नेपाली फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमले गीत सार्वजनिक गर्दै दर्शकमाझ ल्याएको हो ।
थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा डा. भोला रिजालको शब्द तथा थानेश्वर गौतमकै संगीत रहेको छ । गीतले परम्परागत नेपाली विवाह संस्कृतिलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ ।
करिब तीन दशकअघिको ग्रामीण परिवेशमा आधारित गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन पन्तलाई दुलाहा–दुलहीको भूमिकामा देखाइएको छ। माइतीघर छाडेर ससुराली जान लागेकी छोरीको मनोभाव, परिवारप्रतिको माया तथा आमाबुबासँगको भावनात्मक सम्बन्धलाई गीतले मार्मिक रूपमा अभिव्यक्त गरेको छ ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, अरुण क्षेत्री, सिम्रन पन्त, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, अंशु ओली, प्रिन्स नेपाली र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका निर्माता डा. कपिल रिजाल र सुमन गिरी ९भान्जा० हुन् भने सरला रिजाल कार्यकारी निर्माताको भूमिकामा छिन् । फिल्मको कथा डा. भोला रिजालले लेखेका हुन् । हरि हुमागाईंको छायांकन रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा कपिल रिजाल, निश्चल कुँवर, शिव शर्मा, अभिमन्यु निरवी, निरज नेपाल र गिरिराज घिमिरेको योगदान रहेको छ । यस चलचित्र साउन १ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।