अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औं संस्करण बुधबारदेखि सुरु हुँदैछ । १८ जेठसम्म ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा महोत्सव हुनेछ । ‘फ्राक्चड भोइसेज, रिक्लेम न्यारेटिभ्स’ नारासहित ३० देशका ६५ भन्दा धेरै फिल्म प्रदर्शन हुनेछन् ।
अन्तर्राष्ट्रियरुपमा प्रशंसा बटुलेका सफल फिल्मलाई यसपटकको संस्करणमा देखाइने जनाइएको छ । नेपाली फिल्ममेकरले बनाएका समकालिन कथा दर्शाउने फिल्म पनि देखाइनेछ । ‘यसपालिको चलचित्र र कार्यक्रममार्फत नेपाली दर्शकलाई मनोरञ्जन गराउनको साथसाथै नेपाली समाजलाई असर पार्ने विषयमा संवाद सुरु होस् भन्ने हाम्रो उद्देश्य छ’ किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बुले बताइन् ।
उनी अध्यक्ष भएपछि पहिलोपटक फेस्टिभल आयोजना हुन लागेको हो । ‘एसियामै पहिलोपटक प्रदर्शन हुन लागेको बिट्विन द माउन्टेन एण्ड द स्काइ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरु हुनेछ । जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यस डकुमेन्ट्री फिल्मले सिएनएन हिरोको उपाधि जितेकी समाजसेवी म्यागी डोएनको व्यत्तिगत जीवनलाई नजिकबाट देखाँउछ ।
नेपाल–चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजाङ्ग प्यानोरमामा चलचित्रहरू प्रदर्शन गर्दै छ जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबीचको समानता झल्काउनेछ । यसपालिको संस्करणमा निर्णायक मण्डलका रूपमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) छन् ।
निर्णायकमण्डले अन्तर्राष्ट्रिय श्रेणीमा रहेका उत्कृष्ट आख्यान (४ छनोट), उत्कृष्ट वृत्तचित्र (१४ छनोट), उत्कृष्ट छोटो आख्यान (११ छनोट) र उत्कृष्ट छोटो वृत्तचित्र (१३ छनोट) रोज्ने छन् । त्यस्तै नेपाली चलचित्रमध्ये उत्कृष्ट वृत्तचित्र (६ छनोट) र उत्कृष्ट आख्यान (११ छनोट) चयन गर्ने जिम्मेवारी पनि निर्णायक मण्डलले लिनेछन् ।
अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १००० अमेरिकी डलर, उत्कृष्ट आख्यानको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानको लागि १००० अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १००० अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय चलचित्रलाई १००० अमेरिकी डलर पुरस्कृत गरिनेछ ।
नेपाली चलचित्रमध्ये उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट आख्यान दुवैले एक लाख रुपैयाँ जित्नेछन् । दर्शकले सबैभन्दा रुचाएको चलचित्रलाई पनि एक लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । यसै संस्करणमा किम्फले पहिलो पल्ट ‘काठमाडौं डक ल्याब’ कार्यशाला पनि सुरु गर्ने भएको छ ।
दक्षिण एसियाली क्षेत्रका प्रतिभालाई ठाँउ दिन बनाइएको यो कार्यशाला १०–१४ जेठमा सञ्चालन हुनेछ । यही कार्यशालमा छनोट भएका नौ दक्षिण एसियाली सहभागीलाई पाकिस्तानी र क्यानाडाली चलचित्रकर्मी अनम अब्बास, भूटानी निर्देशक अरुण भट्टराई र भारतीय चलचित्रकर्मी रिन्तु थोमसद्वारा प्रशिक्षण दिइनेछ ।
कथाहरू र ब्रिटिस काउन्सिलद्वारा संयुक्त आयोजना गरिएको कट.कथा कार्यशालाबाट पनि महिला निर्देशकले आफ्नो छोटो वृत्तचित्रको बारेमा प्रस्तुत गर्नेछन् । त्यस्तै निकोन युवा फोटोग्राफी र फिल्ममेकिङ कार्यशाला पनि हुनेछ । यससँगै भिआर र तस्वीर प्रदर्शनी पनि ठमेलस्थित कला सलोनमा हुनेछ ।
यो महोत्सव गैरनाफामूलक संस्था किम्फ फाउण्डेसनद्वारा आयोजना गरिएको हो । किम्फ इटालीको टुरिन शहरमा मुख्यालय रहेको इन्टरन्यासनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो । टिकटको मूल्य रु. १५० तोकिएको छ भने विद्यार्थीहरूको लागि रु. १०० रहनेछ ।