काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शनिबार सम्पन्न तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड जित्दै विशेष सफलता हासिल गरेको छ । आर्टमाण्डू नेपालको निर्माणमा बनेको उक्त चलचित्रले उत्कृष्ट फिचर फिल्मको उपाधि हात पार्दा अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता तथा निर्देशक नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भए ।
महोत्सवमा चलचित्र ‘जेरी अन टप’बाट अभिनेत्री जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन् । अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको थियो। कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गरे भने उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङलाई प्रदान गरियो। मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ उत्कृष्ट सर्ट फिल्म घोषित भयो। त्यस्तै ‘प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई कर्णाली भिजनरी अवार्डबाट सम्मानित गरिएको थियो।
अवार्ड ग्रहणपछि अभिनेत्री जसिता गुरुङले आफ्नो पहिलो अवार्डलाई दर्शकप्रति समर्पित गर्दै खुशी व्यक्त गरिन् । ‘सोसियल आइकन एक्टर अवार्ड’ प्राप्त गरेका अभिनेता पल शाहले उक्त सम्मानले आफूलाई अझ जिम्मेवार बनाएको प्रतिक्रिया दिए । उनले आफ्नो संस्थामार्फत सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए । पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशक बन्न सफल नवीन चौहानले आफ्नो कामको मूल्यांकन भएकोमा आयोजकप्रति आभार व्यक्त गरे ।
डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहमा ‘इतिहासलाई फर्केर हेर्दा स् पहिलो चलचित्र अवार्ड संवाद’ विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको थियो । वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त संवादलाई निर्देशक तथा चलचित्र इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेका थिए । कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र अभिनेत्री शर्मिला मल्लले नेपाली चलचित्र क्षेत्रका पुराना अनुभवहरू साझा गरेका थिए ।
समारोहमा वरिष्ठ कलाकार शिव श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, अभिनेत्री रेखा थापा, कलाकार हिमेश पन्त, निर्माता प्रेम पुरी, गीतकार हर्क साउद, अभिनेत्री सुरक्षा पन्त, निर्देशक तथा निर्माता सन्तोष सेनलगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीको कला, संस्कृति र पर्यटनलाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । नेपाल पर्यटन बोर्डका वरिष्ठ म्यानेजर सूर्य थपलियाले चलचित्र र पर्यटनबीचको सम्बन्ध तथा पर्यटन प्रवर्द्धनमा बोर्डको भूमिकाबारे धारणा राखेका थिए ।
महोत्सवकी संरक्षक भवानी राणाले आयोजक संस्था ‘रेड चेरी मिडिया’लाई शुभकामना दिँदै आगामी दिनमा पनि महोत्सवले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् । सल्लाहकार डा। महेन्द्रकुमार मल्लले आगामी संस्करणहरूलाई अझ व्यवस्थित र जिम्मेवार ढंगले अघि बढाइने जानकारी दिए ।
यस वर्षको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाख १२ गते सुर्खेतबाट सुरु भएको थियो। महोत्सवअन्तर्गत सल्यानको प्रसिद्ध कुपिण्डे दह क्षेत्रमा ‘कुपिण्डे दह चलचित्र तथा पर्यटन महोत्सव’ समेत आयोजना गरिएको थियो ।