– प्रभाकर गौतम
जसरी सिनेमाभित्र कथा हुन्छ, सिनेमा बन्ने प्रक्रियाको पनि कथा हुन्छ । त्यही कथामा सिनेमा बनाउने मान्छेहरुको समेत कथा मिसिन्छ । सिनेमाका पर्दाभित्र–पर्दाबाहिर जताततै कथैकथा ! नेपाली चलचित्र जगत्मा ‘माइतीघर‘ (२०२३साल) एउटा यस्तै सिनेमा हो, जसका पर्दाभित्र–बाहिरका कथा अनेक छन् ।
आजभन्दा ५७ वर्षअघि असोज महिनामै ‘माइतीघर‘को छायांकन सुरु भएको थियो । निजी क्षेत्रबाटै निर्मित पहिलो व्यावसायिक नेपाली चलचित्रका रुपमा इतिहास रचेको ‘माइतीघर‘को ‘आइडिया‘को बीजारोपण बम्बै (मुम्बई)मा भएको हो ।
‘माइतीघर‘बारे लेख्ने धेरैले तत्कालीन समयमा बम्बैको फिल्म स्टुडियोमा काम गरिरहेका काभे्रका किशोर तिमिल्सिनालाई यो आइडिया फुराउने मुख्य व्यक्ति मानेका छन् । ‘नेपाली चलचित्रको इतिहास‘ पुस्तकमा लक्ष्मीनाथ शर्माले ‘चलचित्र‘ मासिकलाई साभार गर्दै तिमिल्सिनाबारे लेखेअनुसार, काभे्रका तिमिल्सिना कामको खोजीमा बम्बै पुगेका थिए । सुरुमा उनी लेखराज नन्दको स्टुडियोमा जोडिए । त्यसपछि उनी एस मुखर्जीद्वारा निर्मित ‘हम हिन्दुस्तानी‘ फिल्ममा सहायक प्रोडक्सन म्यानेजर बने ।
त्यही बेला देहरादुनका बिएस थापा (भीमसिंह थापा मगर) पनि बम्बैमै थिए । चेतन आनन्दबाट निर्देशनसम्बन्धी तालिम लिएका उनी पटकथा तथा संवाद लेखनमा सक्रिय थिए । तिमिल्सिना र थापाको ‘यह रास्ते है प्यार के‘ (सन् १९६३)मा काम गर्ने क्रममा भेट भयो । काभे्रका नेपाली र देहरादुनका प्रवासी नेपालीबीचको भेटपछि उनीहरुले नेपालीमा चलचित्र बनाउन सकिने सम्भावना देखे । ‘माइतीघर‘बारे लेखिएका सामग्रीमा कतै तिमिल्सिनाले थापालाई त कतै थापाले तिमिल्सिनालाई नेपालीमा फिल्म बनाउने प्रस्ताव गरेको लेखेका छन् । सत्य जे भए पनि, तिमिल्सिना र थापा दुवैले एकअर्कालाई नेपाली चलचित्र बनाउन प्रेरित गर्दै सहकार्य गरेको देखिन्छ ।
त्यतिबेला सपना देख्नु ‘दुस्साहस‘ जस्तै थियो । मुम्बई फिल्म नगरीको आकर्षणमा परिसकेका, त्यहीँ आफ्नो क्षमता बढाइरहेका किशोरका लागि भने चुनौतीपूर्ण भए पनि ‘आँटे पुग्ने‘ खालको सपना थियो यो । बम्बैमा सहायक निर्देशकका रुपमा काम गरेका नेपालीभाषी बिएस थापाका लागि भने यो नेपाल र नेपालीसँग जोडिने बहाना थियो नै, निर्देशक बन्ने सुनौलो अवसरसमेत थियो । स्थापित भारतीय अभिनेत्री माला सिन्हालाई नेपाली चलचित्र खेलाए फिल्म चल्नेमा यी दुवै एकमत भएपछि पहल सुरु गरे ।
