–विमल आचार्य
नेपालमा बनेको पहिलो सिनेमा मानिने ‘आमा’का लेखक, सहायक निर्देशक तथा कलाकार दुर्गाप्रसाद श्रेष्ठ ०८० को शरदमा ८४ मा छन् । उमेर जति नै भए पनि भैंसेपाटीदेखि रत्न पुस्तक भण्डार, वागबजारसम्म उनी भण्डारको कामका खातिर अवातजावत गरिरहन्छन् । नेपाली ‘योगीको आत्मा कथा’ अनुवाद गरेका उनी विशालकाय ग्रन्थ ‘हिमवत्खण्ड’लाई संस्कृत\नेपालीबाट हिन्दीमा रुपान्तरण गर्न अहिले २१ औं नम्बरको ठूलो कापीमा दिनहुँ धमाधम लेखिरहेका छन् । दुर्गाप्रसाद सिनेमा लेखक मात्र होइनन्, उनका कथा, उपन्यास, यात्रा पुस्तक प्रकाशित छन् । आफ्ना पिता काशीबहादुर श्रेष्ठले भारतको वाराणसीबाट १९९३ देखि प्रकाशन सुरु गरेको ‘उदय’लाई ०८० वैशाखसम्म हिँडाए, उनले । दुई वर्षपहिले मदन पुस्कार गुठीले उनलाई जगदम्बाश्री सम्मान प्रदान गरेको थियो, जहाँ लेखिएको थियो, ‘नेपालको चलचित्र इतिहासको प्रारम्भिक कालमा उल्लेखनीय भूमिका निर्वाह गरेका तथा भारतमा नेपालको पुरानो बनारस–विरासत जोगाउन कार्यरत, अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा, साहित्यसेवामा तल्लीन रहेर नेपाली साहित्यिक पत्रिका ‘उदय’को आठ दशकदेखिको प्रकाशनलाई निरन्तरता दिँदै... ।’ कोभिडकालपछि बनारस छाडेर काठमाण्डौं सरेका उनलाई लेखक इन्द्रबहादुर राईले ‘नेपाल र भारतका कला–सेतु’ भनेका थिए । उनै दुर्गाप्रसादसँग विमल आचार्यको ‘आमा’–संवादः
यहाँका परिचय अनेक छन् तर हामी यो वार्तामा सिनेमाको मात्र कुरा गर्नेछौं, तपाईँ ‘आमा’की आमा हुनुभयो, कसरी जोडिनुभयो ?
म बनारसमा हिन्दी साहित्यमा एमए पढ्दापढ्दै काठमाण्डौं आएको थिएँ । मैले बनारसमा पढाएकी चेलीको बिहा यता हुँदै थियो । मेरी चेलीको विवाह डा. हेमाङ्ग दीक्षितसँग हुन लागेको थियो ।
संयोगले नारायणप्रसाद बाँस्कोटासँग भेट भयो । उहाँ ०१७ सालको राजनितिक परिवर्तनपछि प्रचार विभाग (पछि सूचना विभाग) को निर्देशक नियुक्त हुनुभएको थियो । उहाँले मेरो कविता पहिल्यै आफूले सम्पादन गर्ने पत्रिका ‘प्रगति’मा छापिसक्नुभएको थियो । उहाँले मलाई पञ्चायतसम्बन्धी सामग्री लेखाइरहनुहुन्थ्यो । त्यस बेला पञ्चायत मन्त्रालयअन्तर्गत प्रचार तथा प्रसार विभाग (रेडियो नेपाल) थियो । त्यहाँ राजपत्राङ्कित तहको विज्ञापन गरिएको थियो । उम्मेदवारहरुले पञ्चायतसम्बन्धी लेख लेख्नुपथ्र्यो । सचिव कुलशेखर शर्माले मेरो लेख पढेर अन्तर्वार्ता लिनुभयो । करिब दुई सय जनाबाट मलाई छान्नुभयो । यसैबिच मेरा बुबा काशीबहादुर श्रेष्ठ (‘उदय’ पत्रिकाका संस्थापक सम्पादक) लाई राजा महेन्द्रमार्फत काठमाण्डौं डाकियो, ‘गोरखापत्र’को सम्पादक नियुक्ति गर्न । तर उहाँले अस्वीकार गरिदिनुभयो । बरु ‘उदय’का लागि विज्ञापन माग्नुभयो । त्यति बेला राजाले दिएको १२ सय रुपैयाँको सहयोगले मेरो कथासङ्ग्रह ‘सम्झनाको बादल’ छापियो ।
म प्रचार विभागमा काम गर्दै गर्दा सिनेमा बनाउने कुरा उठ्यो । चलचित्र क्षेत्रमा काम गरिरहेका नेपालीभाषी हीरासिंह खत्रीलाई बम्बईबाट बोलाइयो । भारतमा राजाको राजकीय भ्रमणका क्रममा उनीसित भेट हुँदा ‘नेपालमा काम गर्छौ’ भनी सोध्दा ‘मौका पाए गर्छु’ भन्ने जवाफ दिएका रहेछन् । उनी नेपाल आए ।
हीरासिंह नेपाल आएपछि काम सुरु भयो ?
