चर्चित अभिनेता पल शाहले चलचित्र निर्माणमा पाइला चालेका छन् । उनको ब्यानर पल शाह फिल्म्सको पहिलो प्रस्तुति ‘यानी माया’को शीर्षक डिजाइन बिहीबार बिहान सार्वजनिक भएको छ । निर्माता शाहले नै आफ्नो सामाजिक सञ्जालमार्फत यो डिजाइन सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको शीर्षक डिजाइनले चलचित्रको नाम ‘यानी माया’लाई देवनागरी लिपिमा निकै सुन्दर तरिकाले प्रस्तुत गरेको छ । शीर्षकको तलपट्टि अङ्ग्रेजीमा ‘Songs of My Grandmother’ लेखिएको छ, जसले चलचित्रको केन्द्रीय विषयवस्तु र भावनात्मक गहिराइबारे सङ्केत गर्छ । यो चलचित्र दार्शनिक मेटामोडर्न सिनेमा तथा दार्शनिक पारिवारिक ड्रामा हुने बताइएको छ, जसले अन्तरपुस्ता द्वन्द्वको कथालाई पर्दामा उतार्नेछ ।
शीर्षक डिजाइन गाढा रातो (मरुन) र पहेँलो रङको मिश्रणमा तयार पारिएको छ । यसको पृष्ठभूमिमा रहेका ज्यामितीय आकृतिहरूले ‘हाइपर मोर्डन’ पुस्तालाई जनाउँछन् । निर्देशक विकास सुवेदीका अनुसार पोस्टरमा रहेका फूलहरूले प्रकृतिवादको प्रतिनिधित्व गर्छन् भने, गाढा रातो (मरुन) रङले पुरानो पुस्ता र पहेँलो रङले नयाँ पुस्ता जनाउँछ । माथिल्लो भागमा रहेको गोलाकार घेरामा दुई रङहरूले मेटामोडर्न सिनेमा जनाउँछ, जसले आधुनिक र परम्परागत मूल्यमान्यताहरूको फ्युजनलाई चलचित्रमा देखाउने बुझ्न सकिन्छ ।
चलचित्र अर्को महिनाबाट छायाङ्कनमा जानेछ । यसको छायाङ्कन बागलुङको ढोरपाटन क्षेत्र र हङकङमा हुनेछ । चलचित्रमा को-को कलाकारहरू रहनेछन् भन्नेबारे विस्तृत जानकारी सार्वजनिक हुन बाँकी छ । चलचित्रका निर्देशक सुवेदीले यसअघि ‘प्रकाश,’ ‘पुजार सार्की,’ र ‘महाभोज’ जस्ता चलचित्रहरूको लेखन गरिसकेका छन् । निर्माणमा पल शाहसँगै चन्द्र ज्योति आले पनि निर्माताका रूपमा रहेका छन् । निर्देशक सुवेदीका अनुसार, ‘यानी माया’ द्वन्द्वहरूलाई एकसाथ ल्याउने प्रयास हो, जसमा गति र स्थिरता, सहरी जीवन र प्राकृतिक भूमि, तथ्याङ्क र परम्पराबीचको तनावलाई देखाइनेछ ।
सुवेदी मेटामोडर्न संवेदनशीलताबाट प्रेरित छन् र यो चलचित्रले विश्वास र शङ्का, परम्परा र आधुनिकताबीचको दोलन देखाउनेछ । पल शाहको अभिनयबाट निर्माणमा फड्को मार्नु र सुवेदी लेखनबाट निर्देशनमा समेत जानु नेपाली चलचित्र उद्योगका लागि एउटा नयाँ र सकारात्मक कदम हो ।