‘माइतीघर‘का मुख्य निर्माता ‘जनरल नरशमशेर जङ्गबहादुर राणाको जीवनी (उहाँकै जुवानी) अनुसार किशोर तिमिल्सिना निर्माता खोज्न काठमाण्डौं आउने क्रममा पटना एयरपोर्टमा भानु भेटिए । लखनउमा बस्ने जर्नेल नरशमशेरका भाइ पर्ने वसन्तशमशेरका भानिज रहेछन् भानु । माला सिन्हाको हिरो भएर फिल्म खेल्न पाइने कुराले लोभिएर तिनै भानुले तिमिल्सिनालाई काठमाण्डौंमा नरशमशेरसँग भेट गराइदिए ।
कुनै दिन एतिहासिक कथामा चलचित्र बनाउने सपना साँचेर बसेका नरशमशेरलाई चर्चित अभिनेत्री माला सिन्हाले नेपाली फिल्ममा अभिनय गर्न तयार रहेको कुराले आकर्षित ग¥यो । नरशमशेरसँगै फिल्म निर्माताका रुपमा योगेन्द्र झासमेत जोडिएपछि सुमनाञ्जली फिल्म्स प्रालिबाट ‘माइतीघर‘ निर्माण गर्ने टुङ्गो लाग्यो ।
‘माइतीघर‘ छायांकनको साइत बम्बैबाटै सुरु भएको थियो । त्यस बखत सिनेमा बनाउन बम्बै अथवा कोलकाता जानुपथ्र्यो । नेपालमा केही पूर्वाधार नै थिएन । कोलकतामा बाङ्गाली भाषा बोल्ने र बङ्गालीहरुसँग काम गर्न मुस्किल हुने हुदाँ र बम्बै नै माला सिन्हा र बिएस थापाको काम गर्ने थलो भइसकेको हुँदा त्यहीँ गई उक्त सिनेमा बनाउन बुद्धिमानी सम्झ्ईि बम्बै नै जाने तय ग¥यौं, नरशमशेरको जैवनीमा उल्लेख छ ।
‘माइतीघर‘को घायांकन गर्न फिल्मका कलाकार र गायक–गायिकासमेत गरी २२ जनाको टोली बम्बै पुग्यो । टोलीमा निर्माताहरुका साथै भानुलगायत सिपी लोहनी, प्रेमध्वज प्रधान, अरुणा लामा, यमबहादुर थापा, प्रदीप रिमाल, किरण खरेल, टीकाभुषण दाहाल लगायत विविध भूमिकामा आबद्ध थिए । उनीहरु त्यस बेला बम्बैको होटल एम्बासडरमा बसेका थिए ।
नरशमशेरको राजपरिवारसँग निकट सम्बन्ध थियो । बम्बै जानुअघि उनी तत्कालीन राजा महेन्द्र र रानी रत्नराज्यलक्ष्मीलाई भेट्न नारायणहिटी राजदरबार पुगेका थिए । माला सिन्हालाई लिएर नेपाली ‘सिनेमा‘ बनाउने बिन्ती बिसाएपछि महेन्द्रले नरशमशेरलाई सोधेछन्, ‘नर, नेपाली सिनेमा चल्छ र ? अरुले पनि तिमीभन्दा पहिले सेनेमा बनाउन खोजेका थिए । तर कसैले पनि तयार गरी देखाउन सकेनन् । तिमी पनि विचार गर ! पैसा मात्र डुबाउलाउ नि !‘
यस्तो सन्देहका बाबजुद नरशमशेरलाई महेन्द्रले ‘माइतीघर‘का लागि ‘शुभकामना‘ बोलको गीत मात्र लेखिदिएनन्, फिल्म छायांकन गर्ने बेला पोखरामा आफ्नै निजी जिप उपलब्ध गराइदिए । बम्बैको स्टुडियोमा इन्डोर छायांकन गरिएपछि फिल्म काठमाण्डौं र पोखरामा छायांकन भएको थियो । ‘कामना‘ मासिकमा प्रकाशित अन्तर्वातामा नरशमशेरले पोखरामा भएको छायांकनका चुनौतीबारे भनेका छन्, ‘त्यति बेला अहिलेको जस्तो होटल, लजहरुको निर्माण भएको थिएन । पोखरामा आउटडोर सुटिङ हुँदा हामी चौरमा पाल टाँगेर बसेका थियौं । यातायातको साधनको पनि त्यत्तिकै अभाव थियो । राजा महेन्द्रबाट एउटा जिप बक्सेको थियो, एउटा मेरो मोटर थियो । यी दुइटा मोटरले बिहान तीन–चार बजेदेखि कलाकार, प्राविधिक तथा उपकरणहरु सुटिङ स्थलमा ओसारपोसार गर्नुपथ्र्यो ।‘
नरशमशेरका अनुसार ‘माइतीघर‘ निर्माणमा ११ लाख रुपैयाँ खर्च भएको थियो, जसमा केवल तीन–चार लाख रुपैयाँ मात्र उठ्यो । नरशमशेरले भनेको ११ लाख ठ्याक्कै फिल्ममा मात्र खर्च भएको थिएन । होटल एम्बासडरको ‘रमाइलो‘ जमघटले समेत खर्च बढाएको थियो ।
‘होटल एम्बासडरमा ओमप्रकाश, आइएस जोहार, सुनिल दत्त, देवानन्द, गुरु दत्त, गीता दत्त, आशा भोस्ले, जयदेव, धर्मेन्द्र, मेहमुद, जोनी वाकरलगायत टुनटुन पनि दिनहुँजसो भेला हुन्थे । दिनहुँ ड्रिङ्क्स र डिनर त्यहीँ गर्थे । तत्कालीन श्री ५ मुमा बडामहारानी सरकारहरु पनि सुटिङ नजर हुन सवारी भयो । टुनटुनले खुब हँसाई–हँसाई सरकारहरुलाई रिझाएकी थिइन् । सरकारहरुबाट पनि उसलाई निकै रकम इत्यादि निगाह भयो । होटलमा दिनदिनै पार्टी गर्नुपर्दा निकै खर्च बढ्यो । तर रमाइलो भने अति नै भयो ।‘
यो जमघटमा आएका थुप्रै नाम ‘माइतीघर‘मा अभिनय, संगीत, गायनलगायत विधासँग जोडिएका कलाकार हुन् । यस्तो भव्य संलग्नताले ‘माइतीघर‘लाई विशेष चर्चायोग्य बनाएको छ ।
‘माइतीघर‘ बन्ने सोच पलाउँदा बिएस थापा र किशोर तिमिल्सिनाले केन्द्रीय चरित्रमा माला सिन्हालाई अभिनय गराउने कल्पना गरिसकेका थिए । त्यस बेलासम्म सिन्हा बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री बनिसकेकी थिइन् । सम्भवतः सन्हिाका ‘धूलका फूल‘, ‘प्यासा‘ जस्ता फिल्म नेपालीले हेरिसकेका थिए । त्यसैले सिन्हाले नेपाली फिल्म खेल्ने खबर नेपाली दर्शकलाई उत्साहित बनाउन काफी थियो ।
