आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् । संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन् । ‘सिटामोल’ को यो मर्मस्पर्शी गीतबाट संगीतकार तथा गायक गिरीले नेपाली रजतपटमा विशेष भूमिकामा डेव्यु गरेका हुन् ।
फिल्मको यसअघि सार्वजनिक टीजरमा समावेश सानो अंश नै सामाजिक सञ्जाल फेसकुक तथा टिकटकमा हिट भएपछि निर्माण टिमले पूरा गीत सार्वजनिक गरेको हो । यो गीतले दर्शकमाझ फिल्मको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ । यसअघि सार्वजनिक फिल्मका गीत तथा टीजरले दर्शकमाझ राम्रो चर्चा बटुलेका छन् ।
निर्माता तथा निर्देशकले ‘सिटामोल’ मार्फत् बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापूर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन् । फिल्मले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने फिल्म निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ ।
राज बहादुर साने निर्देशित यो फिल्ममा सौगात तथा बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बाल कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्वज तथा निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।