शिव श्रेष्ठ फाउन्डेशनको आयोजना, चलचित्र विकास बोर्डको सहकार्य तथा लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्षअघि निर्माण भएको नेपाली चलचित्र ‘जीवनरेखा’को नारायणघाटस्थित जलमा हलमा विशेष प्रदर्शन गरिएको छ । कार्यक्रममा डिजिटल सिनेमा नेपाल (डीसीएन) ले पनि सहयोग गरेको थियो ।
नेपाली चलचित्रका ऐतिहासिक र महत्वपूर्ण कृतिहरूलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यसहित चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान अघि बढाउने तयारी गरेको जनाएको छ । सो अभियानको प्रारम्भिक परीक्षणस्वरूप शिव श्रेष्ठ फाउन्डेशनसँगको सहकार्यमा ‘जीवनरेखा’ प्रदर्शन गरिएको हो ।
बोर्डका अनुसार अब ३० वर्षभन्दा पुराना नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिनेछन् । यसअघि नै बोर्डले १० वटा ऐतिहासिक सेलुलोइड चलचित्र डिजिटाइज गरिसकेको छ भने साहित्यिक कृतिमा आधारित तथा अभिलेखीय महत्व बोकेका थप १० चलचित्र डिजिटाइज गर्ने तयारी भइरहेको छ ।
चलचित्र विकास बोर्डले पुराना चलचित्रलाई केवल अभिलेखमै सीमित नराखी दर्शकमाझ पुनः प्रस्तुत गर्ने उद्देश्य राखेको जनाएको छ । पुरानो पुस्ताले सम्झनामा राखेका चलचित्रलाई नयाँ पुस्ताले पनि परिवारसँग बसेर हेर्न पाउने वातावरण सिर्जना गर्ने अभियानको मुख्य लक्ष्य रहेको बताइएको छ ।
‘जीवनरेखा’ चलचित्रमा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुषाल, गोपालराज मैनाली तथा हरिवंश आचार्यलगायत कलाकारहरूको अभिनय रहेको छ ।
विशेष प्रदर्शन कार्यक्रममा कलाकार नीर शाह, बोर्ड अध्यक्ष दिनेश डिसी, निर्देशक प्रकाश सायमी, कलाकार आकाश अधिकारी, नायक शिव श्रेष्ठ, पूर्व बोर्ड सदस्य तथा चलचित्रकर्मी रवी अधिकारी, हल सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ, चलचित्रकर्मी चक्रबहादुर चन्द, प्रसाद श्रेष्ठ, कलाकार दीपक अधिकारीलगायत दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।