‘माइतीघर‘ फिल्ममा मुख्य भूमिकामा सिन्हासँग अभिनय गर्ने पुरुष कलाकार सिपी लोहनी हुन् । सुरुमा उनी गायकको टोलीमा थिए । तर छायांकन सुरु भएपछि हिरो बन्ने लोभमा निर्माता खोज्न सहयोग गरेका भानुले कसैगरी अभिनय गर्न सकेनन् । भानुको विकल्प खोज्नैपर्ने भएपछि सिपी नायक बने । अर्को संयोग, यही फिल्म छायांकनका क्रममा माला र सिपीबीच माया गाँसियो र पछि उनीहरुले विवाह नै गरे । ‘माइतीघर‘ले नै मालालाई भारत माइतीघर बनाइदियो ।
‘माइतीघर‘सँग गाँसिएका यस्ता सन्दर्भ, संयोग, किस्सा, तथ्य धेरै छन् । ‘माइतीघर‘को संगीत पक्ष पनि धेरै अर्थले विशेष छ । एक दर्जनभन्दा बढी गीत समाविष्ट ‘माइतीघर‘मा भारतीय स्थापित संगीतकार जयदेवले संगीत दिएका थिए । ‘माइतीघर‘को संगीत पनि नेपाली स्रोताले दशकौंदेखि मनपराएर गाउँदै आएका छन् ।
‘माइतीघर‘का गीतमा भारतीय र नेपाली गायक–गायिकाको दुर्लभ जमघट छ । लता, आशा र उषा तीन दिदी–बहिनी एकै ठाउँ । तीनै जनाले ‘माइतीघर‘का गाएका गीत हिट । तीन दिदी–बहिनीसँगै गीता दत्त र मन्ना डेको आवाज । भारतका सुर पारखीहरुसँग यता नेपालका प्रेमध्वज राणा, अरुणा लामा, सिपी लोहनीजस्ता दिग्गजका स्वर मिसिएको थियो । सायद, यस्तो दुर्लभ संगम अर्को नेपाली फिल्ममा भेटिन्न । शीर्षगीत ‘माइतीघर‘लगायत ‘नमान लाज यस्तरी‘, ‘म प्यार बेचिदिन्छु‘, ‘काला कुर्तैले‘, ‘उँभोमा झर्ने वनको बाटो‘, ‘जिन्दगीलाई जित होइन, हारले स्वागत गरी‘, ‘शुभकामना‘ जस्ता गीत विशेष चर्चित भए । यही फिल्मबाट किरण खरेल लोकप्रिय गीतकारमा स्थापित भए । भनिन्छ, तत्कालीन राजा महेन्द्रले लेखेका ‘शुभकामना‘ बोलको गीत लताले पारिश्रमिक नलिई गाइदिएकी थिइन् ।
‘माइतीघर‘को संगीत ध्यान दिएर सुन्ने हो भने यसमा नेपाली लोकसंगीत भरपूर प्रयोग गरिएको छ । तर यसको श्रेय जयदेव एक्लैलाई दिन भने मिल्दैन । जयदेवलाई नेपाली संगीतको आत्मा लोकसंगीत र यहाँका लोकनृत्य हुन् भन्ने बुझाउन फिल्मका निर्देशक–निर्माताहरुले विशेष समय खर्चेका थिए । लोकसङ्कलक प्रदीप रिमाललगायत सिपी लोहनी, अरुणा लामा र पे्रमध्वज प्रधानले जयदेवसँग राम्रै समय बिताएपछि मात्र ‘माइतीघर‘को संगीत तयार पारिएको थियो । यो पूर्वभ्यास नै ‘माइतीघर‘को संगीत दीर्घायु हुनुको मूल कारण हो ।
नेपाली गायक–गायिका बम्बै पुगे जस्तै जयदेव पनि त्यस बेला नेपाल आएका थिए । केही वर्षअघि वागबजारस्थित उनकै घरमा ‘माइतीघर‘को चर्चित गीत ‘नमान लाज यस्तरी‘का गायक प्रेमध्वज प्रधानसँग संवाद गर्ने अवसर जुरेको थियो । उनले भनेका थिए, ‘माइतीघर‘का लागि प्लेब्याक सिङ्गर खोज्न संगीतकार जयदेव काठमाण्डौं आएका थिए । न्युरोडको होटलमा बसेका उनका सामु मैले हिन्दी सिनेमा दोस्तीको चारओटा गीत गाएर सुनाएँ । जयदेवले मेरो स्वर मन पराए ।‘
