गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ । गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ ।
गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन् । शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ। छायांकन दिपक गिरीले गरेका छन् ।
गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाले सम्हालेका छन् भने पोस्टर डिजाइन SD HOUSEले गरेको हो । भिडियोमा अमीर के.सी सहायक निर्देशकको भूमिकामा रहेका छन् ।
गीतको लय, दृश्य र सन्देशको संयोजनले ‘ढाँट्यो मायाले’ दर्शकको मन छुने भिडियो बन्ने विश्वास गरिएको छ । फेसबुक, युट्युब, स्पोटिफाइ, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा गीत सुन्न र हेर्न पाइनेछ ।