उनी काठमाण्डौं आएपछि नारायणप्रसाद बाँस्कोटासहित लाजिम्पाटको इम्पिरियल होटलमा छलफल सुरु भयो । चलचित्रको कथा, डायलग मैले लेख्ने सल्लाह भयो । कलाकार र गीतकार सांस्कृतिक संस्थान, रेडियो नेपालबाट छान्ने क्रम सुरु भयो । क्यामेराम्यानका रुपमा कोलकताबाट गुजराती देवजी भाइलाई बोलाइयो । सांस्कृतिक संस्थानबाट भुवन थापा, चैत्यदेवी, विमलादेवी, वसुन्धरा भुसाल अनि रेडियो नेपालबाट शिवशंङ्कर मानन्धर, तारादेवी, नारायणगोपाल आदिलाई छनोट गरियो । हरिप्रसाद रिमाल, इन्द्रलाल (तबलावादक), उत्तम नेपाली, भैरवबहादुर थापा (भुवन थापाका पिता) पनि टिममा जोडिने कुरा भयो ।
देवजी भाइबाट सबैको स्क्रिन टेस्ट (फोटो खिच्दा राम्रो आउने÷नआउने यकिन गर्नु) गरियो । सबैभन्दा पहिले गीत रेकर्डिङको काम भयो । ‘पञ्चै हो यो देश बनाइदेऊ’ गीत लक्ष्मण लोहनीले लेखेर दिएपछि राजाबाट स्वीकृति पाएर यसैलाई ‘टाइटल सङ’ बनाइयो । चैत्यदेवीलाई नेपाल आमाको रुपमा चित्रित गरियो ।
आमा पञ्चायती राजनीति बुझाउने प्रोपगान्डाअनुरुप बनेको सिनेमा हो कि होइन ?
राजाको चाहना र सरकारको खर्चम बनेको हुँदा सरकारी चाहनाअनुरुप नै बनेको हो । निर्देशक र मेरो सल्लाह ‘पञ्चायत’ शब्द उच्चारण नगरीकनै सिनेमा बनाउने भन्ने थियो । मैले लेखेको डायलगमा ‘पञ्चायत’ छैन पनि । तर कताबाट हो, ‘पञ्चै हो यो देश बनाइदेऊ’ गीत सिनेमामा पर्न गयो । यही गीतमा मात्र ‘पञ्च’ शब्द छ । राजनीति आफ्नो ठाउँमा छ । तर हामीले सिनेमामा कलालाई कम महत्व दिएका थिएनौं ।
स्क्रिप्ट कसरी लेख्नुभयो ?
कथा त पहिल्यै छलफल भएको थियो । तर स्क्रिप्ट भने पहिल्यै सबै लेखिएको होइन । सम्पूर्ण कथाको खाका तयार भएपछि हरेक दिन सुटिङको योजना र डायलगहरुबारे एक दिन पहिले हीरासिंह बसेको होटलमा बसेर तयार गरिन्थ्यो ।
त्यस कालखण्डका सिनेमा बलिउडको नक्कल गरेर लेखिन्थे भनिन्छ, तपाईंले कसरी लेख्नुभयो ?
