--सुनिल पाण्डे
सिनेमाको प्रारम्भिक इतिहासमा फर्किदा हामी विज्ञान–प्रविधिको प्रतिस्पर्धात्मक समयमा फर्कनुपर्ने हुन्छ । यो लेख त्यही प्राविधिक प्रतिस्पर्धा हुँदै सिनेमाको विकासक्रममा राष्ट्रिय तथा महादेशीय प्रतिस्पर्धाको कथामा केन्द्रित हुनेछ ।
पृष्ठभूमि
चलयमान चित्र वा चलचित्रको सुरुवात मोटामोटी विश्वको पहिलो मोसन क्यामेरा काइनेटोग्राफबाट सुरु भएको मान्न सकिन्छ । सन् १८९० मा वैज्ञानिकद्वय विलियम केनेडी डिक्सन एवम् थोमस अल्वा
एडिसनले संयुक्त रुपमा काइनेटोग्राफ आविष्कार गरेका थिए । लगत्तै १८९१ देखि १८९४ को बीचमा वैज्ञानिकद्वयले काइनेटोग्राफमा कैद चलायमान चित्र (चलचित्र) प्रदर्शनका निमित्त काइनेटोस्कोप नामक आयातकार आकारको ४ फिट अग्लो काठको प्रोजेक्टरको आविष्कार गरे । सन् १८९४ अप्रिल १४ का दिन न्युयोर्क सहरमा काइनेटोस्कोप पार्लर खोलियो, जहाँ १० ओटा काइनेटोस्कोप प्रदर्शनमा राखिएको थियो । एक पटकमा एक जनाले मात्र हेर्न मिल्नु नै यस यन्त्रको सबैभन्दा कमजोर पक्ष बन्न पुग्यो ।
यही सीमितताको फाइदा उठाउँदै फ्रनसका वैज्ञानिक दाजुभाइ लुमियर ब्रदर्स (लुइस लुमियर र अगस्ट लुमियर) ले काइनेटोस्कोपबाट प्रभावित भएर सिनेमाटोग्राफ क्यामेरा बनाए । सिनेमाटोग्राफले चलचित्र कैद गर्न र प्रोजेक्ट गर्न सक्षम भयो र यो काइनेटोस्कोपभन्दा निकै अब्बल र दुरगामी साबित भयो ।
नतिजा, सन् १८९५ डिसेम्बर २८ को दिन फ्रन्सको ‘ग्रान्ड क्याफे’मा विश्वमै पहिलो पटक पर्दामा फिल्म प्रदर्शन भयो । फिल्म देखाउन त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित दर्शकसँग टिकट शुल्क काटियो । आज हामी त्यही ऐतिहासिक प्रदर्शनलाई विश्वको पहिलो मान्यता प्राप्त फिल्म प्रदर्शनका रुपमा पढ्छौं । प्रदर्शनीमा एक मिनेटभन्दा छोटा १० ओटा चलचित्र देखाइएको थियो ।
दर्शकले पहिलो पटक चलायमान वस्तु पर्दामा देख्दा त्यसलाई कुनै अद्भुत जादुभन्दा कम ठानेनन् । र यसरी लुमियर ब्रदर्सको जादु फ्रान्समा मात्र सीमित भएन । बेल्जियम, साउथ अफ्रिका, स्पेन, रुस, भारत, ब्राजिललगायत विश्वका धेरैजसो देशमा चलचित्रको आगमन लुमियर ब्रदर्सकै चलचित्रबाट भयो ।
१९औं शताब्दीको अन्तिम समयतिर फ्रन्सको ‘ग्रन्ड क्याफे’बाट सुरु भएको सिनेमाको त्यो जादुको असर आजसम्म आइपुग्दा झनै गाढा भइरहेको भान हुन्छ ।
सिनेमामा कथावाचनको प्रवेश
