नेपाली चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘मेरो लागि तिमी’ सार्वजनिक गरिएको छ । भावनात्मक शैलीमा तयार गरिएको गीतले आमा–बुबा र सन्तानबीचको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको छ ।
गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको रहेको छ । गीतमार्फत सन्तानका लागि आमा–बुबा नै भगवान र मन्दिरसरह हुने भाव व्यक्त गरिएको छ । आफ्ना इच्छा र सुख त्यागेर सन्तानको भविष्यका लागि संघर्ष गर्ने अभिभावकको माया र समर्पणलाई गीतले मार्मिक ढंगले चित्रण गरेको छ ।
सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारलाई प्रस्तुत गरिएको छ भने चलचित्रका विभिन्न दृश्यहरू पनि समावेश गरिएको छ ।
विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’लाई जोन योञ्जनले निर्देशन गरेका हुन् । चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारतर्फ निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ ।
निर्माण टिमका अनुसार चलचित्रले विद्यार्थीको मनोविज्ञान र अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरलाई कथावस्तु बनाएको छ । शिक्षा प्रणालीका कारण बालबालिकाको जीवनमा देखिने मानसिक दबाब र त्यसको दीर्घकालीन प्रभावलाई चलचित्रले उठान गर्ने बताइएको छ ।
महेश दवाडीको लेखन रहेको चलचित्रमा डीओपी शिवराम श्रेष्ठ, संगीत प्रशान्त शिवाकोटी, विजिएम रोहित शाक्य, सम्पादन मदन घिमिरे तथा प्रोडक्सन डिजाइन कला संग्रौलाको रहेको छ । चलचित्रका सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् भने जान्वी पौडेल सह–निर्माताको भूमिकामा छिन् ।
निर्माता विनोद पौडेलका अनुसार ‘रोल नं १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्नेछन् ।यस चलचित्र आगामी जेठ १५ गते प्रदर्शनमा आउन लागेको हो ।