त्यस बेला प्रेमध्वज अमेरिकन लाइब्रेरीमा काम गर्थे । एक महिनाको बेतलबी बिदा मागेर उत्साही हुँदै गीत रेकर्ड गर्न उनी बम्बै गए । उनले त्यस बेला उषा मङ्गेशकरसँग गाएको युगल गीत ‘नमान लाज यस्तरी‘ ‘माइतीघर‘कै चर्चितमध्येको गीत बन्यो ।
त्यही बेला जयदेवसँग विशेष सम्बन्ध गाँसिएको उनले भनेका थिए । ‘जयदेवले मलाई बम्बैको सिनेमा र संगीतको काम कसरी हुन्छ भन्ने बुझाउन धेरै सहयोग गरे । उनले मलाई सुगम संगीत र पाश्र्व गायनका लागि चाहिने टेक्निक सिकाउँथे । मेरो लागि उनी संगीत गुरु नै बने, ‘उनले भनेका थिए ।
‘नमान लाज यस्तरी‘, ‘प्राणभन्दा प्यारो माइतीघर‘ बोलको गीत नयाँ पुस्ताका गायक–गायिकाले समेत अहिलेसम्म रिमिक्स–रिमेक गरी गाउनुले पनि ‘माइतीघर‘को संगीतको लोकप्रियता पुष्टि गर्छ ।
लक्ष्मीनाथ शर्माका अनुसार, ‘माइतीघर‘ २०२३ पुस १ देखि सार्वजनिक प्रदर्शनमा आयो । बम्बै पुगी जम्बो टोलीका साथ काम गर्ने क्रममा फिल्मको लागत बढेर निर्माताले ‘घाटा बेहोरा बयान दिए‘ पनि ‘माइतीघर‘ असफल भन्न मिल्ने चलचित्र कदापि होइन । ‘माइतीघर‘ भयङ्कर हिट भएको निर्देशक–अभिनेता नीर शाह बताउँछन् ।
आफू पढाइका सिलसिलामा दार्जीलिङ रहँदा ‘माइतीघर‘ सार्वजनिक प्रर्दशनीमा आएको कुरा उनी यसरी सम्झन्छन््, ‘माइतीघर रिलिज भएका बेला म दार्जीलिङमा विद्यार्थी थिएँ । दार्जिलिङमा दुइटा सिनेमा हल छन्, क्यापिटल र रिन्क भन्ने । क्यापिटलमा अङ्गे्रजी सिनेमा मात्रै चल्थ्यो । ‘माइतीघर‘ रिन्कमा चलेको थियो । त्यस बेला ‘माइतीघर‘ हेर्न दार्जिलिङ बाहिरबाट समेत दर्शक आउँथे । उनीहरु दुईतीन दिनसम्म सिनेमा हेर्न कुरेर त्यहीँ हलमै बिस्तरा हालेर सुत्थे । हलभित्र नअटेर बाहिर चिसोमा टेन्ट हालेर समेत सुतेका हुन्थे मान्छेहरु ।‘
‘माइतीघर‘ बाहिर जस्तै काठमाण्डौं पनि ‘भयङ्कर‘ चलेको उनको स्मृतिमा ताजै छ । ‘माइतीघर‘
बम्बैकै जनशक्तिबाट निर्माण भएको बलिउड सूत्रकै व्यापारिक उद्देश्य बोकेको फिल्म थियो । यर्थाथभन्दा परको अतिरञ्जनामा भुलाउने नाटकीय प्रस्तुतिका फिल्मको ट्रेन्ड आज पनि जारी छ । यस्तो परम्परा बसाउन योगदान दिएकोमा ‘माइतीघर‘लाई आलोचनात्मक हिसाबले मूल्याङ्कन गर्ने प्रशस्तै ठाउँ छ । तर नेपाली दर्शकलाई नेपाली भाषाकै मनोरञ्जनात्मक खुराक दिने हिसाबले ‘माइतीघर‘ पहिलो रहेको कुराको महत्व पनि कम छैन ।
