चलचित्र पत्रकार संघ नेपालले आफ्नो २७ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने विभिन्न पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८३ अन्तर्गत नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित अनन्त वाग्लेलाई सम्मान गरिएको थियो । त्यस्तै राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३ जयन सुब्बा मानन्धर र कुबेरराज गिरीलाई प्रदान गरियो ।
यसैगरी, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ अन्तर्गत नगद ५१ हजार रुपैयाँसहित वैकुण्ठराज पराजुली पुरस्कृत भए भने स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३ अन्तर्गत सुरक्षा भट्टराई सम्मानित भइन् । राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान–२०८३ अन्तर्गत मिलन ढुंगानालाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । कार्यक्रममा स्वर्गीय दिनेश सिटौलाप्रति मरणोपरान्त विशेष सम्मानसमेत अर्पण गरियो ।
चलचित्रकर्मी, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको थियो। सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दिनेश डीसीले नेपाली चलचित्र पत्रकारिता क्रमशः व्यवस्थित र मर्यादित बन्दै गएको उल्लेख गर्दै चलचित्र प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पत्रकारितामा अनुशासन, नैतिकता र जिम्मेवारीलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे ।
विशेष अतिथि अभिनेता राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै प्रविधि र ‘क्लिक कल्चर’को चुनौतीबीच तथ्यपरक पत्रकारिताको आवश्यकता बढेको बताए । अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रलाई दर्शकमाझ पुर्याउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउँदै कलाकार र पत्रकारबीचको सहकार्य अझ मजबुत हुनुपर्ने धारणा व्यक्त गरिन् ।
संघका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई थप जिम्मेवार, मर्यादित र संगठित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष भरत शाक्यसहित संस्थापक सदस्यहरूप्रति सम्मान प्रकट गरिएको थियो भने निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।