‘आमा’पछि बन्ने सिनेमा कसरी लेखिए, मलाई थाहा छैन । मैले धेरै नेपाली फिल्म नहेरेको हुँदा यस्तै थिए भन्न सक्दिनँ । तर ‘आमा’को कुरा गर्दा डायलग मैले नै लेखेको हुँ । म बनासरमा जन्मे–हुर्केको हुदाँ मेरो नेपाली भाषामा हिन्दी प्रभाव कतै थिएन, म भन्न सक्दिनँ । निर्देशकदेखि प्राविधिक सबैजसो भारतकै भएको हुँदा पूर्ण नेपालीपन थिएन पनि होला । तर भाषा, कला विद्या, शिक्षा, साहित्य, सिनेमालाई म कुनै देशभित्र कैद गर्नुपर्छ, पूर्ण मौलिक भन्ने मान्यतामा कठोर छैन । निर्देशक हीरासिंहलाई नेपाली बोल्न आए पनि नेपाली लेख्न भने धेरै गाह्रो हुन्थ्यो । उहाँसितको सल्लाहमा मैले डायलग लेख्थें । सुटिङ सुरु हुनुअघि तत्तत् दिनका लागि संवाद लेखिन्थ्यो ।
सुटिङ कसरी सुरु भयो ?
कोलकतामा गीत रेकर्डिङपछि फिल्मको पहिलो सुटिङ रक्सौलबाट सुरु भयो । लाहुरे बनेका शिवशङ्कर भारतीय सिमाना पार गरेर नेपाली रेल (वीरगन्ज–अमलेखगन्ज) चढ्छन् । उनको सहयात्री म (दुर्गाप्रसाद) सँग कुरा गर्न थाल्छन् । मेरो यत्ति नै अभिनय हो, सनेमामा । यो रोल मोरे भन्ने पनि मलाई थाहा थिएन । निर्देशकले हिरो कहाँ एक्लै चढ्छ त, जाऊ साथी बन भनेपछि म उनको साथी बनें । आफैले लेखेका डायलग बोल्न नि गाह्रो हुँदो रहेछ । बोल्न भन्दा लेख्न सजिलो ।
नेपालका कहाँ सुटिङ गर्नुभयो ?
रेलयात्रापछि सबै सुटिङ ककनीमा भयो । १५ दिन जति ककनीको मनोरम प्राकृतिक वातावरण र गाउँले परिवेशमा हामी रमाएका थियौं । हामीलाई ककनी जाने–आउने र खाने–बस्ने व्यवस्था सेनाले गरेको थियो । राजाका मुख्य पाश्र्ववर्ती जर्नेल शेरबहादुर मल्ल हीरासिंहका देहरादुनका साथी रहेछन् । त्यसैले सुटिङका क्रममा हीरासिंहले चाहेको तुरुन्तै पूरा भयो । ककनीको सुटिङ सकिएपछि हामी कोलकता हिँड्यौं, सुटिङका लागि ।
कोलकतामा के–के भयो ? सुटिङ रमाइलो के–के सम्झिनुहुन्छ ?
सिनेमामा उत्तम नेपाली जमिनदार बनेका थिए । एक दिन भैरवबहादुर थापाले उत्तमको खोपीमका आएर गाली सिन फिल्माउनु थियो । भैरवबहादुर थापाले राम्रो नबोलिदिँदा कैयौं पटक रिटेक गर्नुप¥यो । सुटिङ गर्दा स्टार्ट साउन्ड भनेपछि क्यामेरा र ध्वनियन्त्र चालु हुन्थ्यो । ठीक भए ओके र ठीक नभए रिटेक गरिन्थ्यो । सुटिङ हुनुभन्दा अगाडि ‘क्ल्याप’ गर्नुपथ्र्यो । अर्थात् सिलोट जस्तो बोर्डमा सिन नम्बर र टेक नम्बर अर्थात खिचेको सङ्ख्या अङ्कित गरिन्थ्यो । त्यो किन गरिन्थ्यो भने एडिटरले एडिटिङ टेबलमा फिल्म जोडेर सटअनुसार दृश्यावली शृङ्खलाबद्ध गर्नुपथ्र्यो । मलाई त्यो ‘क्ल्याप कार्य’ फिल्म सुटिङको महत्वपूर्ण कडी लाग्यो । नभए त एडिटरले कसरी फिल्मलाई अन्तिम रुप दिन सक्ने ?
