शैलेन्द्र बज्राचार्यको लेखन,तथा निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ । "Empty Bottles, Blank Papers" उपशीर्षक सहित सार्वजनिक भएको यो चलचित्रले, वर्तमान युवा पीढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ ।
चलचित्रमा वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंह, अफ्शान पन्थी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ भने रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतले अभिनयमा साथ दिएका छन् ।
प्रवेश गर्दै गरेको अनुहारहरूको उत्कृष्ट अभिनय, जीवन्त निर्देशन र सशक्त संवादले चलचित्रलाई दर्शकहरूका लागि प्रभावशाली बनाएको छ। यो चलचित्रले दर्शकलाई आत्म विश्लेषण गर्न बाध्य पार्ने भावनात्मक सन्देश दिन खोजेको छ ।
प्राविधिक पक्षमा किरण श्रेष्ठ, सन्दीप श्रेष्ठ (सम्पादन), निराजन सेंधाइ (छायाङ्कन), बिपिन स्थापित (साउन्ड डिजाइन), राजेन्द्र मोक्तान (रङ्ग संयोजन) तथा रोमन बज्राचार्य (पाश्वर्य सङ्गीत)लगायतको भूमिका उल्लेखनीय रहेको छ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको प्रस्तुति 'खाली सिसी नयाँ कागज' शर्ट फिल्म कम्पिटिसनमा पर्न सफल भएको लघु चलचित्र हो, सो फिल्म म्युजिक नेपाल इन्टरटेन्मेन्ट च्यानलबाट हेर्न सकिन्छ ।