काठमाडौंमा सम्पन्न ‘मिसेस ग्लोबल नेपाल २०२६’को नवौं संस्करणमा सभ्या महर्जनले मुख्य उपाधि जित्दै ताज आफ्नो नाममा गरेकी छन् । उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने ‘एनएफइए २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरस्वरूप इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन् ।
हिमालयन मुभिजद्वारा आयोजित विवाहित महिलाहरूको राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको फाइनल स्पर्धा बिहीबार राजधानीमा सम्पन्न भएको थियो । प्रतियोगितामा रन्जिता क्षेत्री फस्ट रनरअप तथा अन्जु भट्टराई सेकेन्ड रनरअप घोषित भए ।
प्रतियोगितामा विभिन्न क्षेत्रबाट सहभागी भएका एक दर्जनभन्दा बढी विवाहित महिलाले प्रतिस्पर्धा गरेका थिए। सहभागीहरूलाई करिब तीन सातासम्म व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, उद्घोषण कला, स्टेज प्रस्तुति, क्याटवाक, फोटोसुट तथा भिडियोसुटलगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिएको थियो । उक्त प्रशिक्षण वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रमको सुरुवात प्रतियोगीहरूको आकर्षक सामूहिक नृत्यबाट भएको थियो । परिचयात्मक चरण, बेस्ट ड्रेस राउण्ड, टप–९ तथा टप–६ हुँदै प्रतियोगिता अन्तिम क्राउनिङ चरणमा पुगेर सम्पन्न भएको थियो ।
मुख्य उपाधि विजेता सभ्या महर्जनले ‘बेस्ट ट्यालेन्ट’ र ‘बेस्ट ड्रेस’ अवार्ड समेत जितिन् । अन्य विधागत अवार्डतर्फ रोशी धिताल ‘बेस्ट फोटोजेनिक’, रन्जिता क्षेत्री ‘मोस्ट स्मार्ट’, अन्जु भट्टराई ‘मोस्ट डाइनामिक’ तथा बिमला महर्जन ‘मोस्ट चार्मिङ’ र ‘मोस्ट पपुलर’ घोषित भए ।
त्यस्तै सरला थापा ‘मोस्ट कन्फिडेन्ट’, ललिता राई ‘बेस्ट कम्प्लेक्सन’, बिमला श्रेष्ठ ‘बेस्ट पर्सनालिटी’, गीता खतिवडा ‘बेस्ट मल्टिमिडिया’ र ‘मोस्ट डिलिजेन्ट’, निर्मला नगरकोटी ‘मोस्ट प्यासोनेट’ तथा बिना महर्जन ‘मोस्ट एट्र्याक्टिभ’ अवार्डबाट सम्मानित भए। मिनाकुमारी मगरले ‘मोस्ट डेडिकेटेड’ र ‘बेस्ट पब्लिक च्वाइस’ जित्दा अन्जुदेवी भट्टराईले ‘पब्लिक च्वाइस भिडियो अवार्ड’ प्राप्त गरिन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा फेसन डिजाइनर सुक्निता चौलागाईं, अभिनेता तथा मोडल सन्तोष बानियाँ, अभिनेता सिद्धार्थ सिंह, अभिनेत्री तथा इभेन्ट अर्गनाइजर मेनुका माझी र ब्युटिसियन नेपाल २०२६ की सानु थापा मगरलगायत रहेका थिए ।
विवाहित महिलाहरूको प्रतिभा, क्षमता र आत्मविश्वासलाई उजागर गर्दै उनीहरूलाई समाजमा छुट्टै पहिचान स्थापित गराउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।