श्यामश्वेत जमानमा पनि ‘माइतीघर‘को ‘ग्ल्यामर‘ आजको रङ्गीन फिल्मभन्दा अझै बढी थियो कि ! किनकि त्यस बेला ‘माइतीघर‘ अघि नेपालीमा बनेको चलचित्र भनेको ‘आमा‘ मात्र थियो । ‘आमा‘ सरकारको लगानीमा बनेको थियो भने ‘माइतीघर‘ निजी क्षेत्रबाट । हुन त नरशमशेरको सम्बन्धले गर्दा ‘माइतीघर‘लाई दरबारको निगाह मिलेकै हो । यही पहुँचले गर्दा राज्यबाट फिल्मको कच्चा सामग्री आयातमा भन्सार छुटसमेत दिइएको थियो । राजपरिवारका सदस्यले ‘माइतीघर‘ छायांकन हुँदा उपस्थित हुनेदेखि प्रदर्शनमा आएपछि सिनेमा हलमा गएर फिल्म हेर्नेसम्मको प्रोत्साहन पनि दिएकै हुन् । यसका बावजुद ‘माइतीघर‘ले व्यावसायिक फिल्म निर्माण परम्पराको जग हाल्न खेलेको तथ्य नजरअन्दाज गर्न सकिँदैन ।
‘आमा‘ चलचित्रको राजनीतिसँग गाँसेर तुलना गर्दा माइतीघरको भूमिका र महत्व छर्लङ्ग हुन्छ । ‘माइतीघर‘ र ‘आमा‘को छायांकन भएको समय र प्रदर्शनमा आएको मितिमा धेरै समयको अन्तर छैन । तर ‘आमा‘ पञ्चायती व्यवस्थाको प्रचार गर्न बनाइएको फिल्म थियो भने ‘माइतीघर‘को निर्माणको उद्देश्य दर्शकलाई मनोरञ्जन दिनु थियो ।
नेपाली चलचित्र निर्माणको आरम्भ र उद्देश्य पञ्चायती राजनीतिक विचारधाराको प्रयोगसँग गाँसिएको छ । राजा महेन्द्रले ‘आमा‘ बन्नुअघि नै यसका निर्देशक हीरासिंह खत्रीलाई भारतबाट नेपाल बोलाई दुईओटा वृत्तचित्र निर्माण गर्न लगाएको कुराबाटै यो पुष्टि हुन्छ । त्यसपछि उनै सिंहलाई राजा महेन्द्रले पञचायतीको पक्षपोषण गर्ने ‘आमा‘, ‘हिजो आज भोलि‘ (२०२४) र ‘परिवर्तन‘ (२०२७) मा निर्देशन गर्न लगाए ।
‘माइतीघर‘ बन्ने बेला सिनेमाका कथा–पटकथा दरबारले पास नगरी बनाउन पाइँदैन थियो । चलचित्र जस्तो आममान्छेसँग जोडिने सशक्त विधालाई आरम्भकालमै राज्यले राजनीतिक हतियार बनाएकाले यो स्वस्थ र स्वतन्त्र रुपमा फस्टाउन नपाएको अनुसन्धाता अनुभव अजित तर्क गर्छन् । मिडिया अध्ययन २ जर्नलमा उनको मत छ, ‘पञ्चायतको राजनीतिक सेपमा नेपाली चलचित्र स्वस्थ र स्वतन्त्र रुपमा फस्टाउनै पाएन, यसको बहुआयामिक विकास नै भएन ।‘
