नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय सिनेमाटोग्राफर, निर्माता तथा निर्देशक पुरुषोत्तम प्रधानले आफुले काम गरेका ६० भन्दा बढी चलचित्रका पटकथा (स्क्रिप्ट) चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफ्ना प्रमुख चलचित्रहरूको स्क्रिप्टहरू बोर्डलाई हस्तान्तरण गर्दै चलचित्र सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान दिएका हुन् ।
उक्त अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेश डीसीले प्रधानको योगदानको उच्च प्रशंसा गर्दै भने, “पटकथा चलचित्रको आत्मा हो। यस्ता स्क्रिप्टको संरक्षणले भविष्यका सर्जकहरूलाई प्रेरणा दिनेछ ।” उनले प्रधानको योगदानलाई “चलचित्रको समृद्ध इतिहास संरक्षणको दिशामा अमूल्य उपहार” भन्दै सम्मान व्यक्त गरे । हस्तान्तरण गरिएका चलचित्रहरूमा ‘छक्का पञ्जा’ शृङ्खला, ‘कबड्डी’ शृङ्खला, ‘लुट’ शृङ्खला, ‘नाई नभन्नु ल’ शृङ्खला, ‘लप्पन छप्पन’ शृङ्खला लगायतका व्यावसायिक र समीक्षात्मक रूपमा सफल चलचित्रहरू रहेका छन् ।
त्यसैगरी, ‘दासढुङ्गा’, ‘झोले’, ‘ड्रिम्स’, ‘राजा रानी’, ‘जय भोले’, ‘कृ’, ‘उमा’, ‘प्रेमगीत २’, ‘फिटकिरी’, ‘तान्द्रो’, ‘थ्रि लभर’, ‘कमला’, ‘सिग्नेचर’, ‘जय होस्’, ‘छ एकान छ’, ‘द विनर’, ‘मेरी मञ्जु’, ‘महाजात्रा’, ‘लक्का जवान’, ‘आई एम सरी’, ‘रातो टिका निधारमा’, ‘चपली हाइट ३’, ‘कान्छी’, ‘कार्साङ’ लगायत दर्जनौँ चलचित्रहरू रहेका छन् ।
उनले ‘सहकारी’, ‘जुनेली’ जस्ता लघु चलचित्रहरू तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त Queen’s Award Winning – In Cinematography को स्क्रिप्टसमेत हस्तान्तरण गरेका छन् । चलचित्र विकास बोर्डले प्रधानको योगदानलाई “नेपाली चलचित्र क्षेत्रको दीर्घकालीन हितका लागि उदाहरणीय कदम” भनी उल्लेख गरेको छ। साथै, सबै चलचित्रकर्मीलाई आफ्ना मौलिक स्क्रिप्ट, दस्तावेज तथा कलाकृतिहरू बोर्डमा उपलब्ध गराई संरक्षणमा साथ दिन आह्वान गरिएको छ ।
सिनेमाटोग्राफरको रूपमा प्रतिष्ठा कमाएका प्रधान पछिल्लो समय निर्माता, निर्देशक र प्रविधिक विज्ञका रूपमा पनि क्रियाशील छन् । उनले ‘विजिलान्ते’ (नेपालकै पहिलो थ्रिडी चलचित्र) जस्ता थुप्रै चलचित्रमा छायांकन गरिसकेका छन् ।