निर्देशक कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ आगामी असार १५ गतेदेखि छायांकनमा जाने भएको छ । निर्माण पक्षले छायांकनको मिति तय गर्दै बिहीबार चलचित्रका कलाकारहरूको फेस टेस्ट सम्पन्न गरेको हो ।
बालाजुस्थित ल्याबमा आयोजित फेस टेस्टमा कलाकारहरूको पात्रअनुसारको लुक्स परीक्षण गरिएको थियो । चलचित्रको अधिकांश पूर्वतयारी सम्पन्न भइसकेकाले निर्धारित मितिबाट छायांकन सुरु गर्न लागिएको निर्देशक कृषा चौलागाईँले जानकारी दिइन् । उनका अनुसार चलचित्रको छायांकन काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा गरिनेछ ।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा अभिनेता निखिल उप्रेती, रमेश उप्रेती, अभिनेत्री निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ तथा पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन् । अन्य कलाकारको छनोट प्रक्रिया भने अझै जारी रहेको निर्माण टिमले जनाएको छ ।
चलचित्रको कथा–पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन् । छायांकन निर्देशन (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा रहनेछन् ।
यसअघि चलचित्रको पहिलो गीत रेकर्ड भइसकेको छ। उक्त गीतमा ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँको स्वर रहेको छ भने शब्द तथा संगीत कोशिश क्षेत्रीले सिर्जना गरेका छन् ।
चलचित्रको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहनेछन् । द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन् भने भीएफएक्सको जिम्मेवारी सत्यम राणा र समीर मियाँले सम्हाल्नेछन् । सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा आबद्ध छन् भने कुलदीप शर्मा मुख्य सहायक निर्देशक रहनेछन् ।
त्यसैगरी, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन् । चलचित्रको कलरिस्ट रेनिस फागो रहनेछन् भने पब्लिसिटी तथा पोस्टर डिजाइनको जिम्मेवारी राकेश दाहाललाई दिइएको छ । पृष्ठभूमि संगीत ९बीजीएम० कालाचरणले तयार गर्नेछन् भने गीताको गुरायाले मिक्सिङको काम सम्हाल्नेछिन् ।