निर्माण तयारीमा रहेको नेपाली फिल्म ‘जहाजैमा’ एक विदेशी अभिनेत्रीले अभिनय गर्ने पक्का भएको छ । जापानमा रहेर त्यहाँका फिल्म र सिरिजमा अभिनय गर्दै आइरहेकी फिलिपिनो अभिनेत्री रजेल इचिमियालाई देख्न पाइने भएको हो ।
निर्देशक कृषा चौलागाईंले हालैको जापान भ्रमणमा अभिनेत्री इचिमियासँग सम्झौता गरेकी थिइन् । अहिले यो फिल्मको प्रि-प्रोडक्सन भैरहेको छ । राष्ट्रियताले फिलिपिन्सको नागरिक रहेकी रचेल जापानमा रहेर त्यहाँ फिल्म र सिरिजमा सक्रिय छिन् । उनले मित्सुहितो शिराहाद्वारा निर्देशित ‘बी माई गेस्ट, बी माई बेबी (सन् २०२३) बाट आफ्नो फिल्म करिअर थालेकी थिइन् ।
यो फिल्ममा उनले जापानमा जटिल सामाजिक मुद्दाहरूमा चित्रण गर्ने एक फिलिपिनो एयरहोस्टेस मिकाको भूमिका निर्वाह गरेकी छन् । सन् २०२३ को अर्को फिल्म ‘एनजेल डे मेसाज मामा, सान ?’मा अभिनय गरेकी छन् । सन् २०२५ मा उनको टिभी सिरिज ‘टोक्यो सलाद बउल’ प्रसारण भैरहेको छ । उनी मोडलिङ पृष्ठभूमि हुँदै अभिनयमा प्रवेश गरेकी हुन् ।
‘जहाजैमा’मा बारे के भन्छन् निर्देशक ?
सार्वजनिक पोस्टरमा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोष्टर हेर्दा यो फिल्मले नेपाल र जापानबीचको भावनात्मक सम्बन्धलाई सशक्त बनाउने अपेक्ष ागर्न सकिन्छ ।
निर्देशक चौलागाइले यसपटक विदेशी अभिनेत्रीलाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भएपनि रोचक हुने बताइन् । यो फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् ।
फिल्मले नेपाल-जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने गुरागाईंको भनाइ छ । अन्य कलाकारबारे खुलाइएको छैन । शीर्ष अभिनेता तय हुन बाँकी रहेको निर्देशक चौलागाईंले जानकारी दिइन् ।
यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने तयारी छ ।