नेपाली चलचित्र ‘बेहुली’को छायाङ्कन सम्पन्न भएको छ । निर्माण टिमका अनुसार ४५ दिनमा चलचित्रको मुख्य छायाङ्कन सकिएको हो भने दुईवटा गीतको दृश्यांकन अझै बाँकी रहेको छ ।
‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुति रहेको चलचित्र आगामी भदौ १२ गते, जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । हरितालिका तीज नजिकको समयलाई लक्षित गर्दै चलचित्रको कथा र परिवेशले दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको विश्वास छ ।
‘होस्टेल ३’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका पारस बम ठकुरी यस चलचित्रमा दिव्या रायमाझीसँग प्रेमकथामा देखिनेछन् । उनीहरूको स्क्रिन केमेस्ट्रीलाई लिएर दर्शकमाझ चासो बढेको निर्माण टिमले जनाएको छ ।
चलचित्रका निर्देशक सशान कँडेल हुन् भने कथा माधव शर्माले लेखेका छन् । सुपरहिट चलचित्र ‘होस्टेल ३’मा समेत यही निर्देशक–लेखक जोडीले सहकार्य गरेका थिए । चर्चित सङ्गीतकार अर्जुन पोखरेलले पहिलो पटक यस चलचित्रमार्फत निर्माता रूपमा काम गरेका छन् ।
चलचित्रमा पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अबिरल श्रेष्ठ, सबिन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
सुमन थिङ तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा दुर्गा खरेल र रमेश सिलवाल सह–निर्माताको रूपमा छन् । शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसर रहेका छन् । नरेन्द्र मैनाली डीओपी रहेको चलचित्रको सम्पादन विकास दाहालले गर्नेछन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठले सम्हालेका छन्। मुख्य सहायक निर्देशक सुदीप कुँवर, सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन्।
राजु वाइबाको मेकअप, किशोर नेपालको प्रोडक्सन डिजाइन तथा एलेक्स बासुकलाको पहिरन डिजाइन रहने चलचित्रको पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन् । चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ ।