अभिनेता केदार घिमिरे (माग्ने बुढा) पछिल्लो समय आफ्नो पारिश्रमिकका कारण थप चर्चामा छन् । उनले 'कंगारू' पछि साइन गरेका फिल्मबाट ५० लाख रूपैयाँभन्दा बढी पारिश्रमिक लिने सम्झौता गरेको चर्चा थियो । पछिल्लो समय उनको चर्चा 'माग्ने राजा' फिल्ममा लिएको पारिश्रमिकलाई लिएर भइरहेको छ ।
यसैबीच, यो फिल्ममा उनको पारिश्रमिक ६१ लाख रूपैयाँ रहेको निर्माताले बताएका छन् । केही दिनअघि 'माग्ने राजा' को पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनाल घिमिरेले माग्ने बुढाको पारिश्रमिकबारे खुलाएका हुन् । 'हामीले केदार घिमिरेलाई ५१ लाख रूपैयाँ दिएको हो। १० लाख रूपैयाँ दिन बाँकी छ। पूरा ६१ लाखको प्रतिबद्धता गरेको छु,' निर्माता घिमिरेले भने ।
पारिश्रमिकको कुरा आउँदा कार्यक्रममा माग्ने बुढालाई करका बारेमा पनि प्रश्न सोधिएको थियो । यसमा उनले भने, 'इमानदारीताका साथ कर तिर्छु। कर नतिरी राज्यले मलाई यसो गरेन, उसो गरेन भन्न मिल्दैन। देशका लागि कर तिर्ने हो, तिर्नुपर्छ ।'
कार्यक्रममा अभिनेत्री वर्षा शिवाकोटीको पारिश्रमिकबारे समेत प्रश्न सोधियो। निर्माताले उनको पारिश्रमिकबारे भने खुलाउन चाहेनन् । उनले भने, 'माग्ने बुढाको पारिश्रमिकबारे बजारमा चर्चा आएर बतायौं । वर्षाजीको सन्दर्भमा उहाँले जति पैसा भन्नुभएको हो। त्यति दिएको हो। पैसा खुलाउन मिल्दैन ।'
'माग्ने राजा' को कुरा गर्दा यो फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। ८ वर्षपछि निर्देशनमा फर्किएका उनले इमानदारीताका साथ राम्रो फिल्म बनाउने कोशिस गरेको बताए । केदार, वर्षा र विल्सनबिक्रम राईलगायत कलाकारहरू अभिनीत 'माग्ने राजा' को सार्वजनिक पोस्टरले यतिबेला चर्चा पाइरहेको छ । यो फिल्म भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।