फिल्म एडिटर को थिए ?
एडिटर पनि बम्बईका हरीश पठारे नामक मराठी टेक्निसियन थिए । त्यसैले एडिटिङ गर्दा मलाई पनि उनीसँगै बस्नुपथ्र्यो ।
फिल्मको प्राविधिक टिम कस्तो थियो ?
‘आमा’मा मेकअप म्यान बङ्गाली थिए । फिल्मका संगीत निर्देशक कोलकताका भी बलसारा थिए । उनको ‘बोल राधा बोल’ गीत अहिले पनि म युट्युबमा हेर्ने गर्छु । ‘आमा’को टिममा काम गर्नेहरु बहुभाषी थिए ।
निर्देशक र कलाकारबीच कस्तो सम्बन्ध थियो ?
सम्पूर्ण सुटिङ हुन्जेल सबै कलाकारलाई एउटै गेस्ट हाउसमा राखिएको थियो । पूर्ण शाकाहारी गुजराती गेस्ट हाउसमा हामी बस्थ्यौं । न माछा, न मासु, न अन्डा, न रक्सी । यसप्रकार पूर्ण अनुशिष्ट थियौं हामी । एक दिन स्टुडियो बन्द हुँदा म भुवन थापा, वसुन्धरा भुसाल आदि कलाकारहरुलाई लिएर सिनेमा हेर्न गएँ । हीरासिंहले थाहा पाएर भोलिपल्ट मलाई झपारे । ‘कामका लागि आएको कि मोज गर्न’ भनेर सोधे । म निरुतर बसिरहें । फिल्म बनाइरहिएको छ । तर फुर्सदमा फिल्म खेर्दा झपारी मागिएको छ । त्यो त्यस्तै कडा अनुशासनको समय थियो ।
अरु केही अविस्मरणीय पल सम्झिनुहुन्छ ?
हाम्रो इन्डोर सुटिङ भइरहेको स्टुडियोमा बङ्गाली र उडिया फिल्मको सुटिङ पनि भइरहेको थियो । ती फिल्मका कलाकारले एक से एक राम्रा रङ्गीचङ्गी कस्ट्युम लगाएका थिए । हाम्रा कलाकार भुवन थापा, विमला श्रेष्ठ भने सधैं दुई जोर लुगामा मात्र देखिन्थे । ग्रामीण परिवेश देखाउनु थियो, हामीलाई । अनि एक दिन हीरासिंहले हामीलाई उडिया फिल्मको सुटिङ देखाउन लगे । त्यहाँ फिल्म प्रोड्युसर अर्थात सिनेमाको समस्त खर्च बेर्होन मानिस चौकीमा लामो सिरानीमा अडेस लगाएर पान खाइरहेथे । एउटा सटमा हिरोले १०÷१२ पटक रिटेक गर्नुप¥यो । अनि प्रोड्युसरले उठेर आफ्नो हिरोलाई ‘गधा कहीँका’ भन्यो । त्यो देखेर आमी सबैको चित्त बुझ्यो । ती कलाकारका जस्ता राम्रो लुगा नभए पनि त्यस्तो गाली खान हाम्रो टिमले परेको थिएन ।
पूरै शाकाहारी, सात्विक भोजनमा रहनुभयो, टिक्नुभयो ?
