अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा श्रेष्ठ नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएकी छन् । पेशाले आइटी इन्जिनियर भए पनि उनले कला, साहित्य र संगीतप्रतिको मोहलाई निरन्तर सिर्जनामार्फत अभिव्यक्त गरिरहेकी छन् । उनका गीतमा प्रेम, आत्मीयता, बिछोड र जीवनका विविध अनुभूतिहरू भावपूर्ण रूपमा प्रस्तुत हुने गरेका छन् ।
रिमाले अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, प्राश्ना शाक्य, मेनुका पौडेल, अस्मिता अधिकारी, राजेश पायल राई, किरण गजमेरलगायत चर्चित कलाकारहरूसँग सहकार्य गरिसकेकी छन् । उनले आफ्ना सिर्जनाहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएकी छन् ।
विगत ६ वर्षदेखि नेपाली समुदायसँग आबद्ध संस्थामा सल्लाहकारको भूमिकामा सक्रिय रिमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा सांगीतिक गतिविधिमार्फत प्रवासमा नेपालीपन जगेर्ना गर्न लागिपरेकी छन् ।
यसैबीच, उनको नयाँ गीत ‘बलमा माइचा हाकुमा दाइचा’ चर्चामा रहेको छ। गीतमा रिमाकै शब्द, सञ्जीत श्रेष्ठको संगीत तथा प्राश्ना शाक्य र राज सायमीको स्वर रहेको छ । भिडियोमा सुदित श्रेष्ठ र सृष्टि महर्जनको अभिनय देख्न सकिन्छ भने निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । उत्सव दाहालको छायांकन, बिजेश पौडेलको सम्पादन र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको पोस्ट–प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको हो ।
प्रवासमा रहेर पनि नेपाली संगीत, भाषा र संस्कृतिलाई निरन्तर प्रवर्द्धन गर्दै आएकी रिमा श्रेष्ठ आज प्रेरणादायी स्रष्टाका रूपमा स्थापित हुँदै गएकी छन् ।