अस्कर कलेजले अब आफ्ना प्रतिभाशाली विद्यार्थीहरूलाई चलचित्र निर्माणमा सहयोग गर्ने भएको छ। दुई दशकदेखि सिनेमा अध्यापन गर्दै आएको यस कलेजले दीक्षित विद्यार्थीहरू र कलेजको सहकार्यमा बन्न लागेको पहिलो चलचित्रको शीर्षक ‘काठमाण्डु कोरिडोर’ सार्वजनिक गरेको छ ।
मङ्गलवार कलेज परिसरमा आयोजित कार्यक्रममा मिराज मोसन पिक्चर्सको प्रस्तुति तथा अस्कर कलेज र जुन्को पिक्चर्सको सहकार्यमा बन्ने यस चलचित्रको घोषणा गरिएको हो, जसको निर्देशन सुरज कटुवालले गर्नेछन् । कटुवाल अस्कर कलेजकै विद्यार्थी हुन् र उनले यसअघि ‘ऊनको स्वीटर’ लगायतका चर्चित चलचित्र तथा लघु चलचित्रहरूमा काम गरिसकेका छन् ।
सिनेमेटोग्राफर तथा निर्माता उज्ज्वल बस्ताकोटीका अनुसार चलचित्रको छायाङ्कन जेठको दोस्रो हप्ताबाट सुरु हुनेछ । बस्ताकोटीले कान्समा अवार्ड जितेको लघु चलचित्र ‘लोरी’ तथा ‘चिसो एस्ट्रे’ जस्ता चलचित्रहरूमा सिनेमेटोग्राफरको भूमिका निर्वाह गरिसकेका छन् ।
कलेजका प्राध्यापक रामराजा दाहालले सिनेमा पढेका विद्यार्थीहरूलाई फिल्म निर्माणमा आउने चुनौतीहरूलाई समाधान गर्न कलेजले यो कदम चालेको बताए । उनले कलेजले फिल्म निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोत-साधन उपलब्ध गराउने जानकारी दिए ।
यस चलचित्रमा शान्तिदूत पाण्डे, अञ्जसा रिजाल, गुड्डु, योगेन्द्र राना, इन्दु लम्साल, नुसा लिम्बु, दीपक केसी, सुदन पोखरेल, निरु खड्का, सुवर्ण थापा, सुचित्रा उप्रेती, शाश्वत पाण्डे लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
शर्मिला आलेको सह लेखनमा बन्ने यस चलचित्रमा कृष्ण भण्डारीले सम्पादन, सुदाम सिकेले कास्टिङ निर्देशन, जेम्स ढकालले सहायक कास्टिङ निर्देशन, मञ्जुश्री नेपालीले कला निर्देशन, आकृति ढुङ्गानाले प्रोडक्सन डिजाइन र मदन श्रेष्ठले निर्माण व्यवस्थापनको भूमिका निर्वाह गर्नेछन् ।