नेपालमा निर्माण भएको फिल्म तिनीहरू (एलिफन्ट्स इन द फग)ले कान्स फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुनुअघि नै पहिलो अन्तर्राष्ट्रिय वितरण सम्झौता हासिल गरेको छ । फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ खण्डमा प्रदर्शन हुँदैछ ।
फिल्मको अन्तर्राष्ट्रिय बिक्री अधिकार बेस्ट फ्रेन्ड फोरएभरलेल प्राप्त गरेको हो । यससँगै निर्माण पक्षले बुधबार १ मिनेट ४४ सेकेन्ड लामो ट्रेलर पनि युट्युबमार्फत सार्वजनिक गरेको छ।
फ्रान्समा फिल्मको सह(वितरण अधिकार बेस्ट फ्रेन्ड फोरएभरले लिएका छन् । त्यस्तै, जर्मनी र अस्ट्रियामा प्रदर्शनका लागि वितरण अधिकार मिसिङ फिल्म्सलाई दिइएको छ भने ब्राजिलमा इमोभिजनले फिल्म प्रदर्शन गर्नेछ । नेपालमा भने वितरणको जिम्मेवारी द टी फोक्स फिल्म्सले सम्हाल्ने भएको छ।
फिल्मको निर्देशन अविनाश बिक्रम शाह ले गरेका हुन्। यसअघि उनको छोटो फिल्म लोरी ले सन् २०२२ को कान्स फिल्म फेस्टिभलअन्तर्गत सर्ट फिल्म प्रतिस्पर्धामा विशेष उल्लेख प्राप्त गरेको थियो।
निर्देशक शाहले मीन बहादुर भाम निर्देशित शाम्बाला को पटकथा सहलेखनसमेत गरेका थिए। उक्त फिल्म सन् २०२४ को बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो।
फिल्मको कथा नेपालको घना जंगलले घेरिएको एक गाउँमा आधारित छ, जहाँ जंगली हात्तीहरूको बासस्थान रहेको छ। कथामा ‘पिरती’ नामकी किन्नर समुदायकी एक महिलाको जीवनलाई केन्द्रमा राखिएको छ। उनी आफ्नो प्रेमीसँग सामान्य जीवन बिताउने सपना देख्छिन्। तर छोरी हराएपछि उनको जीवनमा नयाँ मोड आउँछ र प्रेम तथा समुदायप्रतिको जिम्मेवारीबीच कठिन निर्णय लिनुपर्ने अवस्था सिर्जना हुन्छ।
फिल्मको निर्माण अन्डरग्राउन्ड टाकिज नेपाल, ले वाल्सेउर्स र डाइ गेसेलशाफ्ट डीजीएसले गरेका हुन्। सह(निर्माताका रूपमा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूको पनि सहभागिता रहेको छ ।
वितरण कम्पनी बेस्ट फ्रेन्ड फोरएभरले यस वर्ष कान्स फिल्म फेस्टिभलमा अन्य अन्तर्राष्ट्रिय फिल्महरू समेत प्रतिनिधित्व गरिरहेको जनाएको छ ।