महानायक राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहा: अवतार’ शुक्रवारबाट देशभर प्रदर्शनमा आएको छ । आठ वर्षपछि पर्दामा फर्किएका हमालले एक्सन प्रधान भूमिकामा अवतार लिएका छन् । चलचित्रको देशव्यापी शो सङ्ख्या करिब १४० रहेको छ ।
चलचित्रमा उनले अन्याय र अत्याचारको विरुद्ध लड्ने पात्र ‘नरसिंहा’को भूमिका निभाएका छन् । हमाल आफ्नै पुरानो स्टाइलमा प्रस्तुत भएका छन्, जसमा ‘हे!’ बाट सुरु हुने संवाद दर्शकलाई झनै उत्साहित बनाएको छ ।
‘नरसिंहा: अवतार’मा नायिका नीति शाहले हमालकी पत्नीको भूमिका निभाएकी छन् भने नव अभिनेता राज कटुवाललाई पनि एक्सन अवतारमा देख्न सकिन्छ । चलचित्रलाई दिवाकर भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा सरोज खनाल, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जङ्ग बस्नेत, दीपा शाही, अमित गिरी र एभेलिना खड्का लगायतका कलाकारको पनि अभिनय छ । निर्माण पक्षमा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने रहेका छन् ।