सिनेमाको जादुमा कथावाचन नभएको भए यसको जादुको असर आजको जस्तो गाढा कदापि हुने थिएन । यसको श्रेय फ्रान्सकै अर्का व्यक्ति, जर्ज मेलिएलाई जान्छ । लुमियर्सको फिल्ममा घटनाको डकुमेन्ट मात्र गरिएको थियो । लुमियर ब्रदर्सलाई पछ्याएका मेलियले फिल्ममा कथावाचनको सुरुवात पनि गरे । ‘ट्रप टु द मुन’ कथावाचनको प्रयोग भएको एउटा सुरुवाती फिल्ममध्ये एक हो, जसमा एक टोली एस्ट्रोनोमरहरु पृथ्वीबाट रकेट चढी चन्द्रमा पुग्छन् र त्यहाँ रहेका चन्द्र मानवहरुबाट आफ्नो ज्यान बचाई पृथ्वीमा फर्कन सफल हुन्छन् । ‘द फोर ट्रबलसम हेड्स’, द इम्पोसिबल भोयाज’, द म्यान विथ द रबर हेड’ जस्ता थुप्रै चर्चित चलचित्र बनाएका मेलिएल एक मिनेटभन्दा लामो बन्न सफल भयो । मेलिएको चलचित्रसँगै र त्यसपछि फ्रन्सबाहिर बेलायत, जर्मनी, रुस, इटाली, अमेरिकालगायत केही देहमा चलचित्र बन्ने क्रम सुरु भइसकेको थियो ।
युरोपयिन सिनेमाको दबदबा
प्रथम प्रदर्शनको एतिहास रचेको युरोप तत्कालीन समयमा चलचित्रमा अन्य देशभन्दा अगाडि हुनु स्वाभाविक थियो । युरोपियन देशहरुले १९१० को दशकमा अमेरिकालगायत संसारका धेरै जसो देशमा चलचित्रको वर्चस्व जमाए । अमेरिकामा चलचित्र बजार निकै ठूलो भए तापनि आन्तरिक चलचित्र उद्योगमा मात्र सीमित हुन पुग्यो ।
तर भविष्यमा विश्वबजारमा पकड मजबुत बनाउन जानी नजानी अमेरिकाले आफ्नो आन्तरिक बजारमा एउटा नौलो प्रयोग ल्यायो । त्यो प्रयोगको उद्देश्य चलचित्रलाई धनी वर्गमा मात्र सीमित नराखी ब्लु कलर वर्कर (श्रमिक वर्ग) सम्म पहुँच पु¥याउने । २५ सेन्टसम्म पर्ने चलचित्रलाई सिनेमा हल प्रदर्शनमा सीमित नराखी अमेरिकाका सहरदेखि गाँउका कुनाकाप्चमा रेहका कमेडी हल सर्कस हल, नाटक घर आदिमा मात्र पाँच सेन्ट अथवा एक निक्कलमा प्रदर्शन गराउन थालियो ।
श्रमिक एवम् आप्रवासीहरुको बाक्लो उपस्थितिले अमेरिकी फिल्म निर्माता एवम् वितरकले मनग्गे आम्दानी गर्न थाले । यही समयलाई ‘निक्लोडियन बुम’ भनेर चिनिन्छ । अथाह पैसा भएर पनि अमेरिकी चलचित्रले युरोपको चलचित्रले जमाएको विश्व जगत्को वर्चस्व भने कसैगरी पनि तोड्न सकेन । र यो आफ्नै आन्तरिक उद्योगमा मात्र सीमित रह्यो । केही समयपछि सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु हुन्छ र अमेरिकी चलचित्रको कायापलट पनि ।
प्रथम विश्वयुद्ध र अमेरिकी सिनेमाको वर्चस्वको सुरुवात
प्रथम विश्वयुद्धमा अन्तराष्ट्रिय जगत्मा वर्चस्व जमाएका फ्रान्स, जर्मनी, ब्रिटेन, रुस जस्ता मुख्यतया युरोपियन मुलुकहरु युद्धमा मोमिए । युरोप प्रथम विश्वयुद्धको कुरुपक्षेत्र बनेपछि चलचित्र स्टुडियो, हलहरु, आर्मी ब्यारेक, गोलीगट्ठाको गोदामका रुपमा परिणत भए । प्रायः यी देशमा चलचित्र निर्माण ठप्प भयो । केही केही चलचित्रकर्मी युद्धमा होमिए त केही अमेरिका जस्ता देशमा पलायन भए । यसै क्रममा अन्तर्राष्ट्रिय बजारमा चलचित्रको माग भने उति नै रहिरह्यो । यही समयमा अमेरिकाले संसारभर आफ्ना चलचित्र निर्यातको बाढी ल्याउन थाल्यो । र पहिले विश्वयुद्धको समयसम्म आफ्नो पकड निकै ठोस बनायो ।
पहिले विश्वयुद्धपछि जब युरोपियन देशहरु अन्तर्राष्ट्रिय चलचित्र जगत्मा आफ्नो वर्चस्व फिर्ता लिन फर्किए, अमेरिकी चलचत्रिको दबदबा धेरै अगाडि बढिसकेको थियो । स्टार सिस्टम, प्राविधिक उन्नति र हलिउडको पुँजीका सामु युरोपियन सिनेमाले घुँडा टेक्न बाध्य भयो ।
पहिलो विश्वयुद्धसम्म अमेरिकामा स्टार सिस्टमको सुरुवात भइसकेको थियो । दर्शकहरु चलचित्र कम्पनी, निर्देशकको नामभन्दा पनि अभिनेताका नामले फिल्म टिकट काट्न थालिसकेका थिए । यी पक्षलाई राम्रैसँग बुझेको अमेरिकाले स्टार सिस्टमलाई अझै बढी सशक्त बनाउनतिर लाग्यो । विश्वयुद्धमा युरोपको चलचित्र उद्योग प्राविधिक रुपमा पनि अमेरिकाभन्दा धेरै पछि परिसकेको थियो । विश्वयुद्धपछि युरोपभित्रकै देशहरुबिच बढेको चिसोपनले उनीहरुले एकअर्काको सिनेमालाई प्रतिबन्ध लगाउन थाले । अन्ततः यसको फाइदा अमेरिकाले उठाउने नै भयो ।
युरोपियन र अमेरिकी चलचित्रको रोचक प्रतिस्पर्धा
१९२० को मध्यतिर युरोपबाट एउटा ठूलो लहर आयो, जसले फेरि अमेरिकी सिनेमाको विश्व वर्चस्वलाई टक्कर दियो । त्यो थियो मुख्यतया तीन देशबाट आएका नवीन धारका सिनेमाहरु । जस्तै, फ्रन्सको फे्रन्च इम्पे्रसनिज्म, जर्मनीको एक्सप्रेसनिज्म र सोभियत युनियनको मोन्टाज । ती देशका सिनेमाले पुनः विश्वबजारमा डङ्का बजाउन सुरु गरे । फे्रन्च इम्पे्रसनिज्मको नयाँ भिजुअल स्टोरी टेलिङ, जर्मन इम्प्रेसनिज्मको एग्जाजेरेटेड सेट डिजाइन एवम् हरर चलचित्र र त्यसको एकसप्रेसिभ क्वालिटी, सोभियत मोन्टाजमा सब्जेक्टिभ एन्ड प्रोपागान्डिस्टिक फिल्महरु दर्शकको रुचिको विषय बन्न पुग्यो । यतिसम्म भयो कि, इङ्ग्लायान्ड र फ्रान्समा प्रतिबन्धित जर्मन सिनेमा ‘क्याबिनेट अफ डा. क्यालिगेरी’को सफलतापछि फ्रान्स र इङ्ल्यानडमा समेत सो फिल्म प्रदर्शन गरियो । यो समयमा हलिउडको वर्चस्व त छँदै थियो । तर सँगै युरोपियन सिनेमा पनि विश्वबजारमा फेरी आफ्नो गति बढाउन थाल्यो । यही समयमा हलिउडमा बिग फाइभ र लिटल थ्री गरी आठ ओटा ठूला र मझौला फिल्म स्टुडियोका चलचित्र उद्योगमा मजबुत पकड बन्न पुग्यो । र विश्व फिल्म बजारमा पनि आफ्नो पकड निकै कसिलो बनाउँदै गयो ।
हलिउडमा ध्वनिको आगमन
विश्वबजारमा युरोप भर्सेस अमेरिकाको पक्डापक्डी चलिरहँदा सन् १९२७ मा एउटा फिल्म प्रदर्शनमा आयो, जसले अमेरिकी सिनेमाको पकड पुनः मजबुद बनायो । आजसम्म पनि विश्वबजारको सिरानमा टिकिराख्न मद्दत पु¥यायो । त्यो चलचित्र थियो, ‘द जाज सिङ्गर’ । पहिलो पटक संवाद प्रयोग भएको यस चलचित्रले साउन्ड फिल्मलाई विश्वबजारमा स्थापित गराउन निर्णायम भूमिका खेल्यो ।
वार्नर ब्रोजद्वारा निर्मित यस चलचित्रमा ध्वनिको प्रसङ्ग निकै रोचक छ । यस चलचित्रमा पहिले पनि ‘डोन जुआन’ (म्यल व्गबल) नामक चलचित्रमा ध्वनि प्रयोग नभएको होइन । तर त्यो ध्वनि केवल संगीत एवम् फोलीका रुपमा मात्र प्रयोग भएको थियो । ‘द जाज सिङ्गर’मा ध्वनिको प्रयोगको उद्देश्य यही थियो । एउटा ज्याज गायकको कथा भएकाले गीत साउन्ड मुख्यतः फिल्ममा देखाउने योजना फिल्म निर्माण कम्पनीको थियो । तर ज्याज गायकको भूमिका निर्वाह गर्ने कलाकार एएल जोल्सनले गीत गाउँदा–गाउँदै बीचमै आफ्नी आमाको भूमिका निर्वाह गर्ने कलाकारसँग संवाद साटासाट गर्छन । यही संवादको दृश्य पहिलो पटक पर्दामा देख्दा दर्शकको उत्साहजनक प्रतिक्रिया आयो ।
त्यसले पहिलो पटक संवाद पनि फिल्म न्यारेटिभको बलियो खम्बा हुँदो रहेछ भन्ने भाव दर्शकमाझ प¥यो । चलचित्र संवाद कति सशक्त अङ्ग हुन्छ भन्ने अनुभुत गरेपछि बिस्तारै अधिकांश चलचित्रकर्मी साइलेन्ट सिनेमालाई विस्थापित गर्दै साउन्ड फिल्मलाई स्थापित गर्न अग्रसर भए । यही समय हो, जहाँ १९३० को दशकमा विश्वका प्रायः देशमा नेसनल सिनेमा मात्र नभएर रिजनल सिनेमा पनि बन्न थाले । दर्शकले संवादको महत्वलाई मनन गर्दै आफ्नै मातृभाषामा चलचित्र बन्न थाले । यसले रिजनल सिनेमालाई अगाडि आउन मद्दत गरे पनि विश्वबजारको दबदबामा भने अमेपिरकी सिनेमाको पकड नै भारी रह्यो । कारण थियो, अङ्ग्रेजी भाषा । यो दशकसम्म प्रायः दर्शकहरु केही हदसम्म अङ्ग्रेजी बुझ््ने भइसकेका थिए । अमेरीकी चलचित्रलाई यसको प्रत्यक्ष फाइदा हुन पुग्यो, फलस्वरुप अमेरीकी चलचित्र झनै धेरै मात्रामा बाहिर प्रदर्शन हुन थाल्यो ।
दोस्रो विशवयुद्ध र नवलहरको सुरुवात
१९३० को दशकको अन्त्यसँगै विश्व फेरी दोस्रो विश्वयुद्धमा होमियो । युरोप फेरी एक पटक कुरुक्षेत्र बन्न पुग्यो । १९३९–१९४५ बीचको समयमा विश्वबजारको सिनेमाको अधिकांश माग अमेरिकाले पूरा गर्न सक्ने स्थिति बन्यो । विश्वयुद्धको अन्त्यसँगै केही नवलहरहरु भने पक्कै आए, जसको आजसम्म पनि चर्चा भरपूर हुन्छ र त्यो लहर मुख्यतः इटालियन निओरियालिज्म र फे्रन्च न्यु वेभ थिए ।
इटली र फ्रान्स विश्वयुद्धका कारण क्षतिग्रस्त भइसकेपछि चलचित्र क्षेत्र लगभग पूरै बर्बाद भएको अवस्था थियो । यही समयमा निकै कम लागत, सस्ता, साना प्राविधिक सामग्री, युद्ध खिच्न बनाइएका ह्यान्डहेल्ड क्यामेराको प्रयोग गरी आफ्ना साथीभाईको सहयोग लिई रियल लोकेसनमा खिच्दै बाइसाइकल थिभ्स, ब्रेथलेस, ४०० ब्लोज जस्ता कालजयी सिनेमा बने, जुन आजसम्म पनि दर्शकको मानसपटलमा जस्वित छन् । १९४० को दशकमा अमेरिकामा सिटिजन केन, क्यासाब्लान्का, द माल्टिज फाल्कन, इट्स अ वन्डरफुल लाइफलगायत सिनेमाले विश्वबजारमा तहल्का पिटे । संस्थागत स्टुडियो, विश्वबजारको पकड, स्टार सिस्टम, सोफिस्टिकेटेड न्यारेटिभले गर्दा अमेरिकी सिनेमा विश्वबजारको बादशाह बन्न पुग्यो ।
हलिउड र युरोपियन प्रोपोगान्डा चलचित्र
चलचित्र कला र मनोरञ्जनको माध्यम भएतापनि विश्वयुद्धताका प्रोपोगानडाबाट वञ्चित हुन सकेन । यसको मुख्य कारण थियो, अमेरिकी सरकार एवम् युरोपियन देशका सरकारहरुले चलचित्रलाई माध्यम बनाई जनतासामु आफ्ना एकपक्षीय कुराहरु राख्नु । जर्मनले नाजी भावना देशभर फैलाउने सिनेमाको प्रयोग गरे भने उता सोभियत युनियन जस्ता मुलुकले पूर्वराजसंस्थालाई नीच देखाई कम्युनिस्ट शासन मात्र राम्रो हो भन्ने भावना जनतामाझ फैलाउन क्रान्तिकारी चलचित्रहरु देशभर प्रदर्शन गरे । यसैगरी हलिउड सिनेमा पनि प्रोपोगान्डाका रुपमा खुब प्रयोग हुन थाले ।
विश्वयुद्धताका र त्यसपछिको समयमा अमेरिकाले युद्धको महतवलाई उजागर गरेर सिनेमा निर्माण ग¥यो । उनीहरुले मुख्य विषयवस्तु र मनोरञ्जनको स्रोतका रुपमा युद्धका नायक र युद्ध चित्रणलाई प्रमुख रुपमा चित्रण गरे । यसले राष्ट्रिय भावना जजगाउँदै सिनेमामार्फत प्रचलित सामाजिक–राजनीतिक विचारधारको पक्षपोषण गरिरह्यो । यस क्रममा अमेरिकी सिनेमा राष्ट्रिय भावनालाई आकार दिने र आमजनताको मनोबल बढाउने एउटा शक्तिशाली औजार बनयो ।
अमेरिकी फिल्म निर्माताहरुले युद्ध प्रयासलाई समर्थन गर्न प्रचार फिल्महरु सिर्जना गरे । यी चलचित्रले देशभक्तिलाई बढावा दिन र शत्रुलाई नकारात्मक रुपमा चित्रण गर्ने उद्देश्य राखेका थिए । प्रथम विश्वयुद्धका दौरान, जर्मन फिल्म उद्योगले सिनेमाका माधयमबाट नाजी प्रचारलाई बढावा दिन प्रमुख भूमिका खेलेको थियो । यसले उनीहरुको चरमपन्थी विश्वासका लागि व्यापक समर्थन बढाउन महत्वपूर्ण योगदान पु¥यायो । तिनीहरुले एडोल्फ हिटलरलाई एक आदर्श व्यक्तित्वका रुपमा प्रस्तुत गर्दै सकारात्मक प्रकाशमा चित्रण गर्न सिनेमालाई माध्यमका रुपमा प्रयोग गरे ।
सोभियत संघको पक्षमा उनीहरुले सिनेमाका माध्यमबाट आफ्नो कम्युनिस्ट प्रणाली र सामाजिक मूल्यमान्यतालाई जोड दिए । फिल्महरुले कम्युनिस्ट नायक र उनीहरुको विचारधाराको विकासलाई चित्रण गरेका छन् ।
सबै अवस्थामा, द्वन्द्वको समयमा सार्वजनिक धारणालाई आकार दिन र आआफ्नो विचारधारको समर्थन जुटाउन सिनेमा एक शक्तिशाली उपकरण थियो ।