सुटिङका दौरान हामी पूरापूर शाकाहारी गुजराती गेस्ट हाउसमा बस्थ्यौं । मलाई भने तलतल लागिहाल्ने । बेलुका म कहिलेकाहीँ हरिप्रसाद रिमाललाई लिएर नजिकको होटलमा गएर एकदुई घुटको रक्सी खाएर आउँथे । म अरु कसैलाई लग्दिनथे ।
सिनेमाको गीत–सङ्गीतबारे कुनै यादगार पल छ ?
‘आमा’ फिल्मको सम्झना हुँदा मलाई अर्को घटना खुब याद आउँछ । राजा महेन्द्र नेपालगञ्ज सवारी हुदाँ त्यहाँ प्रेमप्रकाश मल्ल नामक गायकले राजाको स्वागतमा गीत गाएका रहेछन् । उनको मीठो स्वरले प्रभावित भएर राजाले ‘प्रेमप्रकाशलाई सिनेमामा नि उपयोग गर्नु’ भनेर हुकुम भएपछि उनी पनि कोलकता आएका थिए । तर दुर्भाग्य, ज्वरो आएर बिरामी परेपछि उनले आफ्नो प्रतिभा देखाउनै पाएनन् । सात दिनपछि घर फर्के बिचरा !
गीतकै कुरा गर्दा कोलकोतामा मैले नारायण गोपाललाई ‘तपाईंको स्वर त मोहम्मद रफीको जस्तो गजबको छ’ भने । उहाँ रिसाउनुभयो र भन्नु भयो, ‘मेरो स्वर कसैको जस्तो छैन, नारायणगोपालको जस्तो छ ।’
‘आमा’ कति पैसामा बन्यो, स्रोत कसरी जुट्यो ?
आमा पूरा सरकारको लगानीमा बन्यो । सरकारको कति पैसा खर्च भयो, ठ्याक्कै थाहा छैन मलाई ।
सिनेमाको पहिलो प्रर्दशन कहाँ भयो ?
पहिलो प्रदर्शन काठमाण्डौंमा ‘जय नेपाल’ हलमा भयो । राजा महेन्द्र र राजपरिवारसँग हाम्रो टिमले सँगै बसेर सिनेमा हे¥यौं । साँझपखको बेला थियो । हामी सबै रोमाञ्चित थियौं । मैले पहिले र अन्तिम पटक ‘आमा’ पूरा हेरेको जय नेपालमै हो । पछि धेरै पछि अमेरिका बस्ने मेरी नातिनीले युट्युबमा देखेर ‘आमा’ सिनेमा मेरो कम्प्युटरमा पठाइदिई । ६० वर्ष अघिको आफैंलाई पर्दामा देखेर छक्क लाग्यो, आश्चर्य पनि लाग्यो ।
सिनेमा कहाँ कहाँ चल्यो ? नेपालबाहिर पनि चल्यो ?
‘आमा’ काठमाण्डौं उपत्यकाबाहेक वीरगन्ज, विराटनगरमा पनि चल्यो । पछि भारतमा सिलिगुडी, दाजीर्लिङ र बनारसमा पनि प्रदर्शित भयो । बनारसमा सिनेमा तीन दिन हाउसफूल चल्यो भन्ने सुनेको हुँ ।
सिनेमाले कति पैसा कमायो ? तपाईंहरुले के कति पारिश्रमिक पाउनुभयो ?
सिनेमाले कति पैसा कमायो त मलाई थाहा छैन । तर हामीले भने धेरै कमायौं । पहिलो त नाम कमायौं । अनि दाम पनि धेरैं कमायौं । हामी वास्तवमा सेलेब्रिटी भएर कोलकता सुटिङमा गएका थिएनौं । एउटा मजदुरको हैसियतमा दिनको सय रुपैयाँ आइसी भत्ता पाउन गएका थियौं । भत्ताको हाम्रो सबै पैसा बच्दथ्यो । किनभने हाम्रो खाने–बस्ने सबै खर्च हीरासिंहजीकै जिम्मा थियो । एक महिना बस्दा आइसी तीन हजार पाउनु धेरै ठूलो कुरा थियो, हामीले । हीरासिंहले र अरु टेक्निसियनले दैनिक कति पाए, मलाई थाहा भएन । पछि समदर्शी राजा महेन्द्रबाट ‘आमा’मा काम गर्ने सबैलाई बराबर दुई–दुई हजार नगद पुरस्कार दिनु भन्ने हुकुम भयो र पायौं पनि ।
‘आमा’को प्रतिक्रिया र समीक्षा पनि आयो, थाहा पाउनुभयो ?
