले दुई पुस्ताबीचको सोच, सम्बन्ध र वैचारिक अन्तरलाई मुख्य विषय बनाउने निर्माण पक्षले जनाएको छ । उमेशकुमार बराल निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।