दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ फ्रान्सका ६२ हलमा एकसाथ रिलिज भएको छ । भेनिसमा वल्र्ड प्रिमियर भएको यो फिल्मको अंग्रेजी नाम ‘पूजा, सर’ हो । अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति धेरै हलमा नेपाली फिल्म रिलिज भएको यो पहिलोपटक हो । फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्मलाई त्यहाँ प्रदर्शन थालेको हो । वितरण कम्पनीकी मिशेल हाल्बस्र्टाडले यसबारे भनिन्, ‘‘पूजा, सर’ एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यमा सीधै लैजान्छ । यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ । हामी फ्रान्सका दर्शकलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुसी छौं ।’
यो फिल्मलाई फ्रान्सेली मिडियाले प्रशंसा पनि गरेका छन् । एल्ली म्यागजिनले ‘एक अद्भूत थ्रीलर रत्न’ भन्दै प्रशंसा गरेको छ । ‘ आफ्नो फिल्मलाई निर्यातयोग्य बनाउन पश्चिमीकरण नगरी, दीपक रौनियारले हामीलाई नेपालका विभिन्न समुदायबीचको समस्या र संघर्षमा डुबाउँछन्-हामीले नबुझ्ने डर बिना’ म्यागजिनले लेखेको छ । ‘ला पेरिसियन’ले फिल्मको समीक्षा गर्दै लेखेको छ, ‘हामी गोलो अनुहार भएकी एक सहानुभूतिपूर्ण प्रहरी अफिसरको पछाडि लाग्छौं, जसले व्यक्तिगत र राजनीतिक दुवै तहको अनुसन्धान सुल्झाउँछिन् । केही दृश्य अत्यन्तै सिनेम्याटिक छन्, जस्तै सडक प्रदर्शनको भीडमा फिरौती बुझाउने दृश्य ।’
‘ला जर्नल दु दिमान्चे’ले एक शक्तिशाली र उज्यालो कृति भन्दै यसको प्रशंसा गरेको छ । ‘ले पोइन्ट’ लेख्छ, ‘ फिल्म नोयरको शुद्ध परम्परामा, दीपक रौनियारले यो प्रहरी अनुसन्धानलाई बहाना बनाएर प्रणालीविरुद्ध विद्रोह गर्ने पात्रको कथा सुनाउँछन् ।’ यो फिल्म मे महिनामा स्विट्जरल्याण्डमा पनि रिलिज भैसकेको छ । ३ महिना बितिसक्दा पनि त्यहाँका ५ सहरमा फिल्म रिलिज भएको निर्देशक रौनियारले जानकारी दिए । फिल्मको अस्ट्रेलिया र न्युजिल्याण्ड वितरण अधिकार पनि विक्री भएको छ । यसैसाता मेलबर्नस्थित स्क्रिनएक्सकोपसँग वितरण सम्झौता भएको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फिल्मको ब्याकग्राउन्ड स्कोर स्पोटीफाई, अमेजन प्राइम, युट्युब लगायतका प्लाटफर्मबाट २४३ देशमा रिलिज गरेको जनाइएको छ । हङकङ र लण्डन कार्यालय भएको ‘प्लाजा मेयर कम्पनी’ले अर्काड सोनी म्युजिकको प्लाटफर्मबाट यो धुन रिलिज गरेको हो । ‘पूजा, सर’मा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, ऋचा शर्मा, गौमाया गुरूङलगायतका कलाकारको अभिनय छ । आदि फिल्म्स (दीपक र आशा), बाँसुरी फिल्म्स (रामबाबु गुरूङ) र नर्वेको ट्यानहाउजरको यसमा सहकार्य छ ।
वर्ल्ड प्रिमियर सन् २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको थियो । त्यसयता बुसान, सिड्नी, टालिन बाल्क नाईट्स, गोथेनबर्ग लगायतका महोत्सवमा प्रदर्शन भइसकेको छ । फिल्मले नेदरल्याण्डमा ‘फ्रि टु बी मी’ अवार्ड जितेको छ । प्रमुख अभिनेत्री आशा मगरातीलाई फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवले मुख्य प्रतिस्पर्धा खण्डको प्रमुख जुरीको रूपमा आमन्त्रण गरेको थियो । फिल्मलाई बेलायतको च्यानल फोरले खरिद गरिसकेको छ । नोभेम्बर २०२५ देखि फिल्म एयरलाइन्समा पनि रिलिज हुँदैछ, जसको वितरण अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले गर्दैछ ।