अमेरिकाको सांगीतिक भ्रमणमा निस्कनुअघि लोकप्रिय ब्याण्ड ‘सविन राई एण्ड द फारोह’ले नयाँ गीत ‘मलाई थाहा छ’ सार्वजनिक गरेको छ । ब्याण्ड गठन भएयता यो दोस्रो गीत हो । यसअघि ब्याण्डबाट ‘धन्यवाद’ सार्वजनिक भैसकेको छ । नयाँ गीत ‘मलाई थाहा छ’ एक मर्मस्पर्शी र प्रेमप्रति समर्पित रक शैलीको गीत हो ।
तपाईं सविन राईको आवाजको प्रशंसक हुनुहुन्छ भने, नयाँ गीत तपाईंलाई उत्कृष्ट लाग्नसक्छ । ‘हामी ‘मलाई थाहा छ’ भन्ने नयाँ गीत लिएर फर्किएका छौं । टाइट ग्रुभ्स र सशक्त आवाजले भरिएको छ । यो एक शैली हो जसले हामीलाई नयाँ काम गराइतर्फ अघि बढाउँछ, वास्तविक ब्यान्डसँगै जीवन्त अनुभूति तुल्याउँछ’ ब्याण्डले भनेको छ ।
‘ हामी त्यस्तो चीज सिर्जना गर्न चाहन्थ्यौं जसले स्टेज तताओस्, हिट होस् र जोशिलो संगीत प्रेमीदेखि प्रेरणा खोज्ने युवा संगीतकासम्म, हरेक श्रोतासँग जोडियोस् । यदि तपाईंलाई जीवन्त महसुस गराउने रक मन पर्छ भने, यो तपाईंको लागि हो’ ब्याण्डले उल्लेख गरेको छ । ब्याण्डको मुख्य गायकमा अहिले सविनसहित ड्रम्समा विनोद लामा, बासमा जीवन लामा, गितारमा जोन श्रेष्ठ लगायत छन् ।
१५ अमेरिकी सहरमा प्रस्तुति दिने
ब्याण्डले २५ जुलाईदेखि २० सेप्टेम्बरसम्म अमेरिमा सांगीतिक टूर गर्न लागेको छ ।
२५ जुलाईमा कोलोराडोको डेनभरबाट टूर हुन हुनेछ । २६ जुलाइमा पेन्सिलभेनियाको पिटसबर्ग, १ अगस्टमा टेक्सासको ड्यालस, २ अगस्टमा नर्थ क्यारोलिनाको चार्लोट्टी, ८ अगस्टमा म्यासाचुसेट्सको बोस्टनमा ब्याण्डले प्रस्तुति दिनेछ ।
९ अगस्टमा ओहायाको सिनसिटआटी, १५ अगस्टमा टेक्सासको अस्टिन, १६ अगस्टमा इलिनियोसको सिकागो, २३ अगस्टमा पेन्सिलभेनियाको ह्यारिसबर्ग, ५ सेप्टेम्बरमा मिनिसोटाको मिनिआपोलिसमा ब्याण्डले प्रस्तुति दिनेछ ।
६ सेप्टेम्बरमा मेरिल्याण्डको सिल्भर स्प्रिङ, १२ सेप्टेम्बरमा जर्जियाको एटलान्टा, १४ सेप्टेम्बरमा न्यूयोर्क सिटी, १९ सेप्टेम्बरमा लस एन्जलस र २० सेप्टेम्बरमा सन फ्रान्सिस्कोमा प्रस्तुति दिने कार्यक्रम छ ।