नेपालको चर्चित तथा लोकप्रिय ब्याण्ड मंगोलियन हार्टले न्यूजिल्यान्ड टूर गर्ने भएको छ । सन् २०२५ को विशेष टूर अन्तर्गत ब्याण्डले न्यूजिल्यान्डमा पहिलोपटक टूर गर्न लागेको हो । सन् १९९२ मा स्थापना भएको यस ब्याण्डले न्यूजिल्यान्डका तीन प्रमुख सहरहरू क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा आफ्ना दर्शक–श्रोतामाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएको हो ।
न्यूजिल्यान्डमा पहिलोपटक टुर गर्न पाउँदा ब्याण्ड उत्साहित छ। टुरलाई भव्य बनाउन भव्य तयारी गरिरहेको ब्याण्डका म्यानेजर तथा गितारिस्ट बोबी लामा बताउँछन् । उनले भने, 'हामी नयाँ र पुराना दुवै गीतहरू प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा छौं । दर्शकको मायाले नै आज हामीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म ल्याएको हो ।'
मंगोलियन हार्टको आठ सदस्यीय टोली यही जुलाई २९ मा काठमाडौंबाट न्यूजिल्यान्डका लागि प्रस्थान गर्नेछ । यस टूरको आयोजना स्थानीय इभेन्ट कम्पनी ‘सम्बन्ध इभेन्ट्सद्वारा गरेको हो । सांगीतिक यात्राका क्रममा ब्याण्डले आफ्ना सुपरहिट गीतहरूको प्रस्तुति दिनेछ भने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई सांस्कृतिक उत्सवको रूप दिने लक्ष्य लिइएको छ ।
नेपाली संगीतप्रेमीहरूका लागि यो टूर एक अविस्मरणीय अवसर बन्ने आयोजकको विश्वास छ । ब्याण्डको टोली आगामी अगस्ट १५ मा नेपाल फर्किनेछ र त्यसपछि अगस्ट २० मा मिजोरम, उत्तर–पूर्व भारतमा आफ्नो प्रस्तुति दिन जाँदैछ ।
गायक राजु लामा लिड भोकलिस्ट रहेको यो ब्यान्डमा बोबी लामा रिदम गिटार, भूपेन्द्र बज्राचार्य लिड गिटार, सन्तोष थापा ड्रम, विनय महर्जन बाँसुरी, बाबुराजा महर्जन परकसन (मादल), पवन कपाली बास गिटार र निरेन्द्र रञ्जित साउन्ड इन्जिनियर रहेका छन् । 'बाँदलपारिको देशबाट, मेरो नेपाल, सुम्निमा, म माया लाउँदिन, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा, उँभो उँभो खासा, सैलुङ्गे मेला' आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन् ।