समीक्ष छापिए जस्तो लाग्दैन । राजाले पनि हेरेपछि ‘गोरखापत्र’मा समाचार आयो । वसुन्धरा धेरै पपुलर भइन् । ‘ए रातै, मन परेन’ भन्ने उनको डायलग हिट भयो । ठिटाहरुले वसुन्धरालाई देख्नेबित्तिकै ‘ए रातै’ भन्न थाले ।
‘आमा’का तीन भूमिकामध्ये केमा बढी सन्तोष लाग्यो ?
लेख्नमा सबैभन्दा मज्जा । पहिलो सन्तुष्टि लेखन । दोस्रो सहायक निर्देशन । तेस्रो अभिनय । अभिनय पाँच मिनेटको मात्र थियो । तर यही गाह्रो थियो ।
‘आमा’पछि धेरै सिनेमामा किन काम गर्नुभएन ?
‘हिजो आज भोलि’मा पनि काम गरें । राजा महेन्द्रको निधन भएपछि नियुक्ति पाएका हामी सबैको पजनी भयो । नारायण बाँस्कोटा आफ्नो गाउँ बर्दिया गए । मेरो बुबा एक वर्षसम्म थला पर्नुभएको थियो, बनारसमा । अनि मैले राजीनामा गरे ।र बनारसमै तीन ठाउँमा काम गरेर आफ्नो जीविका चलाएँ ।
तपाईं नेपालमा बनेको ऐतिहासिक फिल्ममा जोडिनुभयो, कस्तो लाग्छ ?
त्यति बेला केही लागेको थिएन । ऐतिहासिक हो भन्ने पनि लागेको थिएन । सेलेब्रिटी भन्ने त छँदै थिएन । अहिले चाँहि गर्व लाग्छ । जगदम्बाश्री सम्मान तथा पछि सिनेमाकै लागि युवराज दीपेन्द्रबाट सम्मान पाउँदा खुसी लाग्यो । ‘ए यस्तो पनि गरिएका रैछ’ भन्ने भयो ।
तपाईंले पहिलोपल्ट सिनेमा कहाँ कुन हेर्नुभएको थियो ?
म १०\११ वर्षको हुँदा पहिलो पटक आमासँग हिन्दी सिनेमा ‘रामायण’ हेरेको थिएँ , बनारसमा । त्यसको एउटा गीत भारत की एक सन्नारी की कथा सुनाले है भन्ने लवकुशले राम दरबारको गाना अझै मेरो कानमा गुन्जिन्छ । म त्यो सुनेर रोएको थिएँ भन्नुभएको थियो आमाले । मैले पहिलो सिनेमा आमासित हेरें र पछि ‘आमा’ नै सिनेमामा जोडिन पाएँ ।
त्यो पुरानो वाराणसी, यो नयाँ बनारस अब कस्तो लाग्छ ?
वाराणसीको पुरानो रुप अब छैन । अब त आधुनिक सहर बनाउने चक्करमा बनारसको मौलिकता खत्तम छ । म काठमाण्डौंको मौलिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक शान्त र व्यवस्थित स्वरुप पनि सकिँदै गएको पाइरहेको छु । अशान्ति, प्रदूषण, भीडभाड, फोहोर नदीनाला, यत्रतत्र फोहोर, ट्राफिक जाम, अग्लाअग्ला महल, कङ्क्रिटको भूमि, शुद्ध हावापानीको अभाव नै सहर हो भन्ने धेरैलाई परेको छ । यो गलत हो ।
नेपाल चलचित्र निर्माता संघको सिनेमा विशेषाङ्कबाट साभार