नेपाली चलचित्र ‘कुम्भु’को नयाँ रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार आरएए डिजिटल नेपालमार्फत गीत सार्वजनिक गर्दै चलचित्रप्रति दर्शकमाझ थप उत्साह सिर्जना गर्ने प्रयास गरेको हो ।
गीतमा गायक मनिष शाहीको स्वर रहेको छ भने शब्द चलचित्रका लेखक तथा निर्देशक रन्धिर श्रेष्ठले तयार पारेका हुन् । गीतमा डीजे एएनको संगीत रहेको छ ।
सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकार अशोक आर्यन र सृष्टि खड्काबीचको प्रेमिल सम्बन्धलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । प्रेम, भावना र सम्बन्धको मिठासलाई केन्द्रमा राखेर तयार पारिएको गीत दर्शकले मन पराउने निर्माण पक्षको विश्वास छ ।
एक्सन तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘कुम्भु’मा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा र मुन्ना सर्राफलगायत कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रको लेखन, निर्देशन, छायांकन तथा सम्पादन रन्धिर श्रेष्ठ स्वयंले गरेका हुन् । साथै चलचित्रमा सम्राट बस्नेत, प्रदीप खड्का ९भारत०, सञ्जय थापा र कुमार महर्जनको एक्सन निर्देशन रहेको छ भने कोरियोग्राफी रोबर्ट सिंहले गरेका छन् ।
आरएएस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र आगामी मे २९ अर्थात् जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । यसअघि सार्वजनिक गरिएको चलचित्रको टिजरले पनि राम्रो चर्चा बटुलिसकेको छ ।