नेपाली फिल्म ‘मितज्यू’ को ट्रेलर सार्वजनिक गरिएको छ । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको उक्त फिल्मको ट्रेलर सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत दर्शकमाझ ल्याइएको हो ।
सार्वजनिक ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई र सौगात मल्ल बीचको मितेरी सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । गाउँमा नयाँ खुलेको सडकमा गाडी चलाउने चालकको भूमिकामा देखिएका उनीहरू यात्रु छिटो गन्तव्यमा पुर्याउने प्रतिस्पर्धामा उत्रिएका छन् ।
ट्रेलरमा दुवै पात्रबीचको मित्रता, प्रतिस्पर्धा र द्वन्द्वलाई जीवन्त रूपमा उतारिएको छ । सौगात मल्ल मितको घरमा भाले बोकेर पुग्ने दृश्य र मितिनीको गाउँले शैलीमा गरिएको संवादले दर्शकलाई मनोरञ्जन दिन्छ । साथै, मितेरी सम्बन्धलाई सामान्य रूपमा नलिन ज्योतिषीले दिएको चेतावनीले कथालाई थप रहस्यमय बनाएको छ ।
फिल्मले नेपाली समाजमा कुनै समय प्रचलित मितेरी संस्कृतिलाई केन्द्रमा राख्दै त्यसको सामाजिक र भावनात्मक पक्षलाई गहिरो रूपमा उठाएको देखिन्छ । ट्रेलरमा गाउँको परिवेश, सडकमा हुने प्रतिस्पर्धा, आपसी झगडा र सम्बन्धमा आउने उतारचढावलाई प्रभावकारी रूपमा देखाइएको छ ।
जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा तेरिया मगर ले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन् । फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगरलगायत कलाकारहरूको अभिनय रहेको छ ।
अनिल बुढा मगर को निर्देशनमा बनेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ । संगीत श्रीकृष्ण बम मल्लले दिएका छन् भने गीतमा श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरिसकेको छ । आगामी जेठ ८ गतेदेखि नेपालभर प्रदर्शनमा आउने फिल्म विदेशमा पनि चर्चामा रहेको छ । हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा फिल्मको प्रदर्शन अधिकार ‘सोल्ड आउट’ भइसकेको निर्माण टिमले जनाएको छ ।