हलिउडको वर्तमान परिप्रेक्ष्य
वर्तमान हलिउडको वर्चस्व मुख्यतः १९६० को दशकको न्यू हलिउड एराको आगमन, १९७० र १०८०को दशकको ब्लकबस्टर्स सिनेमाको उदय, हलिउडको ग्लोबल रिच, अमेरिकी संस्कृतिको विश्वव्यापी प्रभाव नै कारकतत्व हुन् ।
१०६० को दशकमा हलिउडमा न्यू हलिउडको उदयले महत्वपूर्ण परिवर्तन ल्यायो । यस अवधिमा परम्परागत स्टुडियो प्रणालीबाट प्रस्थान र युवा, नवीन फिल्म निर्माताहरुको आगमन देखियो । बोनी एन्ड क्लाइड, द ग्य्राजुउट र इजी राइडर जस्ता चलचित्रले परमपरालाई चुनौती दिए र रचनात्मकताको नयाँ युगमा प्रवेश गरे ।
सन् १९७० को दशकमा ‘जाज‘ र ‘स्टार वार्स‘ जस्ता ब्लकबस्टर फिल्मको उदय भयो । यी उच्च बजेट, व्यापक रुपमा अपील गर्ने चलचित्रहरु हलिउडको परिभाषित विशेष ताबने र यसको विश्वव्यापी प्रमुखतामा योगदान दिए ।
हलिउड स्टुडियोहरुले अन्तराष्ट्रिय बजारहरुमा ध्यान केन्द्रित गर्न थाले, जसले गर्दा उनीहरुका फिल्मको विश्वव्यापीकरण भयो । यसमा डबिङ, उपशीर्षक र विभिन्न क्षेत्रअनुरुप मार्केटिङ रणनीतिहरु समावेश छन् ।
संसारभरका मानिसमा अमेरिका देख्ने सपना भेटिन्छ । हलिउड फिल्महरुले प्रायः विश्वव्यापी सांस्कृतिक प्रवृत्तिहरु प्रतिबिम्बित र आकार दिन्छन् । चलचित्रहरुमा अमेरिकी जविनशैली, मुल्यमान्यता र कथाहरुको चित्रणले हलिउड सिनेमासंग चलिरहेको विश्वव्यापी आकर्षणमा योगदान पु¥याएको छ ।
सार
हुन त युरोपियन सिनेमा, बलिउड वा अरु सिनेमा आजका दिनमा पनि उत्तिकै सशक्त र सुन्दर छन् । तर पनि पुँजीगत हिसाबले हेर्ने ुहो भने हलिउड विश्व सिने बजारको सिकारभन्दा फरक पर्दैन । वार्षिक विश्वकै महँगो मल्टी बिलियन डलरको बजार बनाउन अमेरिकी सिने जगत्को दौड निकै लामो एवम् रोमाञ्चक छ । हुन त हलिउडलाई फर्मुला सिनेमा बनाएर बेचिएको आरोप कहिलेकाँही लागि नै रहन्छ । तर पनि यो तथ्यलाई हामीले अस्वीकार गर्न सक्दैनौं कि, आजको दिनमा हलिउड सिनेमाले विश्व सिने जगत्मा बनाएको दबदबा फर्मुला सिनेमाको उपज पनि हो । प्राविधिक दृृष्टिकोणले हेर्ने हो भने पनि अमेरिकी सिनेमा जस्तो मजबुदआज विशवमै कुनै उद्योग छैन भन्नेमा दुई मत नहोला । आज संसारका धेरैजसो देशमा हलिउड सिनेमा प्रदर्शन नभएको सायदै होला ।
यसरी मुख्यतः दुई ओटा विश्वयुद्ध, प्राविधिक दृष्टिकोणले सबैभन्दा उत्कृष्ट, स्टार सिस्टम एवम् ठूला स्टुुडियोको विश्वबजारमा रहेको पकडले गर्दा विश्वबजारमा अमेरिकी चलचित्र उद्योगको वर्चस्व आजसम्म पनि कायमै छ ।
नेपाल चलचित्र निर्माता संघको सिनेमा विशेषाङ्कबाट साभार