पञ्चायती विचारधारा फैलाउने प्रोपोगान्डा फिल्मको गुगमा अनुभव अजित पनि ‘माइतीघर‘लाई अपवाद मान्छन् । यद्यपि यसमा पनि राजपरिवारको रुचि भने अवश्य थियो, राजाको गीत राखिएकै थियो र चलचित्र सार्वजनिक मिति पनि पुस १ कै साइत पारेर गरिएको थयो ।
२०२१ देखि २०४६ सालको अवधिमा नेपालमा करिब ४० फिल्म बनेको देखिन्छ । २०३९ मा निजीस्तरबाट ‘जुनी‘ बन्नुअघिसम्म ‘माइतीघर‘ नेपालको एउटै मात्र निजी चलचित्रका रुपमा अपवाद बनिरह्यो । ‘माइतीघर‘को यो विशेषता नै यसको इतिहासलाई महत्व दिनुपर्ने र यसलाई सेलिब्रेट गर्नुपर्ने कारण हो ।
नेपालमा हाल बर्सेनि ५० भन्दा बढी भन्दा बढी सिनेमा प्रदर्शन हुन्छन् । नेपाली सिनेमाप्रेमीलाई हरेक साताजस्तो नयाँ सिनेमा हेर्ने अवसर छ । सिनेमा हल नगई घरमै बसर युट्युब, टेलिभिजन र एप्समा समेत नेपाली सिनेमा हेर्न पाउनु सामान्य बनिसकेको छ । तर ५० वर्षअघिको परिदृश्य सम्झ्ने हो भने, नेपाली दर्शक सिनेमा हलसम्म गएर धेरैजसो हिन्दी फिल्म हेर्न बाध्य थिए । सरकारको निगाह पाउँदापाउँदै पनि नेपाली सिनेमालाई सरकारी हस्तक्षेपबाट बाहिर निकाल्न ‘माइतीघर‘ले निजी ब्यानरका लागि ढोका खोलिदिएको कुरा सराहनीय छ ।
त्यो समयमा ‘माइतीघर‘ले नेपाल र नेपालीभाषी दर्शकलाई सिनेमा मात्र दिएन बरु नेपाली लोकजीवनमा अर्को एउटा उपहार पनि दिएर गयो । त्यो हो माइतीघरको नामाकरण । हो, आज काठमाण्डौं मुटुमा रहेको माइतीघर चोकको नाम ‘माइतीघर‘ फिल्मकै कारण बनेको हो । नेपालभाषीका लागि प्राचीन ‘फिब्व ख्यः‘ पछिपछि बबरमहल नामबाटै चिनिन थालेको थियो ।
मल्ल के सुन्दरले नयाँ पत्रिकामा लेखेअनुसार ‘माइतीघर‘ निर्माणताका कार्यालय प्रयोजनका लागि थापाथली धानगोदाम छेउको एकतले घरमा कोठा बहालमा लाइएको थियो । सार्वजनिक जानकारीका लागि सबैले देख्ने गरी सानो साइनबोर्ड र ‘माइतीघर‘ चलचित्रको पोस्टर झुन्ड्याइएको थियो ।
यसै सन्दर्भमा निर्देशक बिएस थापाले भनेका छन्, ‘२०२३ अघि त्यो ठाउँ बबरमहल भनेरै चिनिन्थ्यो । हालको माइतीघरको मुखैमा ‘माइतीघर‘ फिल्म युनिटले अफिस राखेको थियो । र चलचित्रसम्बन्धी प्रायः काम सोही स्थानबाट हुन्थ्यो । आउँदा–जाँदा मानिसहरुले त्यो ठाउँलाई माइतीघर भन्न थाले भन्दा भन्दै सो स्थानको नाम नै माइतीघर बन्न पुग्यो ।‘
यस्तै अनेक इतिहास, सन्दर्भ र संयोगले ‘माइतीघर‘ को साख आज पनि बाँचिरहेको छ ।
नेपाल चलचित्र निर्माता संघको सिनेमा विशेषाङ्कबाट साभार : माइतीघरमा समर्पित