आजदेखि देशभरका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्म ‘काजी’ र ‘मितज्यू’ प्रदर्शनमा आएका छन् । फरक विषयवस्तु र शैलीमा निर्माण भएका यी दुवै फिल्मले दर्शकमाझ उत्साह पैदा गरेका छन् ।
निर्देशक लक्ष्मण रिजालको फिल्म ‘काजी’ प्रेमकथामा आधारित छ । फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा देखिएका छन् । काजी र कजिनीबीचको सम्बन्ध, भावना र सामाजिक परिवेशलाई केन्द्रमा राखेर तयार गरिएको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, विशाल पहारी र हेमन्त बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भारद्वाजको कथा रहेको फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । पारिवारिक दर्शकलाई लक्षित गर्दै फिल्मले केन्द्रीय चलचित्र जाँचपास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ । फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ । नेपालभर फिल्मको वितरण श्रीराम बालाजी फिल्मस्ले गरेको हो ।
त्यसैगरी, ग्रामीण परिवेश र सम्बन्धको कथामा आधारित फिल्म ‘मितज्यू’ले मित्रता, गाउँघरको जीवनशैली र सामाजिक सम्बन्धलाई मुख्य विषय बनाएको छ । अनिल बुढा मगर निर्देशित फिल्ममा दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा छन् भने चर्चित डान्सर टेरिया फौजा मगरले यसै फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी छन् ।
फिल्ममा खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा र सुवर्ण थापालगायत कलाकारको अभिनय रहेको छ । ‘मितज्यू’ ले पनि ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ ।
जिएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ गीत सामाजिक सञ्जाल टिकटक र युट्युबमा चर्चित भइसकेका छन् । यही कारण फिल्मप्रति युवा दर्शकको आकर्षण उल्लेख्य देखिएको छ ।
शिशिर विशंखेको छायांकन, लोकेश बज्राचार्यको सम्पादन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको फिल्म ‘मितज्यू’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ । फिल्मको वितरण आरआर फिल्मस्ले गरेको हो ।
यो शुक्रबारबाट प्रदर्शनमा आएका ‘काजी’ र ‘मितज्यू’ मध्ये कुन फिल्मले दर्शकको बढी साथ पाउने हो भन्ने चासो अहिले नेपाली फिल्म बजारमा बढेको छ ।