गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को स्मृतिमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ यस वर्ष गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टालाई प्रदान गरिएको छ ।
शनिबार आयोजित ‘४४औँ छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले विभिन्न विधाका स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । समारोहमा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ गायक मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिएको छ । उक्त सम्मानसँग रु १ लाख नगद राशिसमेत रहेको छ ।
यसैगरी, गीत रचनातर्फ गीतकार डा. नवराज लम्साल, सङ्गीत सिर्जनातर्फ सङ्गीतकार किरण कँडेल तथा गायनतर्फ गायिका विमला राईलाई जनही रु १ लाख राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरिएको छ । युवा प्रतिभाका रूपमा गायिका सारिका घिमिरे सम्मानित भएकी छन् । उनले ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ अन्तर्गत रु ५० हजार नगद प्राप्त गरिन् ।
कार्यक्रममा गुठीका सचिव तथा साहित्यकार दिनेश अधिकारीले नेपाली गीत–सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने गीतकार, सङ्गीतकार तथा गायक–गायिकालाई २०३९ सालदेखि गुठीले निरन्तर सम्मान गर्दै आएको जानकारी दिए ।
गुठीका अनुसार हालसम्म ४० जना गीतकार, ३९ जना सङ्गीतकार, ४१ जना गायक–गायिका तथा ४१ जना युवा प्रतिभालाई ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरिसकिएको छ । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औँ जन्मजयन्तीको अवसर पारेर यस वर्षका पुरस्कार समर्पण गरिएको हो ।
समारोहमा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंहले कविता वाचन गरेका थिए भने पुरस्कृत गायिका विमला राई र सारिका घिमिरेले सांगीतिक प्रस्तुति दिएका थिए । यसअघि नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, कोइलीदेवी माथेमा, गोपाल योञ्जन, दीप श्रेष्ठ, भक्तराज आचार्य, कृष्णहरि बराल, दिनेश अधिकारी र वसन्त चौधरीलगायतका स्रष्टा यस पुरस्कारबाट सम्मानित भइसकेका छन् ।